चैत्र ०३ गते
हामी होटेल पञ्चवटीमा रोटी मासु खाना खान्छाँै । सुत्ने कोठामा आउने क्रममा एउटा मोबाइल पसलेको सहयोगमा मित्रजीको मोबाइलमा डाटाबाट इन्टरनेट काम गर्न थाल्छ । म एउटा एयर फोन पनि किन्छु । हामी बास बस्ने होटेल सनराइजको साउँजी बाबा गणिनाथको फोटो आफ्नो काउन्टरको माथि राख्नु भएकोले साहु कानु समाजको भएको हामी सजिलै थाहा पाउँछौँ । मित्रजी बाबाको फोटो तल बस्नु हुन्छ र म मोबाइलमा फोटो खिची दिन्छु ।
बिहानैदेखिको बाइकको हकाइ र बसाइले हामी त्रि–मित्र थकित हुन्छाँैं र पनि हाम्रो आँखामा निन्द्रा भने आउँदैन । हामी यात्राभरि संगालेका अनुभव र बज्जिका सम्बन्धी गरेका साहित्यिक कार्यहरुकै बारेमा कुरा गर्छौं । त्यसै गरी हाम्रो यात्राको मुल उद्देश्य भोलि पटनामा अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा हुने कार्यक्रमका बारेमा पनि छलफल गरी सुत्ने प्रयत्न गर्छौं तर हाजीपुरको लामखुट्टेले भने निन्द्रा देवीलाई आउने बाटो छेके जस्तो गरिदिन्छ ।
जे जस्तो सुताइ होओस्, बिहान साढे छौ बजे उठ्छौँ भोलिपल्ट । हामी नित्य कर्म सकेर हाजीपुरमा भएको कौनहारा घाटमा भएको नेपाली छाउनी यसपालि पनि अवलोकन गर्ने उद्देश्यले प्रभात भ्रमणमा हिड्छौं । केही बेरको पैदल हिडाइपछि हामी कौनहाराघाट पुग्दा लगभग घाट खाली नै हुन्छ, गण्डक नदीको जलले आफु पवित्र हुन्छौ । बाहिरको सामान्य दृष्यहरु हेर्दै नेपाली छाउनी पुग्दा यसपालि केही नयाँजस्तो भान हुन्छ । नेपाली छाउनीको प्रांङ्गनमा भएको पैगोडा किसिमको भक्तपुरमा भएको मन्दिर मर्मत सम्भार गरेर नयाँ रङ्ग–रोगन गरेको देख्छौँं । मित्रजी फेसबुक मैसेन्जरको माध्यमबाट प्रत्यक्ष हेटौडामा रहेका साथी गिरिजा अधिकारीसँग केही बेर कुराकानी गर्नु हुन्छ । हामी आ–आफ्नो मोबाइलमा फोटो खिच्छौँ र सँगैको शिवालयमा रहेको शिवजीको दर्शन गरी आएको भन्दा फरक बाटोबाट फर्किन्छौं । बाटोमा एउटा खाजा पसलमा मिठाइ र नमकिनको नास्ता र चिया खाएपछि पैदल हिड्नबाट समय जोगाउन हामी ई–रिक्शा चढ्छौं । बिहान फेरि हाजीपुर रेल्वे जक्शनतिर घुमफिर गर्छौ । ममात्र स्टेशनमा बाहिर बसेको नाईबाट दाह«ी कटाउँछु । बिहानको करिब साँढे आठ बजेको हुन्छ । हामी होटेल सनराइजलाई बाई–बाई गरी आफ्नो गन्तव्य पटनातिर जान बाईकमा सवारमा हुन्छौँ ।
बिहानको ९ः३५ बजे हामी गंगा नदीको गान्धी सेतुको मध्यमा हुन्छाँैं । अलि जोखिम भए पनि पुलमा बाइक हाँक्दै म भिडियो सेल्फि खिच्दै गर्दा मित्रजी भिडियो नलिई सावधानीपूर्वक बाइक हाक्न सल्लाह दिनु हुन्छ, अनि म त्यसै गर्छु । पटनाको ओभर र अन्डर ब्रिजको बाटोमा रमाई रमाई बाइक हाक्दै हामी बाटोको छेउमा रहेको हरियो नारियल पानी लिन्छाँैं । सबा दश बजे हामी पटनाको प्रसिद्ध गान्धी मैदानमा पुग्छौं । मानिसहरुको संख्या धेरै भए पनि मैदान ठूलो भएकोले भिड भने देखिदैन् । हामी त्रि–मित्र पटना गान्धी मैदानका फोटोहरु एक अर्काको सहयोग र सेल्फी खिचेर हामी पुग्नु पर्ने कार्यक्रमस्थल खोज्नतिर लाग्छाँैं । दश पन्द्र मिनटको खोज तलासपछि कार्यक्रमस्थल पटना संग्रहालय पुग्छौं । कार्यक्रम पूर्व सूचनाअनुसार एक बजेबाट शुरु हुने जानकारी हुन्छ । हामी बाइक संग्रहालयमै राखेर नजिकैको एउटा ढावामा खाना खाएर कोतवाली थाना पटना हँुदै बुद्ध पार्कको बाहिरबाटै छेउमै रहेको पटना जंक्शन अवलोकन गरी कार्यक्रमतिर फर्किने क्रममा मेरो सोनी क्यामराको बैट्री खोज्छौ तर भेटाइँदैन् । त्यसै क्रममा मेरो मोबाइल सेटको बाहिरी आवरण र टेम्पर ग्लास किनेर कार्यक्रमको निर्धारित समयमा संग्रहालय पुग्दा पहिलेको भन्दा मानव चहल पहल मोटो देखिन्छ ।
बज्जिकाको महाविद्यावारिधि डा.अवधेश्वर अरुणज्यूबाट लोकार्पण गरिएको बज्जिकार्पणको पचिसौँ लिएर हामी त्रि–मित्र पटना संग्रहालयको कार्यक्रमको हल बाहिर केही बज्जिका कृतिहरुको बिक्री टेबल लागेको हुन्छ । हामी त्यसको अवलोकन गर्दै गर्दा आयोजक मध्येका ई.राम नरेश शर्मा हाथ जोडेर स्वागत गर्दै आसन ग्रहनको लागि अनुरोध गर्नु हुन्छ । कार्यक्रम हल ठूलो हुन्छ । कुर्सीहरु स्थायी रुपमा सजाएर राखिएका हुन्छन्, केही साहित्यकारहरुको आगमन भइसकेको हुन्छ । जसमा हामी त्रिमित्र पनि आ आफ्नो स्थानमा बस्छौं । साहित्यकारहरुको आउने क्रम जारी हुन्छ । हलमा आउनु भएका बज्जिका साहित्यकारहरु र बज्जिका भाषा विज्ञहरुमध्ये मित्र सुदामाजीको लागि केही सीमित साहित्यकारहरुसँग परिचित भए पनि मेरो पहिले देखिको परिचित साहित्यकार साधना कृष्णजीसँग मात्र हुन्छ । सुदामाजी आफ्नो नयाँ कृति सुमरी खण्डकाव्य साहित्यकारहरुलाई बाँड्नु हुन्छ । त्यसै गरी म पनि आफ्नो कृति लटरपटर र हाम्रो त्रैमासिक पत्रिका बज्जिकार्पण अंक पचिस जसको बिमोचन बज्जिकाका महाकवि महाविद्यावारिधि डा.अवधेश्वर अरुणजीको हातबाट भएको हुन्छ । यी दुवै पुस्तक उपस्थित सात्यिकारहरुमा अर्पण गरेर बाँकी पुस्तक कार्यक्रम डेस्कमा राखि दिन्छु । केही बेरमै हल साहित्यकारहरुबाट भरिभराउ भइहाल्छ ।
ई.राम नरेश शर्मा कार्यक्रमको औपचारिक उद्घोषण गर्नु हुन्छ । प्रो.डा.सियाराम तिवारीज्यूको अध्यक्षता र प्राथमिक शिक्षा निर्देशक बिहारका डा. रणजीत कुमार सिंहको प्रमुख आतिथ्यमा कार्यक्रमको दिपोत्सवबाट शुभारम्भ हुन्छ । कार्यक्रममा बज्ज्किा वार्षिकी २०२१ को सामुहिक लोकार्पण हुन्छ । यो कार्यक्रम भारत देशको बिहार राज्यका प्रसिद्ध बज्जिका साहित्यकारहरुको राष्ट्रिय बज्जिका भाषा परिषद् हाजीपुर र पटनाद्वारा संयुक्त रुपमा आयोजना गरिएको हुन्छ । श्री अखौरी चन्द्रशेखरजी “बज्जिका वार्षिकी २०२१”को प्रकाशनको बारेमा विस्तृत जानकारी दिनु हुन्छ । यस पुस्तकको प्रबंध सम्पादक सालिन स्वभावकी धनी डा.(श्रीमति) विद्या चौधरी बहुत सहज रुपमा बज्जिका भाषाको विकासको लागि आफ्नो विचार राख्नु हुन्छ । यता हामीलाई भने हिँड्न हतार हुन थाल्छ । हाम्रो उकुसमुकुस शर्माजीलाई आभाष हुन्छ र बज्जिका भाषाको विकासमा हामी नेपालीय बज्जिकाको विचार राख्न वहाँ सञ्जय साह सुदामाजीलाई मञ्चमा बोलाउनु हुन्छ । सुदामाजीको जोडदार कविता अभिव्यक्तिको लगतै हामीलाई नास्ताको पैकेट र २५० मि.लि. सुधा पानीको बोतल दिइन्छ । हामी भर्खर खाना खाएकाले चाहदा नचाहदै पनि नास्ता ठुस्छौँं र विदाबारी भएर आफ्नो स्थायी गन्तव्यतिर लाग्छौं । करिब एक घण्टाको पटनाको बाइक हकाइ र बाटो बन्दलाई चिर्दै हामी गंगाको गायघाट पुग्छाँैं । गंगाजीको शुद्ध पावन गंगाजल घर ल्याउने भाँडाको प्रबन्ध गरेर करिब सवा चार बजे हामी गंगाजीको पानीमा तैरिने बैलुन पुलबाट हामी हाजीपुर प्रवेश गर्छौं । हाजीपुर मुख्य राजमार्गमा नआउँदासम्म धुलैधुलो हुन्छ । हाजीपुरबाट मुज्जफरपुर पुग्दा सूर्य भगवान अस्त भइसक्नु हुन्छ भने त्यो शहरबाट सितामढीतिर निस्किँदा अँध्यारो नै भइसक्छ । यसै बिचमा सुदामाजी हामीबाट टाढिनु हुन्छ । म र मित्रजी सुदामाजीलाई पर्खिबस्छौं तर वहाँ हामीभन्दा अगाडि जानु हुन्छ । केही बेर हाम्रो फोन पनि उठाउनु हुन्न । हाम्रो भेट एउटा खाना खाने होटेलमा हुन्छ । त्यहा हामी त्रि–मित्र मासु रोटी र अण्डा खाना खाएर घरतिर हिड्छौं । रिगाबाट सुदामाजी सुदामा जानलाई हामीबाट छुट्टिनु हुन्छ । रातको करिब दश बजे हामी भारत नेपाल सिमाना बेलबिछवा आइ पुग्छौं र पुग न पुग राती एघार बजे हामी आ–आफ्नो घर सुरक्षित पुग्छौं ।