
रौतहट,०६ मंसिर। रौतहटको गढीमाई नगरपालिका–२ समनपुरस्थित नगरपालिकाको कार्यालयमा आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा सशस्त्र प्रहरीको तत्कालीन सक्रियताले ठूलो दुर्घटना टरेको छ।
कार्यालयको मिटरबक्स, इन्भर्टर र ब्याट्री जडान गरिएको स्थानमा लागेको आगो समयमै नियन्त्रणमा आउँदा कार्यालयमा हुन सक्ने ठूलो क्षति जोगिएको हो।
दिउँसो करिब १ बजे विद्युत् तार सर्ट भएर अचानक आगलागी भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस समनपुरबाट सई नरबहादुर राना मगरको कमान्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटका अनुसार टोलीले सुरक्षा बेसमा उपलब्ध अग्निनियन्त्रक प्रयोग गरी आगो निभाउने प्रयास गरेको थियो। करिब १० मिनेटको प्रयासपछि दिउँसो १ः१० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीबाट मिटरबक्समा सामान्य क्षति पुगेको छ भने अन्य ठूलो क्षति हुन पाएन। घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ।
नगरपालिका कार्यालयजस्तो सार्वजनिक सेवा प्रवाह हुने स्थानमा विद्युत् सर्ट भएर आगलागी हुनु सामान्य विषय होइन। मिटरबक्स, इन्भर्टर र ब्याट्री जडान गरिएको स्थानमा आगो लाग्दा विद्युत् प्रणालीसँगै कार्यालयका अन्य सामग्रीमा समेत क्षति पुग्ने जोखिम थियो। समयमै नियन्त्रणमा नआएको भए आगो फैलिन सक्ने सम्भावना रहेको घटनाले देखाएको छ।
सशस्त्र प्रहरीको तत्कालीन परिचालन र उपलब्ध अग्निनियन्त्रकको प्रयोगले सम्भावित ठूलो क्षति रोकिएको वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।
यस घटनाले सरकारी कार्यालय तथा सार्वजनिक भवनमा विद्युत् जडानको नियमित परीक्षण, सुरक्षित वायरिङ र आगलागी नियन्त्रणका उपकरणको व्यवस्था कति आवश्यक छ भन्ने पनि स्पष्ट पारेको छ।
