एमालेको झण्डा जलाउने घटनामा: कडा कारबाहीको माग

एमालेको झण्डा जलाउने घटनामा: कडा कारबाहीको माग

काठमाडौं, ०८ फागुन। नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ। 

गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो।

एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका साथ नाराबाजी गर्दै महासचिव शंकर पोखरेलको गृह नगरमा अराजक शैली प्रदर्शन गरेको उल्लेख छ। एमालेले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ।

 विज्ञप्तिमा भनिएको छ, ‘लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ।’

एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको यो हर्कतले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ। दलिय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि रास्वपाले नयाँको नाममा एउटा स्थापित राष्ट्रिय शक्तिको आस्थामा चोट पुर्‍याउने काम गरेको एमालेको ठहर छ।

एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ। घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ । 

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस