
सर्लाही,०६ मंसिर। सर्लाहीमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – २ संग्रामपुर चोकस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गर्न खोजेको आरोपमा भारतको सीतामढी जिल्लाका ३० वर्षीय अब्दुल समसद पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संग्रामपुर चोकस्थित एक किराना पसलमा रेडबुल खरिद गरी समसदले एक हजार रुपैयाँको नोट दिएका थिए। उक्त नोट नक्कली जस्तो देखिएपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरी टोलीले समसदलाई नियन्त्रणमा लिई सोधपुछ तथा शरीर खानतलासी गरेको थियो।
सो क्रममा उनको साथबाट एक हजार रुपैयाँ दरका ११ थान नक्कली नेपाली नोट र सक्कली नेपाली नगद ६ हजार ८३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका समसदललाई बरामद नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
