चैत्र ०४ गते ।
हरेक दश वर्षमा आउने राष्ट्रिय जनगणना यही आउँदो जेठमा हुँदैछ । २०७८ को जनगणना निकै महत्वपूर्ण छ । हुन त हरेक जनगणना निकै महत्वपूर्ण हुन्छ तर नेपालको संविधान २०७२ जारी भएपछिको यो पहिलो जनगणना हो । देश संघीयतामा प्रादेशिक संरचनामा गएपछिको पहिलो जनगणना हो यो । यस जनगणनाले प्रदेशको मुख्य भाषा कुन तथा प्रदेशमा कुन कुन भाषा बोलिन्छन् भन्ने कुराको निर्धारण पनि गरिन्छ । पहिले जिल्ला, विकास क्षेत्र तथा देशको गरी मुख्यतया देशको एकीकृत जनगणना परिणाम निकालिन्थ्यो । हुन त स्थानीय निकायको पनि तथ्यांक आउँथ्यो तर स्थानीय निकायको तथ्यांकको खासै महत्वपूर्ण प्रयोजन हुँदैनथ्यो । अबको जनगणनाको रिपोर्ट आउँदा शक्तिशाली स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारसमेतको संरचनामा आउने र जिल्लागत तथ्यांकसमेतको नतिजा दिने हुनाले यस जनगणनाले खास महत्व राख्दछ । यसै कारण आउँदो जनगणनामा हरेक नागरिकको दायित्व बढेको छ ।
जनगणना निकै सम्वेदनशील विषय हो । जनगणनाले अनेक क्षेत्रको नीति निर्माणमा सहयोग गर्ने हुनाले हरेक परिवार तथा नागरिकले आफ्नो विषयमा अत्यन्तै सम्वेदनशील भएर सही विवरण उल्लेख गराउनु पर्छ । कुनै किसिमले कुनै पनि तथ्यांकमा कमीकमजोरी हुन दिनु हुँदैन । पूर्णतया सत्य र तथ्य विवरण दिनु पर्छ र यसै किसिमको सत्य र तथ्य विवरण दिन सहयोग र प्रोत्साहन पनि गर्नु पर्छ । व्यक्ति, परिवार तथा समाजबाट सही र सत्य, तथ्य विवरण जनगणनामा समावेश भएमा सोही तथ्यांकअनुसार देश, प्रदेश तथा स्थानीय सरकारले अनेक नीति, नियम तथा कार्यक्रम बनाउनु पर्ने हुन्छ । यस प्रकारको नीति, नियम, कार्यक्रमहरु नागरिककै लागि हुन्छन् । यसबाट यो पनि स्पष्ट हुन्छ कि जुन तथ्यांक नागरिकले जनगणनाको विवरणमा उल्लेख गराउँछन्, त्यसबाट आफू पनि प्रभावित हुन्छन् । यसले गर्दा हरेक नागरिकले उचित र सही विवरण दिएर जनगणनालाई सफल बनाउन, जनगणनाको उद्देश्यलाई पूरा गराउन तथा आफूले सही विवरण उपलब्ध गराएर सही विवरण उपलब्ध गराउने वातावरण तयार पारेकोमा गर्व गर्दै आफूले एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नु परेको छ । जनगणनाले हरेक नागरिकप्रति आफैँमा उत्तरदायित्व पनि लिएर आउँदैछ । यस उत्तरदायित्वरुपी अभिभारालाई इमानदारीपूर्वक वहन गरौँ ।