चैत्र ०९ गते
आमाभन्दा प्यारो शब्द अरु कुनै हुनै सक्दैन । आमा नभएको भए यो संसार देख्न सकिँदैनथ्यो होला । आमाको महिमा यसै कारण संसारमा सबैले गाउने गरेका छन् । जुनसुकै धर्म वा संस्कृति वा भूगोलमा आमालाई सर्वपूज्य मानिनुपर्ने कारण यही नै हो । आमा जहिले पनि निस्वार्थ हुन्छिन्, बच्चा वा सन्तानको जन्म दिन्छिन् र आमाले आफ्नो रगत र पसिनाले बालबालिकाको जीवन सिञ्चित पार्दछिन् । आमालाई सर्वोच्च स्थान दिइने हुनाले नै शास्त्रहरुमा पनि देवीहरुलाई मा, माता, माई भनिएको हो । उदाहरणका लागि दुर्गा मा, मा दुर्गा, शीतला माई, सरस्वती माता आदि । देवी वा शक्तिहरुमा पनि आमाको छवि देखिने संस्कृति हुनु वास्तवमा आमाको सम्मान हो, आमाको सम्मानको संस्कृति हो र आमालाई सर्वोच्च मान्ने पद्धति हो । आमाभन्दा श्रेष्ठ कोही पनि हुँदैन भन्ने मान्यता हो ।
समाजमा अर्को पनि एउटा उखान प्रचलनमा रहेको जसले आमालाई सर्वमान्य मानेको देखिन्छ – माता कहिल्यै पनि कुमाता हुन सक्दिनन् । बरु पुत्र कुपुत्र हुन सक्छिन् तर माता कुमाता कहिल्यै हुन सक्दिनन् । रामायणमा रामलाई वनवास दिने निर्णय कैकेयीले गर्दा कैकेयीलाई आफ्नो निर्णयमा पछुतो लागेको छ तर रामले जन्मदात्री कौशल्याभन्दा कम नमानेको र आफूलाई कुनै दुःख नभएको बताएका छन् । रामले कौशल्या, सुमित्र र कैकेयी तिनैजना जो पिता दशरथका पत्नी छन् र कौशल्याबाट उनको जन्म भएको छ तर सबैलाई समान माताको सम्मान दिएको स्पष्ट छ । माताले आफ्ना सन्तानलाई अन्जानमा पनि दुःख दिन चाहँदिनन् भन्ने हाम्रो यथार्थ सामाजिक मान्यतामा धार्मिक वा आस्तिक विश्वास पनि रहेको छ । हाम्रो संस्कृति माताको मायाले ओतप्रोत रहेको देखिन्छ ।
आमालाई विभिन्न नामहरुले बोलाइन्छन् अर्थात् आमा शब्दका लागि विभिन्न पर्यायवाची शब्दको प्रयोग गरिन्छन् । मा, माँ, माई, माय, इया शब्दका साथै दिदी पनि आमाका लागि प्रयोग गरिने सम्बोधनजनक शब्द हुन् । आजभोलि मम्मी शब्द पनि निक्कै प्रयोगमा आउन थालेको छ । आमाका लागि जननी, जन्मदात्री शब्दको पनि सम्मानका साथ प्रयोग गरिन्छ । आमालाई धरती, सृष्टि तथा अन्य नामले पनि पुकारिएको पाइन्छ । सम्मान, हार्दिकता र आमाप्रतिको मायाले गर्दा आमाको शब्दलाई सम्बोधन गर्न माताजी, माईजी, माताश्रीजस्ता शब्दावलीको प्रयोग पनि भएको पाइन्छ । ¬¬
आमाको बारेमा जति धेरै चर्चा गरे पनि कम हुन्छ भनिन्छ । यसको अर्थ यो होइन कि आमाको बारेमा चर्चा नै गर्नु पर्दैन । आमाको बारेमा चर्चा गर्नु अनावश्यक हुन्छ भन्ने मनोविज्ञान बनाइनु पर्छ भन्ने कदापि होइन । यद्यपि आमाको परिचय धेरैले दिएको पाइन्न अर्थात् यो पनि कि आमाको परिचय आफ्नो परिचयसित गाँसिएको पाइन्न । परिचयमा जहिले पनि बुबाको नाम जोडिएर आउनु पर्ने र आमाको नाम नआउनु पर्नेमा कुनै कारण छैन । यो पितृसत्तात्मक सोचाइको मनोवैज्ञानिक बिम्ब मात्र हो । यो एकांकीपन हो र यसलाई सच्याइनु आवश्यक छ । आमालाई पनि आफ्नो परिचयको अंग बनाइनु पर्छ ।
आमालाई परिचयको अंग बनाउन आमाको परिचय आफूलाई थाहा हुन जरुरी छ । सामान्यतया आमाको परिचय कसलाई पो थाहा नहोला र ? भन्ने प्रश्न उठ्न सक्छ मनमा । प्रश्न सही पनि हो किनभने कसैलाई आमाको बारेमा थाहा छैन भन्दा आफ्नो विषयमा अज्ञान छ र आफ्नो अज्ञानता दर्शाउन यसरी प्रश्न गरेको होला भन्ने व्यंग्यभाव प्रश्नकर्ताप्रति उठ्नु अस्वाभाविक होइन । तर बुबाको परिचयको बारेमा कतै भन्नु वा लेख्नुपर्दा जति सजिलो वा जति विस्तारमा लेख्न सक्छौँ, त्यत्ति आमाको बारेमा लेख्न सकौँला र ? वास्तवमा आमाको जति नजिक बसेको भए पनि वा आमाको बारेमा जति नै धेरै कुरा जानेको भए पनि ती कुराहरु केवल बुबासित जोडिएर मात्र आएका हुन् ?
आमाको परिचय बुबासित मात्र जोडिनु एक किसिमले पितृसत्तात्मक परिवारलाई हेर्नु मात्र हो । आमाको परिचयका कम्तीमा तीन आधार हुनु पर्दछ र यी तीन आधारमा आमाको परिचय हरेक व्यक्तिले राख्ने हो भने मात्र आमाको बारेमा आफूलाई सामान्य जानकारी भएको मान्न सकिन्छ । यी तीन आधारहरु यस प्रकार छन् ः
पहिलो, आमाको नाम, आमाको जन्म मिति, जन्मस्थान, आमाको आमाको नाम अर्थात् हजुरआमा (बज्जिकामा नानी)को नाम तथा आमाको आमाको आमाको नाम अर्थात् हजुरआमा (नानी)को आमाको नाम । अझ यसभन्दा बढी जानकारी लिन आमातिरका यी तीन पुस्ताको अन्य विवरण पनि संकलन गर्न सकिन्छ, जस्तो कि कति दिदी बहिनी, को कहाँ ? तिनका कति सन्तान ? अहिले को कहाँ आदि ।
दोस्रो, आमाको बुबा (नाना)को नाम, आमाको बुबाको बुबाको नाम । र, अझ सकिन्छ भने आमाका बुबा कति दाजुभाइ, तिनीहरुको नाम र तिनीहरुको पेसा तथा अन्य कुनै महत्वपूर्ण उपलब्धि । यसै गरी बुबाको पनि बुबा कति दाजुभाइ, तिनका कति सन्तान, सन्तानमध्ये छोराछोरी कति ? तिनीहरु अहिले कहाँ छन् वा तिनीहरुसित सम्बन्धित पुस्ताहरु को को हुन् ?
तेस्रो, आमाको घर अर्थात् आफ्नो घर । यो त धेरै सजिलो छ । आमाको आमाको घर र तिनको पनि आमाको घर । सबैको पारिवारिक स्थिति । घर भनेको गाउँ हो ।
आमाका दिदी बहिनी कति जना ? दाजुभाइ कति जना ? यी त सबै आमाबाटै थाहा पाउन सकिन्छ । ती सबै कहाँ छन् र के गर्दै छन् ?
यसरी आमाको बारेमा वा आमासित सम्बन्धित विभिन्न पक्षमा जानकारीहरु संकलन गर्ने हो भने धेरै नवीन तथ्य पाउन सक्दछौँ । अनि आफ्नो परिचयलाई थप बलियो बनाउन सक्छौँ । आफ्नो परिचयको दायरा साँघुरो राखेर आफैँलाई कम चिन्नेहरु छौँ ।
परम्परागत वंशावलीको तरिका पनि पितृमैत्री मात्र रहेको देखिन्छ । कसका पुत्र को, तिनका पुत्र को ? तिनका पुत्र को वा कसका पिता को ? तिनका पिता को ? आमाको विषयमा यस प्रकार धेरै प्रश्न गरिएको पाइन्न र धेरै प्रष्ट पारिएको पनि पाइन्न । यसरी हेर्दा परम्परागत समाज विज्ञानमा आमाको जानकारी पक्षलाई नजरअन्दाज गरिएको हो कि भन्ने आभाष हुन्छ र यसको निरन्तरता अहिलेसम्म दिन खोजिएको मनोविज्ञान प्रदर्शनमा रहेको छ । आमाको बारेमा जानकारी नराख्ने अहमतापूर्ण, एकांकी र अधुरो–अपुरो परिचयलाई विजेता मनोविज्ञान मानेका छौँ कि ?
आफ्नो परिचय हुनुपर्छ । आमाको परिचय हुनुपर्छ । आफ्नो परिचयको विस्तारमा आमाको परिचयको विस्तार हुनुपर्छ । आमाको परिचय नै नदेख्ने वा आमाको संकुचित परिचय देख्नुलाई पूर्णता ठान्ने अज्ञानताबाट माथि उठेर आमाको परिचय स्थापित गराउने मनोविज्ञानलाई सिञ्चित गर्नु परेको छ । आमाबिनाको परिचयलाई अधुरो ठान्ने मनोविज्ञानको विस्तरणमा केन्द्रित हुुनु आवश्यक छ । अझ सम्भव हुन्छ भने हरेक व्यक्तिले सम्भव भएसम्मको जानकारी समेटेर आ–आफ्नो आमाको एउटा परिचयात्मक प्रोफाइल बनाउनु पर्दछ । र, अझ यदि सम्भव छ भने आमाको सम्मानका लागि स्थानीय पत्रिका वा आफ्नो अन्य प्रकाशनमा आमाको विस्तृत परिचय खुलाउने काम गरौँ । आमाको सम्मानलाई अझ विस्तार गर्न, आमाप्रति अन्यको पनि सम्मान दर्शाउन र यसको मूलमा आफ्नो परिचयको विस्तार गर्न आमासित सम्बन्धित सबै सकारात्मक पक्षमाथि प्रकाश पार्ने कि ? आमासित जोडिएका सन्दर्भहरुलाई महत्व दिने कि ? आमाको त्यागलाई कुनै मूल्यमा समेटिन सकिँदैन, आमाको सम्मानसमेत जोडिएको परिचय आउँदा गर्व गर्ने कि ?