मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३, सोमबारबिहान ११:५३
७ मंसिर २०८३ सोमबारबिहान ११:५३ Monday, November २३, २०२६

नसर्ने रोगबाट बच्न रोकथामका उपाय अपनाउन सरकारको आग्रह

शेयर००
Listen to this article
2 min listen · 204 words0:00 / 2:00
0:00
2:00

काठमाडौँ ,१८ कात्तिक। सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने उद्देश्यले सरकारले रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणमा जोड दिएको हो ।

यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको छ ।

बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ । साथै, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा नियमनमा प्रभावकारी कदम चाल्नुपर्नेमा बैठकले जोड दिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ ।

सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति नेपाल प्रतिबद्ध रहेको पनि सरकारले जनाएको छ ।

नसर्ने रोगबाट बच्न रोकथामका उपाय अपनाउन सरकारको आग्रह

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal