चैत्र ०२ गते ।
पृथ्वी र मानव शरीरको जलसित गज्जबको सम्बन्ध रहेको छ । पृथ्वीको बारेमा विश्लेषण गर्नेहरुले बताउने गरेका छन् कि पृथ्वीको करिब तीन भागमध्ये दुई भाग पानी छ र मानव शरीरको बारेमा पनि करिब यस्तै धारणा आउने गरेको छ कि मानव शरीरमा पनि करिब दुई तिहाई पानी रहेको छ ।
पृथ्वीमा पानीको मात्रा कहिल्यै कम होला भन्ने छैन । समुद्रको सतह निरन्तर बढिरहेको छ । विश्वव्यापी तापीकरणको कारण पृथ्वीमा हिउँ पातलिँदै गएको छ । हिउँ पग्लिंँदै जाँदा साधारण पानी बढ्दै गएको छ । हिउँलाई पनि पानीमा नै गन्ती गर्ने गरिएको पाइन्छ । यहाँ विचारणीय के रहेको छ भने पानीको स्वरुपमा पानीको मात्रा घटबढ नभएको एउटा सत्य भएर पनि वास्तवमा पृथ्वीको अन्य सन्तुलनमा भने प्रभाव पर्ने हुन्छ । हिउँ पग्लिँदा वातावरणीय प्रभावमा असर हुन्छ । वातावरण प्रभावित हुँदा जैविक विविधता प्रभावित हुने हुन्छ । अहिले नै धेरै किसिमको प्रभाव देखिन थालिएको वातावरणविदहरुको भनाइ रहेको छ । हिउँ पग्लिँदा हिमालय क्षेत्रको जनजीवन तथा प्राकृतिक क्षेत्रमा धेरै प्रभाव देखिएको बताइन्छ भने हिमालयको हिउँ पानी बनेर समुद्रमा पुग्दा समुद्रको सतह बढेर धेरै टापुहरु पानीमा डुब्ने खतरा बढेको कुरा पनि सार्वजनिक हुने गरेका छन् ।
हामीकहाँको नजिकको पहाड तथा नदीमा पानीको मात्रा कम भइरहेको छ । जमिनको सतहमा पानी कम भएको बताइन थालिएको छ । खोलानालामा पहिलेभन्दा पानी कम भएको तथा पानीका मूल र स्रोतमा कमी आउन थालेको अहिलेका ज्येष्ठ नागरिकहरुले बताउने गरेका छन् । पहिले तुलनामा पानीको उपयोग बढेको र पानीको स्रोत कम भएको भन्ने विषयमा सामान्य नागरिकहरुले बताउने गरेका छन् । पानीको उपयोगले मानवको जीवनमा सजिलोपना ल्याइदिएको छ । कतिपयले के बताउने गरेका छन् भने पानीको प्रयोग खेतीमा निकै बढेको छ । पहिले अहिलेको जस्तो खेती गरिँदैनथ्यो । जीवन निर्वाह खेतीमा पहिले पानीको खासै उपयोग हुँदैनथ्यो तर जनसंख्यामा वृद्धि भएको तथा खेतीमा व्यावसायिकताको वृद्धि भएको अवस्थामा उब्जनीमा प्रतिस्पर्धा हुन पुगेको छ । बालीलाई पानी पुर्याउन जमिनको सतहबाट पानी निकाल्ने काम बढेको छ । वनजंगल कम हुँदै जानाले पनि जलको स्रोतमाथि प्रभाव परेको छ । पानीको बहुमुखी प्रयोग बढिरहेको छ ।
पृथ्वीमा पानीको मात्रामा खासै परिवर्तन नआए पनि पानीको स्वरुप र स्थानमा आउने परिवर्तनले समग्र पृथ्वीको पर्यावरण तथा जैविक विविधतामा प्रभाव पर्ने कुराले के पनि संकेत गरेको छ भने शरीरमा पानीको मात्रा कम वा बेसी भयो भने पनि शरीरलाई प्रभाव पारिरहेको हुन्छ । शरीरमा पानीको सन्तुलन बनाइराख्नु उचित हुन्छ । शरीरमा पानीको सन्तुलन कसरी हुन सक्छ त ? यस विषयका विशेषज्ञले नै विस्तृत बताउलान् तर पानी चाहिँ खाइरहनु पर्ने हुन्छ । शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पनि अनेक रोगहरु लाग्ने बताइन्छ । यसै सन्दर्भमा कतिपयले के पनि बताउने गरेका छन् कि दिनभरमा गर्मीमा कम्तीमा पाँच लिटर रा जाडो महिनामा कम्तीमा तिन लिटर पानी पिउनु पर्दछ एकजना प्रौढ मानिसले । अझ पानीको विषयमा यो पनि भनाइ प्रचलनमा रहेको पाइन्छ कि पानी कति पिउने भन्ने कुरो महत्वपूर्ण होइन तर हरेक मानिसले आफ्नो पिसाबको रंग पानीको रगको बनाइराख्नु पर्ने हुन्छ । पानीको मात्रा शरीरमा कम हुनु भनेको पिसाबको रंग पहेंलो हुनु हुँदैन । हरेक मानिसले दिनभरमा कम्तीमा दुईदेखि तिन लिटर पिसाब गर्नु आवश्यक हुन्छ । पानी कति खाने र पिसाब कस्तो हुने जस्ता विषयसँगै आउने अर्को पक्ष हो कि मानिसले पिउने पानी कस्तो हुने त ?
यसको जवाफ धेरै सजिलो छ । पानी त सफा चाह्निछ, शुद्ध चाहिन्छ । पानी सफा र शुद्ध भएन भने शरीरलाई पानीले नै नोक्सानी पुर्याउन सक्छ । पानीको महत्व यसबाट पनि बुझ्न सजिलो हुन्छ कि पानी नभई हु्ँदैन र पानी जस्तो सुकै पनि हुनुहुँदैन । मानिसले पिउने पानी शुद्ध हुनु पर्दछ र पर्याप्त हुनु पर्दछ । उसो भए पानी पिउने तरिका पनि छ त ? निस्सन्देह पानी पिउने तरिका पनि छ । आयुर्र्वेदले यस विषयमा धेरै व्याख्या गरेको छ । अहिले केही चिकित्सकहरुले पनि यस कुरामा जोड दिन थालेका छन् कि पानी पिउनुपर्छ तर तरिका मिलाएर । तरिका मिलाएर सही किसिमले पानी पिउन सकिएन भने पिएको पानीले पनि पर्याप्त फाइदा दिन सक्दैन । पानी पिउँदा सबैभन्दा पहिले एकाबिहान पिउनु राम्रो । सम्भव भएसम्म मनतातो दुई गिलास पानी बिहान ओछ्यानमै पिउनु पर्दछ र त्यसपछि बल्ल शौचालय जानु पर्छ । ट्वाइलेटबाट फर्केर आएर हातमुख धोएपछि पानी पिउनुलाई आयुर्वेदले त्यत्ति राम्रो मानेको पाइँदैन । कतिपयले खाना खाने बेलामा पानी पिउँछन्, यसलाई पनि आयुर्वेदले राम्रो मानेको छैन । खाना खानुभन्दा एक घन्टा पहिले र खाना खाएको एक घन्टापछि मात्र पानी खानु पर्दछ भनिन्छ । राति सुत्ने बेलामा पनि कम्तीमा एक गिलास मनतातो पानी पिउनु राम्रो मान्छि । दिनभर समय र आवश्यकतानुसार पानी पिइरहनु पर्छ । पानी पिउँदा एकपटकमा एक गिलास पिउनु राम्रो । सम्भव भएसम्म हरेक घन्टा एक गिलास पानी पिउने बानीलाई शरीर र स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिएको पाइन्छ । आजभोलि यस प्रकारको मान्यतालाई व्यवहारमा उतार्न थालेको पनि पाइएको छ ।
पानीको उपयोग शरीरको लागि पिएर मात्र हुँदैन । हामीले बुझेका छौँ कि लुगाकपडा धुन पानी चाहिन्छ र हामी पानीले नै नुहाउँछौँ पनि । यसै गरी दिनभर पानीले हातमुख धोइरहन्छौँ । यी सब स्वस्थ आनीबानी हुन् । डाक्टरहरुले यो पनि बताउने गरेका छन् कि हातमुख धुँदा सफा पानी आँखामा पनि छ्याप्नु पर्दछ । भन्नुको अर्थ यो पनि हो कि आँखालाई पनि पानी चाहिन्छ । जल अर्थात पानी जब हाम्रो लागि यति धेरै महत्वपूर्ण रहेको छ तब हामीले पानीको बारेमा धेरै लापरवाही गर्नु हुँदैन । पानी यति महत्वपूर्ण छ तर हामीले दिनहुँ हाम्रो घरमा उपयोग गर्ने पानी स्वच्छ छ त ? पानीको उपयोगिताको पक्ष जति महत्वपूर्ण छ, यसको स्वच्छताको पक्ष पनि उत्तिकै सम्वेदनशील छ । अहिले सक्रिय रहेको तिन तहको सरकारले हरेक नागरिकलाई सकेसम्म स्वस्थ र स्वच्छ पानीको व्यवस्था गर्नु आवश्यक छ । यो समयको माग हो । कतिपयले के पनि दाबी गर्ने गरेका छन् भने स्वस्थ पानी पिउने, हातमुख धुने, नुहाउने र कपडा धुनलाई प्रयोग गर्ने हो तथा समयमा सही मात्रामा पर्याप्त पानी पिउने हो भने धेरै किसिमका रोगबाट बच्न सकिन्छ ।
धेरै चिसो र धेरै तातो पानीको उपयोग शरीर र स्वास्थ्यको दृष्टिकोणले कुनै पनि काममा गर्नु हुँदैन भनिन्छ ।
पृथ्वी र मानव स्वास्थ्यका लागि यत्ति धेरै महत्वपूर्ण रहेको पानीको स्रोतको संरक्षण गर्ने तथा जमिनलाई पनि पानी पुग्ने वातावरण मानिसले नै बनाउनु पर्छ । घरमा प्रयोग गर्ने पानीलाई नालाको माध्यमले सिधै नदीमा नपठाऔँ । सम्भव भएसम्म धरतीलाई नै पानी उपलब्ध गराऔँ । जमिनले पानी सोस्ने वातावरण रहनु पर्दछ अनि जमिनमा पानीको मात्रा सही अर्थमा सन्तुलनमा रहन सक्छ किनभने पृथ्वी र मानव दुवैका लागि जल नै जीवन हो ।