चैत्र ०९ गते
जलबिना जीवन सम्भव छैन । यसै कारण विभिन्न ग्रहमा जीवनको अस्तित्वको लागि जलको अस्तित्वको खोजी गरिन्छ । जहाँ जल छ, त्यहाँ जीवन छ । पृथ्वी ग्रहमा जलको पर्याप्तता छ र जीवनको विविधता पनि छ । जैविक विविधताको सम्पन्नताले सुशोभित पृथ्वीमा जलको महत्वबारे सम्भवतः सबै जानकार छन् । जलको अभावको कल्पना सामान्यतया गर्न सकिँदैन तर जलको अभाव पनि जताततै हुन थालेको छ । मुख्य गरी मानव बस्ती अत्यन्त बाक्लो रहेको सहरी क्षेत्रमा पानीको समस्या हुन थालेको छ । ठूला सहरमा पानीको अभाव हुने कुरो त सामान्य हुन थालेको छ, अब अन्यत्र पनि यही हुन थालेको छ ।
जलको कमी धरतीको सतहमा पनि हुन थालेको छ । जलको सतहमा पानीको कमी हुनुले भविष्यमा पानीको संकट हुने हो कि भन्ने चिन्ता हुन थालेको छ । सिमसार, प्राकृतिक पोखरी, नदी, मूल र मुहानहरु अतिक्रमित बनेका छन् र सुक्न तथा हराउन थालेका छन् । यसै गरी सहरीकरण तथा बजारीकरणले गर्दा सडक छेउमा बनेका नालाहरु सिधै नदीमा लगेर खसालिएका छन् जसले गर्दा नदीको पानी पनि प्रद्रषित बनेका छन् । औद्योगिक फोहोरले पनि पानी प्रदूषित बनाएको छ ।
पानीको सुरक्षा कतैबाट छैन । अझ सुरक्षित पानी पनि धेरै मानिसले खान पाएका छैनन् । पानी महँगो हुँदै गएको छ । पानीको लागि धेरै प्रदेश र देशबिच तानातानको अवस्था पनि भएको छ । विश्वमा जति पानी छ, त्यसमध्ये खानेपानीको मात्रा कम छ । कृषि, औद्योगिक तथा खाने आदि कामको लागि पानी चाहिने तथा पानीका स्रोतहरु कमजोर बन्दै गएको वर्तमान अवस्थामा पानीलाई जोगाउनु आवश्यक छ । विश्व जल दिवसले पानीको सुरक्षा र पानीको सही उपयोगतर्फ पनि सचेत हुनुपर्नेतर्फ सकेत गर्दछ । जलको जीवनमाथि हस्तक्षेप कम गरौँ । जल नै जीवन हो भन्ने मन्त्रलाई सर्वदा याद राखौँ ।