चेैत्र ०३ गते
विश्वमा अधिकारको अनेक क्षेत्रमध्ये उपभोक्ता अधिकारको पक्ष पनि हो । उपभोक्ताको अधिकारको विषयमा कानुनले पनि बोलेको छ । उपभोक्ताको अधिकारको पक्ष विश्वव्यापी रुपमा बलियो अधिकारको रुपमा लिइएको पाइन्छ तर हाम्रो क्षेत्रमा रहेका उपभोक्ताहरु आफ्नो अधिकारको बारेमा कतिको सचेत छन् ?
राम्ररी विचार गर्ने हो भने हाम्रो क्षेत्रको साक्षरता निकै कम छ । यो क्षेत्र आफैमा विपन्न पनि हो । साक्षरता र विपन्नता दुवै रहेको यस क्षेत्रमा उपभोक्ताको अधिकारको विषयमा पनि सचेतना ज्यादै काम छ । उपभोक्तालाई अधिकार दिलाउने वा अधिकारको सचेतना दिलाउने भन्ने विषयमा कसले काम गर्ने ? यस्तो पनि हुन सक्छ कि उपभोक्ता अधिकारको बारेमा कसैले वकालत किन गर्ने ?
उपभोक्ताहरु निरीह छन् हाम्रो क्षेत्रका । यहाँका उपभोक्ताहरु किन निरीह छन् भने हरेक क्षेत्रमा ठगिएका छन् । मूल्य वृद्धि एक ठाउँमा छँदैछ र सामानमा मिलावटको पक्ष पनि त्यत्तिकै बलियो रहेको छ । उपभोक्तालाई आफ्नो अधिकारको बारेमा थाहा छैन र यदि कसैले अलिकति बुझेका छन् भने पनि यसबारेमा उनलाई कतै गएर खोज्ने फुर्सत पनि रहेको देखिँदैन । खोज्ने पनि किन ? कतै खोजेर केही न्याय हुन्छ भन्ने कुरामा उपभोक्तालाई उपभोक्ता विश्वस्त छैनन् । आफू कसरी ठगिएको छ भन्ने कुरोको प्रमाण पु¥याउन सजिलो हुँदैन । उपभोक्ताको अधिकार भन्ने कुरा बजारमा कतै देख्न पाइँदैन । बजारमा उपभोक्ता कसरी ठगिन्छ भन्ने कुरा उपभोक्तालाई थाहै हुन्न । थाहा पाएर पनि चुप लागेर बस्न बाध्य छन् ।
उपभोक्ताको अधिकारको सुरक्षा हुनु पर्दछ । तर जबसम्म अधिकार जसलाई चाहिएको हो, उनी आफैँ सचेत हुँदैनन् तबसम्म त्यो अधिकारले मूर्त रुप पाउन सक्दैन । उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सुसूचित गर्नेतिर हाम्रो प्रयास हुनु आवश्यक छ ।