चैत्र ०२ गते ।
रौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ ।
जिल्लाका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका ठाँउमा अझैपनि व्यवस्थीत पार्किङ छैन ।
जिल्लाको शहर र ग्रामीण भेगका बजारहरुमा मोटरसाइकल लगाएतका सवारी साधन पार्किङको व्यवस्था नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको पाईएको छ ।
जिल्लाको बजारहरुको मुख्य सडक, मानिसहरुको बढी भिडभाड हुने ठाउँ र पसलको सामन्ने सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ ।
अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये २ वटा शहरी क्षेत्रमा छन । भने १६ स्थानीय तह ग्रामिण क्षेत्रमा छन । १८ वटै स्थानीय तहमा ब्यवस्थित पार्किङ छैन । अहिले पार्किङ रौतहटका ठूला तथा साना सहरहरुको मुख्य चुनौती बन्दै गएको छ । अहिले पार्किङ समस्याले बाटो हिडने बटुवा देखि शहर छिर्ने सवारी साधनहरुलाई समेत समस्या हुँदै आएको छ ।
अव्यवस्थित पार्कीङले अहिले बजारको सुन्दरतामा नै ह्रास आएको छ । बजारमा व्यवस्थीत पार्किङका लागि गन्न सकिने ठाँउ मात्र छ । तर त्यस ठाँउमा पनि पार्किङ व्यवस्थित भएको देखिदैन ।
जिल्लाका ठूला शहर गौर, गरुडा र चन्द्रनिगाहपुरमा पार्किङको अवस्था अस्तव्यस्त रहेको छ ।
निर्वाचित जनप्रतिनिधिहरु आएको चार वर्ष विति सक्दा पनि यो समस्या समाधान गर्नका लागि त्यति चासो लिएको देखिएको छैन । शहरी क्षेत्रमा बढिरहेका सवारी साधनहरुलाई व्यवस्थित गर्न सम्वन्धित निकाय मौन बसेका छन ।
अव्यवस्थित सवारी साधन र पार्किङको कुरामा स्थानीय तह र ट्राफिक प्रहरी त्यति गम्भीर पनि देखिदैन । बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक छ । अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन ।
गौर, गरुडा चन्द्रनिगाहपुर लगाएतका स्थानीय तहले प्रभावकारी रुपमा सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफुहरुले सडकपेटिको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुले बताएका छन ।