
काठमाडौं, ३१ असार। नेपाली कांग्रेसका लागि गत २१ फागुनको निर्वाचन सहज थिएन। पार्टी जीवनको एउटा अत्यन्तै कठिन र चुनौतीपूर्ण परिस्थितिमा कांग्रेस निर्वाचनमा होमिएको थियो।
निर्वाचन परिणाम हाम्रो अपेक्षाअनुरूप रहेन, बरु अप्रत्याशित रूपमा आयो। यसले केही समयका लागि आम कांग्रेसजनमा एक किसिमको निराशा र सन्नाटा छायो।
निर्वाचनमा जय वा पराजयको कुनै एउटै मात्र कारण हुँदैन। तर, ‘नेतृत्व केवल निर्णय गर्ने अधिकार मात्र होइन, परिणामको जिम्मेवारी लिने साहस र कर्तव्य पनि हो’ भन्ने उच्च जिम्मेवारीबोधका साथ परिणाम आउनासाथ मैले पदबाट राजीनामा दिएको थिएँ। यद्यपि, केन्द्रीय कार्यसमितिले ‘सभापतिको राजीनामा स्वेच्छिक विषय भएकोले यसलाई अस्वीकृत गर्ने’ सर्वसम्मत निर्णय गर्यो, जुन मेरो व्यक्तिगत अपेक्षाभन्दा फरक थियो।
जरा अभियान: सुन्ने र बुझ्ने प्रक्रिया
निर्वाचनपश्चात् मलाई बारम्बार एउटै प्रश्नले घोचिरह्यो- त्यस्तो परिणाम किन आयो ? यो प्रश्नको वास्तविक उत्तर खोज्न, हाम्रा सदस्य र मतदाताको भावना बुझ्न हामीले ‘जरा अभियान’ सञ्चालन गर्यौं। नयाँ संकल्पका साथ पार्टीका साथीहरू र नागरिकको बीचमा गयौं।
प्रारम्भमा हामीले सातै प्रदेशमा विशेष समीक्षा कार्यक्रम राख्यौं। औपचारिक कार्यक्रमहरूमा आफ्ना कुरा सुनाउनेभन्दा पनि उम्मेदवार र पार्टीका साथीहरूका कुरा बढी सुन्यौं।
तल्लो तहका साथीहरूसँग प्रत्यक्ष संवाद गर्यौं। परामर्श कार्यशाला नै आयोजना गरेर स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधि एवं कार्यसमितिका साथीहरूसँग पार्टी र सरकारको भूमिकाबारे खुला छलफल गर्यौं।
काठमाडौं फर्किएर विभिन्न पेसा, व्यवसायमा आबद्ध साथीहरूदेखि शुभेच्छुक र युवाहरूसँग सघन संवाद गर्यौं।
अहिले पनि मेरो अधिकांश समय धेरैभन्दा धेरै मानिस भेट्ने कार्यमै बितिरहेको छ। विभिन्न उमेर समूह, पेसा-व्यवसायका व्यक्ति, कांग्रेसलाई मत दिएका र नदिएका सबै पक्षसँग म अधिकतम भेटघाट गरिरहेको छु। कतिपय साथीहरूले म अहिले किन बोलिरहेको छैन भन्नुहुन्छ; वास्तविकता के हो भने, अहिले म बढीभन्दा बढी सुन्ने मुडमा छु र त्यो सुन्ने क्रम अझै जारी छ।
मतदाता र शुभेच्छुकमा निराशाका मुख्य तीन कारण
निर्वाचनपछिको करिब तीन महिनासम्म देशभरका साथीहरू, सदस्य र मतदाताका कुरा सुनेर हामीले केही प्रारम्भिक धारणाहरू बनाएका छौं। हामीले समस्या र ‘ग्याप’ पहिचान गरी तिनको समाधानका लागि प्राथमिकताहरू निर्धारण गरेका छौं।
हाम्रा पुराना मतदातामा किन यस्तो निराशा आयो ? उत्तर खोज्नुपर्ने मूल प्रश्न यही हो। करिब २७-२८ लाख कांग्रेसका मतदातामध्ये ७-८ लाख पार्टीका क्रियाशील सदस्य नै हुन्। बाँकी २० लाखमध्ये यसपटक करिब १० लाखले मात्र कांग्रेसलाई मत हाले र बाँकी १० लाखले आफ्नो मत परिवर्तन गरे। नयाँ मतदाता त थपिएनन् नै। आखिर कांग्रेससँग उनीहरू किन रिसाए ? किन विश्वास गर्न सकेनन् ?
हो, राजनीतिमा आरोह-अवरोह हुन्छन्। निर्वाचन परिणाम कहिले अनुकूल त कहिले प्रतिकूल हुन्छ। मतदाताका अपेक्षा र गुनासा हुनु स्वाभाविक हो। तर यसपटक मतदाता र शुभेच्छुकले कांग्रेससँग सामान्य गुनासो मात्र राखेका होइनन्, बरु चित्त दुखाएका हुन्, आक्रोश पोखेका हुन्।
देशभर संवाद गर्दा हामीले के पायौं भने, विगतको एक दशक (२०७२-२०८२ साल) को अवधिमा पार्टी जसरी अगाडि बढ्यो, त्यसलाई शुभेच्छुक र मतदाताले ‘कांग्रेस हिँडेको अँध्यारो बाटो’का रूपमा बुझेका रहेछन्। यसका मुख्य तीन कारण निम्नलिखित छन्:
१. सत्तामुखी राजनीतिको भाष्य
सत्ता, सत्ता, सत्ता- जेका लागि पनि सत्ता, जहिले पनि सत्ता, जसरी पनि सत्ता।
जुन नागरिकका लागि कांग्रेस एउटा विचार, आस्था, सिद्धान्त र शैली थियो, उनीहरूले २०७२ पछिका दिनमा कांग्रेसलाई केवल सत्ता मात्र देख्ने र सत्ता प्राप्तिका लागि जोसँग जतिबेला पनि सम्झौता गर्न तयार हुने शक्तिका रूपमा पाए।
आम जनताले सरकारमा जान आतुर कांग्रेस देख्दा आस्थाको कांग्रेस हराएको महसुस गरे। निर्वाचनको अगाडि वा पछाडि जोसँग पनि मिल्ने र भागबन्डामा रम्ने कांग्रेस देख्दा, सिद्धान्त र निष्ठामा अडेको पुरानो कांग्रेस नपाउँदा उनीहरूमा तीव्र आक्रोश पैदा भयो।
२. नीतिगत अलमल र नागरिकसँग बढ्दो दुरी
२०७२ सालमा संविधान जारी भएपछि पार्टीको मिसनमा स्पष्ट अलमल देखियो। त्यसभन्दा अगाडि पार्टीका स्पष्ट एजेन्डाहरू थिए- शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रको संस्थागत विकास। आम जनतालाई लागेको थियो कि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् अब कांग्रेसको ध्यान यसको कार्यान्वयन, सुशासन र डेलिभरी (सेवा प्रवाह) मा केन्द्रित हुनेछ। हुनुपर्थ्यो पनि त्यही। तर हामी सत्ताको अङ्कगणित र पार्टीभित्रको जोडघटाउमा भुल्दा नागरिक र पार्टी सदस्यहरूसँगको सम्बन्ध टुट्दै गयो। नागरिकका दैनिक मुद्दा र चासोबाट पार्टी अलग हुँदै जाँदा उनीहरूले पनि पार्टीलाई आफूबाट अलग्याउन थाले।
३. आन्तरिक ‘सिन्डिकेट’ को अनुभूति
मतदाता, शुभेच्छुक र तल्लो तहका सदस्यहरूमा पार्टी २-४ जना नेताहरूको कब्जामा रहेको भान हुन थाल्यो। बाहिरबाट हेर्दा विधि-विधान छ, अधिवेशन भएकै छ, संगठनको संरचना र लोकतान्त्रिक अभ्यास सब ठिकठाक देखिन्छ; तर वास्तवमा पार्टीभित्र एउटा ‘सिन्डिकेट’ जस्तो भइसकेको रहेछ। आम मानिसलाई लागिसकेको थियो कि, कांग्रेस अब पूर्ण रूपमा विचलित भइसक्यो, त्यसैले सानोतिनो रिफर्म (सुधार) ले मात्रै यसले पुनर्जन्म पाउन कठिन छ।
हामीले यी विषयहरू २०८० सालको महासमिति बैठकमै नउठाएका होइनौं, तर त्यसलाई ठोस परिणाममा पुर्याउन सायद चुक्यौं। विशेष महाधिवेशनमार्फत सार्थक प्रयास त गर्यौं, तर धेरै ढिला भइसकेको थियो। आम संवादबाट यी कुराहरू छर्लङ्ग भएपछि, सभापतिको रूपमा यो परिस्थितिलाई व्यावहारिक रूपमै बदल्नु मेरो पहिलो र परम कर्तव्य हो भन्ने मैले ठानेको छु।
बदलिँदो कांग्रेसका तीन सङ्गठनात्मक कार्यभार
विगतको विकृत राजनीति, गठबन्धन वा भागबन्डाको राजनीतिबाट मुक्त भएर जनतासँग टुटेको सम्बन्ध स्थापित गर्नु, फाटेको मन जोड्नु र पार्टीमा सदस्यहरूको भूमिकालाई निर्णायक, सहभागितामूलक एवं न्यायपूर्ण बनाउनु नै अहिलेको पहिलो प्राथमिकता हो।
विशेष महाधिवेशनमार्फत हामीले गरेको प्रयत्नले कांग्रेसमा हस्तक्षेपको अपेक्षा राख्ने एक पङ्क्ति त अडियो, तर बाँकी मतदाता हामीसँग विरक्तिएर अलग भइसकेका थिए। अब ती विरक्तिएकाहरूलाई फर्काउनु छ र आशा एवं विश्वास जगाउनु छ। केवल शब्दमा मात्र होइन, हाम्रो कार्यशैली र व्यवहारबाट देखाउनु पर्नेछ कि- हामी सत्ता र भागबन्डाका लागि जे पनि गर्दैनौं, विचार र सिद्धान्तमा सम्झौता गर्दैनौं। आजको नेतृत्वको मूल साङ्गठनिक कार्यभारलाई तीन स्तम्भमा वर्गीकरण गरेर काम थालनी गरिसकेका छौं ।
पहिलो: सत्ता होइन, सिद्धान्त र जिम्मेवार प्रतिपक्ष
नेपाली कांग्रेसले अब सत्ताका लागि वा सत्तासँग कुनै पनि अपवित्र भागबन्डा नगर्ने नीतिगत निर्णय महाधिवेशनको दस्तावेज र निर्वाचन प्रतिज्ञापत्रमार्फत स्पष्ट गरिसकेको छ। यो कुनै एक दिन वा एक पटकका लागि मात्र होइन, हाम्रो निरन्तरको शैली हुनेछ।
संसद्मा बलियो भूमिका: जनादेशले हामीलाई प्रतिपक्षीय भूमिका दिएको छ। संसद्मा सङ्ख्या कति छ भनेर होइन, कर्तव्य के हो भनेर हामी प्रस्तुत हुनेछौं। संवैधानिक परिषद् जस्ता निकायहरूमा कांग्रेसले स्पष्ट रूपमा ‘दलीय भागबन्डा होइन, विधिअनुसार गर’ भन्दै आएको छ।
मुद्दामा आधारित खबरदारी: हामी सरकारलाई बिनाकारण घेराबन्दी गर्ने वा अप्ठ्यारोमा पार्ने खेलमा लाग्ने छैनौं। सरकारका सकारात्मक र जनहितका काममा मद्दत गर्ने तथा सुकुमवासीमाथिको अमानवीय कदम, सीमाको असंवेदनशिलता, संसद्को अवमूल्यन, कानुनको शासनमा उदासिनता र नागरिक स्वतन्त्रतामाथिको हस्तक्षेप जस्ता लोकतन्त्रका सारभूत विषयमा संसद् र सडक दुवै ठाउँमा कांग्रेस दृढतापूर्वक उभिने छ।
संसदीय समन्वय: संसद्मा कांग्रेसका सांसदहरूको भूमिका प्रभावकारी बनाउन मेरै नेतृत्वमा समन्वय समिति क्रियाशील छ। संसद्मा प्राप्त एक-एक मिनेटको समय नागरिककै आवाज बोल्नका लागि प्रयोग भइरहेको छ।
प्रदेश सरकारमा फरक अडान: प्रदेशहरूमा अहिलको विशिष्ट राजनीतिक अङ्कगणितका कारण हामी नेकपा (एमाले) सँग संयुक्त सरकारमा छौँ। केही समयअघि प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको थियो। तर हामीले स्पष्ट भन्यौं- कुनै दुई दल मिलेर सरकार बनाउनु त बाध्यता होला, तर प्रतिपक्ष नै नहुने गरी तीनवटै ठूला दल मिलेर सरकार बनाउनु अलोकतान्त्रिक हुन्छ। यस्तो अवस्थामा बरु एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ, हामी सरकार बाहिरै बस्छौं। सत्तामा टिक्नका लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए।
दोस्रो: नागरिक र सामाजिक आन्दोलनसँग जोडिएको पार्टी
विगतको दशकमा पार्टी केवल एउटा ‘इलेक्सन मेसिन’ जस्तो मात्र बन्यो। अब यसलाई बदल्दै छौं। पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्दै पुनः सामाजिक आन्दोलनसँग जोड्दै छौँ। अबको पार्टीको मूल मिसन ‘समुन्नत नेपाल’ हो, जसको विस्तृत खाका म चाँडै नै केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नेछु।
पार्टी कार्यालय बहसको थलो: पार्टी कार्यालयलाई विचार मन्थन गर्ने केन्द्र बनाइएको छ। हामीले साप्ताहिक रूपमा हरेक शुक्रबार ‘ग्रिन टेबल’ शृङ्खला सञ्चालन गरिरहेका छौं। यसमा सीमा क्षेत्रमा राज्यले दिएको दुःखदेखि लिएर लागुऔषध दुर्व्यसन, परीक्षाफल प्रकाशनमा भएका गडबडी र सडक सुरक्षा जस्ता आम नागरिकका मुद्दामा सरोकारवालासँग प्रत्यक्ष संवाद हुन्छ। यी कार्यक्रमहरूमा म आफैँ सहजकर्ता वा स्रोताका रूपमा बस्छु र आएका निष्कर्षहरू सम्बन्धित नीति निर्माता र सांसदहरूलाई पठाउने गरिन्छ।
ज्ञान उत्पादन र नीति प्रतिष्ठान: कांग्रेस केवल समाचारका हेडलाइन हेरेर धारणा बनाउने वा भाषण गर्ने दल होइन, यसले ज्ञान उत्पादन पनि गर्नुपर्छ। जलवायु सङ्कट, मानसिक स्वास्थ्य जस्ता नवीनतम चुनौतीहरूमा पार्टीले विचार निर्माण गर्नुपर्छ। यसका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठानले अध्ययन, अनुसन्धान र बहस पैरवीको काम अगाडि बढाइसकेको छ।
सामाजिक कार्यमा ५० प्रतिशत योगदान: हामीले विधानमै व्यवस्था गरेर प्रत्येक समिति र सदस्यले ५० प्रतिशत साङ्गठनिक र ५० प्रतिशत सामाजिक काममा जोडिनुपर्ने नीति ल्याएका छौं। साउन ७ गतेदेखि यही मर्मका साथ नयाँ अभियान प्रारम्भ हुँदैछ, जसले कांग्रेसलाई ‘इलेक्सन सेन्ट्रिक’ बाट ‘सिभिक सेन्ट्रिक’ (नागरिक केन्द्रित) पार्टीमा रूपान्तरण गर्नेछ।
तेस्रो: पार्टीको साङ्गठनिक पुनर्संरचना र आन्तरिक लोकतन्त्र
हाम्रो पार्टी संरचना विगतमा माथितिर (नेताहरूतिर) फर्किएको थियो, जसले गर्दा तल्लो तहका सदस्यहरू कमजोर भए। अब पार्टीलाई आफ्नो वास्तविक ‘जरा’ मा फर्काउन र सीमित नेताहरूको घेरा तोड्न संरचनात्मक र कानुनी सुधारहरू गरेका छौं ।
‘प्राइमरी इलेक्सन’ को व्यवस्था: टिकट वितरणमा केन्द्रमा बस्ने सीमित नेताहरूको एकाधिकार र भागबन्डाको विकृत प्रणालीलाई भत्काउन विधानमै ‘प्राइमरी’ को व्यवस्था गरेका छौं। अब वडाध्यक्षदेखि महानगरको मेयरसम्मका उम्मेदवार चयन गर्ने मूल अधिकार त्यहाँका हजारौं स्थानीय पार्टी सदस्यहरूलाई हुनेछ। उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक मञ्चमा प्रस्तुत हुनु पर्नेछ र सदस्यहरूको मतदानबाट छानिनु पर्नेछ।
डिजिटल कांग्रेस आईडी: प्राथमिक निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न सदस्यता विवरणलाई पूर्ण रूपमा डिजिटाइज गरिएको छ। हालसम्म करिब ७ लाख सदस्यहरू प्रविधिको माध्यमबाट जोडिएर उनीहरूको डिजिटल आइडेन्टिटी बनिसकेको छ। यसले गर्दा केन्द्रीय समितिले गर्ने निर्णयहरूमा तल्लो तहका सदस्यहरूको सामूहिक धारणा सजिलै लिन सकिन्छ।
इलेक्सन ब्युरो गठन: उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक र तथ्यपरक बनाउन उपसभापति पुष्पा भुसालको नेतृत्वमा ‘इलेक्सन ब्युरो’ गठन गरिएको छ। यस ब्युरोले समाजमा को लोकप्रिय छ र नागरिक कसलाई आफ्नो प्रतिनिधि चाहन्छन् भन्ने कुराको सर्वेक्षण र अध्ययन गर्नेछ। यही प्रक्रिया अवलम्बन गरेर हामी कम्तीमा १०० वटा स्थानीय तहमा महिला प्रमुख (मेयर) को तयारी गरिरहेका छौं।
कांग्रेस लिडरसिप एकेडेमी र गभर्नेन्स युनिट: उम्मेदवारका आकांक्षीहरू र निर्वाचित जनप्रतनिधिहरूको क्षमता अभिवृद्धिका लागि हामीले ‘लिडरसिप एकेडेमी’ र ‘पब्लिक पोलिसी कोर्स’ को व्यवस्था गरेका छौं। यसअन्तर्गत रहने ‘गभर्नेन्स युनिट’ ले स्थानीय तथा प्रदेश सरकारका कामहरूको निरन्तर अनुगमन गरी सुशासन र सेवा प्रवाह सुनिश्चित गर्नेछ।
ल्याटरल इन्ट्री (पार्श्व प्रवेश): देश तथा विदेशमा रहेका, विभिन्न प्रतिष्ठित विश्वविद्यालय वा संस्थामा विज्ञता हासिल गरेका र राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिहरूलाई सिधै कांग्रेसमा जोड्न विधानमै ‘ल्याटरल इन्ट्री’ मार्फत क्रियाशील सदस्यता र जिम्मेवारी दिन सक्ने प्रबन्ध गरिएको छ।
पेसागत मर्यादा र युवा प्रतिनिधित्व: कर्मचारी, शिक्षक, डाक्टर, वकिल जस्ता पेसागत सङ्गठनमा रहेकाहरूलाई पार्टीको प्रत्यक्ष आबद्धताबाट अलग गरिएको छ, जसले गर्दा समाजमा उनीहरूको पेसागत निष्पक्षता र सम्मान कायम रहोस्। साथै, पार्टीभित्र सार्थक युवा प्रतिनिधित्वका लागि वडादेखि केन्द्रसम्म निश्चित कोटा अनिवार्य गरिएको छ भने समानुपातिक प्रणालीबाट एक पटक सांसद भइसकेका व्यक्तिलाई पुनः सोही प्रणालीबाट नदोहोर्याउने विधि बनाइएको छ।
सांस्कृतिक र आचारसंहिता सुधार: सार्वजनिक कार्यक्रमहरूका लागि कडा आचारसंहिता बनाएका छौं। तोकिएको समयमै कार्यक्रम सुरु गर्ने, लामो र भद्दा आसन ग्रहण गराउने परम्परा हटाउने, धेरै नेताहरू मञ्चमा नबसी कार्यकर्ताकै बीचमा बस्ने, खादा-माला र लावालस्करको संस्कृतिलाई निरुत्साहित गर्ने जस्ता सुधारका कामहरू प्रदेश भेलाहरूबाटै सफलतापूर्वक अभ्यास भइसकेका छन्।
घरभित्रको मतभेद र मूल रूपान्तरणको बाटो
अहिले पार्टीभित्र केही आन्तरिक मतभेदहरू अवश्य छन्। ती मतभेदलाई विधानको सीमाभित्र रहेर मिलाउन म हरसम्भव प्रयास गरिरहेको छु र हामी यसमा सफल हुनेछौं भन्ने पूर्ण विश्वास छ।
तर, कतिपय साथीहरूलाई लाग्छ, घरभित्रको मतभेद मिलाउना साथ बाहिर सबै कुरा ठिकठाक भइहाल्छ। मलाई लाग्छ- यो निकै सतही विश्लेषण हो। यो मात्र सत्य मान्नु फेरि पनि जनभावनालाई नजरअन्दाज गर्नु हो।
हाम्रो घरभित्रको विषय, कसले सदस्यता नवीकरण गर्यो वा गरेन, कसलाई कुन पद दियो वा दिएन भन्ने कुरामा आम नागरिक, शुभेच्छुक र मतदातालाई धेरै चासो छैन। यो चासो नेता र केही सीमित कार्यकर्तालाई मात्र हो।
सभापतिको हैसियतले पार्टीका सबै पक्षलाई मिलाउने र सबैलाई अपनत्व महसुस गराउने मुख्य जिम्मेवारी मेरो र यो कार्यसमितिको हो। पार्टीको विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने छुट हामी कसैलाई छैन र हुनु हुँदैन।
तर, मूल विषय नेपाली कांग्रेसको समग्र पुनर्संरचना र कार्यशैलीमा परिवर्तन नै हो। यो रूपान्तरण नगरी केवल केही नेताहरू मिल्ने वा नमिल्ने कुराले आम नागरिकको कांग्रेसप्रतिको दृष्टिकोण बदलिनेवाला छैन।
हाम्रो ध्यान त ती लाखौं मतदाता र सदस्यहरूको मन जित्नमा केन्द्रित हुनुपर्छ, जो विगतमा कांग्रेस विचलित भयो भनेर निराश भई हामीबाट टाढिएका छन्। हामी बोलीबाट होइन, हाम्रा निर्णय र व्यवहारबाट प्रमाणित गरेर देखाउनेछौं कि- यो नयाँ कांग्रेस हो, बदलिएको कांग्रेस हो!
