चैत्र ०७ गते।
यदि तीन दशकपहिलेको अवस्थालाई हेर्ने हो भने फागुन महिनाभरि जताततै गीत सुन्न पाइन्थ्यो । यसको आफ्नै धुन हुन्थ्यो । यस लोकधुनलाई सबैले फगुवा भन्ने गर्दथे । मानिस सरेहमा काम गर्न होओस् वा घाँट काट्न होओस्, भैंसी चराउन होओस् वा गाई चराउन होओस्, आफ्नो खेतमा रहेको घाँसपात झिक्न होओस् वा कतै एक्लै घुम्न निस्केको होओस्, सबैले आफ्नो हर्षको प्रस्तुति फगुवा गीतमार्फत गर्दथे । वास्तवमा यस गीतको आफ्नै मूल्य र मान्यता हुन्थ्यो । कहिलेकाहीँ त सरेहमा कुनै एक्लो बूढो मान्छे फेला पथ्र्यो भने घसबाहिनहरुले बूढोलाई देखेर अनेक किसिमका फगुवा गीत गाउँथे र भन्दथे कि भर फागुन बुढवा देवर लगवा ।
फगुवा गीतमा मर्यादा पनि हुन्थ्यो, संस्कृति पनि झल्कन्थ्यो र रस राग पनि । रस रागको लागि त यो प्रसिद्ध नै मानिन्छ । लोकजीवनको अभिन्न अंगको रुपमा रहेको फगुवा त गाउँको मठ मन्दिर वा कुनै मान्यजनको घरको दरबाजा वा सम्भव भएसम्म अलिक एकान्ततिरको गोआसमा केही उत्साहित पुरुषहरु भेला भई झाल, डम्फ, झिर, ढोलक आदि बाजा बजाउँदै फगुवा गीत गाउँथे । साँच्चै फागुन महिनालाई जिवन्त यसै लोकसंस्कृतिले गर्दथे । अब ती दिनहरु कहाँ हराए ?
अहिले फगुवा एफएम रेडियोमा सीमित भएको छ । हराएको छ परम्परागत लोकधुन । फगुवाको लोकनृत्य पनि करिब करिब लोप नै भइसक्यो । आयातीत र आधुनिक गीतका फगुवाहरु अब डिजेमा सीमित भएको देखिन्छ । अहिले फगुवा प्रदर्शनमा देखिन्छ जुन रंग र अबिरको र नशामा धुत हुने संकेत बनेको छ । फगुवाको रौनक त त्यसै पनि कमजोर भएको छ । अझ पाँच दशकपहिले जस्तो फगुवाको आत्मीयता थियो, त्यो कहाँ हरायो ? हामीले हाम्रो संस्कृतिको मौलिकता दिन पर दिन हराउँदै गइरहेको देखिरहेका छौँ तर बचाउने प्रयास गरिरहेका छैनौँ । अहिले अत्यन्त शक्तिशाली बनेको स्थानीय सरकारले परम्परागत फगुवाको संस्रक्षणको लागि केही सकारात्मक कदम चाल्ने कि ?