दुई वडाले पाए आफनै कार्यालय भवन, बृन्दावनमा सेवा प्रवाह थप प्रभावकारी बन्ने

दुई वडाले पाए आफनै कार्यालय भवन, बृन्दावनमा सेवा प्रवाह थप प्रभावकारी बन्ने

रमेश कुमार यादब
भदौं ०२, रौतहट
बृन्दावन नगरपालिकामा एकै दिन दुई वटा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरपालिकाले वडा कार्यालयका लागि आफ्नै भौतिक पूर्वाधार निर्माण गरेसँगै लामो समयदेखि भाडाका कोठा तथा अन्य संघ–संस्थाका भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएका छन् । मंगलबार आयोजित छुट्टाछुट्टै औपचारिक कार्यक्रममा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले वडा नं. ५ अन्तर्गत नरकटिया र वडा नं. ८ अन्तर्गत आकडपाथडमा निर्माण सम्पन्न भएका वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष फेकु दास र रबिन्द्र प्रसाद साह, जनप्रतिनिधि, नगरपालिका तथा वडा कार्यालयका कर्मचारी, स्थानीय अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले करिब नौ वर्षदेखि भाडाको कोठा तथा अन्य संघ–संस्थाका भवनबाट वडा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता अब अन्त्य भएको बताउनुभयो। आफ्नै भवन निर्माण भएपछि नागरिकलाई वडा कार्यालयबाट उपलब्ध हुने प्रशासनिक सेवा, विभिन्न सिफारिस, जन्मदर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा तथा अन्य सरकारी सेवाहरू लिन थप सहज हुने उहाँको भनाइ थियो। नगर प्रमुख कुर्मीले स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास अत्यन्त आवश्यक रहेको बताउँदै वडा कार्यालयका लागि आफ्नै भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार व्यवस्थित कार्यालयबाट कर्मचारीलाई काम गर्न सहज हुने र सेवाग्राहीले पनि एउटै स्थानबाट आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण तयार भएको छ। नवनिर्मित एकतले वडा कार्यालय भवनमा सेवाग्राही तथा कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न संरचना निर्माण गरिएको नगरपालिकाले जनाएको छ। भवनमा सभा हल, स्टोर कोठा, प्राविधिक कोठा, कार्यालय सचिवको कार्यकक्ष, वडा अध्यक्षको कार्यकक्ष, दुई वटा शौचालय तथा बाथरुम लगायतका आवश्यक संरचना रहेका छन्। पर्याप्त भौतिक सुविधा सहितको कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयका दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख कुर्मीले आफू निर्वाचित भएदेखि नगरवासीको आवश्यकता, माग र प्राथमिकतालाई आधार बनाएर विकास निर्माणका कामलाई अगाडि बढाउँदै आएको बताउनुभयो। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, नाला, विद्यालय तथा वडा कार्यालयजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको उहाँको भनाइ थियो। उहाँले आगामी दिनमा पनि नगरवासीको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहको विकास केवल ठूला योजनाबाट मात्र नभई नागरिकले प्रत्यक्ष रूपमा सेवा पाउने आधारभूत संरचनाको निर्माणबाट पनि मापन हुने भएकाले वडा तहसम्म आवश्यक पूर्वाधार विस्तारमा नगरपालिका केन्द्रित रहेको उहाँले बताउनुभयो।


वडा नं. ५ मा विकासले गति लिएको वडाध्यक्ष दासको भनाइ

वडा नं. ५ का वडाध्यक्ष फेकु दासले आफ्नो वडाको विकासमा नगर प्रमुख कुर्मीले देखाएको सक्रियता र तदारुकताको प्रशंसा गर्नुभयो। विगतमा वडा नं. ५ दुर्गम क्षेत्रजस्तै रहेको स्मरण गर्दै उहाँले सडक, शिक्षा, खानेपानी, नाला तथा स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाबाट स्थानीयवासी लामो समयसम्म वञ्चित हुनु
परेको बताउनुभयो । आफूहरू निर्वाचित भएपछि वडावासीको आवश्यकता र मागअनुसार विभिन्न विकास योजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको वडाध्यक्ष दासले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय वडामा सडक निर्माण, नाला, विद्यालय भवन, स्वास्थ्यसम्बन्धी पूर्वाधार तथा अन्य भौतिक संरचना निर्माण भएका छन्, जसबाट स्थानीयवासीले प्रत्यक्ष लाभ लिइरहेका छन्।


वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि अब वडाको प्रशासनिक काम अझ व्यवस्थित हुने र सेवाग्राहीलाई सेवा लिन सहज हुने विश्वास पनि वडाध्यक्ष दासले व्यक्त गर्नुभयो।

वडा नं. ८ मा करिब १२ करोडका विकास आयोजना

त्यस्तै, वडा नं. ८ का वडाध्यक्ष रबिन्द्र प्रसाद साहले पनि नगर प्रमुख कुर्मी र नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो। नगर प्रमुखको पहल तथा नगरपालिकाको सहयोगमा वडा नं. ८ मा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा करिब १२ करोड रुपैयाँ बराबरका विकास निर्माणका काम सम्पन्न तथा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।वडाध्यक्ष साहले आगामी दिनमा पनि वडाको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर थप विकासका योजना सञ्चालन गर्न नगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि स्थानीयवासीलाई सेवा लिन सहज हुनुका साथै वडा कार्यालयको प्रशासनिक कामसमेत प्रभावकारी बन्ने उहाँको भनाइ थियो।

दुवै वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै स्थानीयवासीले वडा कार्यालयबाट सेवा लिनका लागि भाडाका कोठा तथा अस्थायी संरचनामा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको छ। आफ्नै भवनमा कार्यालय सञ्चालन भएपछि कर्मचारीलाई काम गर्न सहज हुने, कार्यालयका कागजात तथा अभिलेख सुरक्षित राख्न सुविधा पुग्ने र सेवाग्राहीका लागि पनि सेवा लिन व्यवस्थित वातावरण बन्ने अपेक्षा गरिएको छ।

बृन्दावन नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवनसँगै सडक, नाला, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी लगायतका आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ। नवनिर्मित वडा कार्यालय भवनलाई स्थानीय सरकारको सेवा प्रवाहलाई थप संस्थागत, व्यवस्थित र नागरिकमैत्री बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।नगरपालिकाका अनुसार आगामी दिनमा पनि बाँकी रहेका आवश्यक पूर्वाधारको पहिचान गरी नागरिकको प्रत्यक्ष आवश्यकता र मागका आधारमा विकासका योजनालाई अगाडि बढाइनेछ। आफ्नै वडा कार्यालय भवनबाट नियमित सेवा सञ्चालन भएपछि वडा नं. ५ र वडा नं. ८ का
नागरिकले सरकारी सेवा प्राप्त गर्न थप सहज र प्रभावकारी वातावरण पाउने विश्वास गरिएको छ ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस