चैत्र १० गते।
अहिले फेरि कोरोनाको त्रास फैलिन थालेको छ । कतै फेरि लकडाउन हुने हो कि भन्ने आशंका र डरले विस्तारै सर्वसाधारणलाई डराउन थालेको छ । कोरोनाको विस्तार हुन पुग्यो र फेरि लकडाउन हुन पुग्यो भने अबको अवस्था कस्तो होला ? व्यावसायी र विपन्न वर्गमा निकै डर देखिएको छ । गत वर्षको कोरोनाको समयमा भएको लकडाउनले समयले पु¥याएको क्षतिको कारण सर्वसाधारण बढी त्रास भएको देखिएको हो । अझ भारतको कतिपय प्रान्तमा कोरोनाको दोस्रो लहर देखा परेपछि सर्वसाधारणलाई त्रासमा पारेको हो । मनोवैज्ञानिक त्रास बढाउने काम पनि भइरहेको देखिएको छ ।
वास्तवमा कोरोनादेखि डराउनु पर्ने कुनै कारण छैन । हामी निकै कठिन दिनलाई झेलेर बाहिर निस्केका छौं । अहिले डराउनेभन्दा पनि बढी सतर्क हुनुपर्ने आवश्यकता रहेको छ । कोरोनादेखि डराएको हो भने उसले सतर्कता अपनाएको हुनुपर्छ तर अहिले सतर्कता अपनाएको देखिंदैन र खाली डरको वातावरण बनाउनेतिर लागेको देखिन्छ कतिपय मानिसहरु । भारतमा कोरोना बढ्यो भनेर डराएको हो भने उसले सतर्कता वा सजगता कतिको अपनाएको छ ? यसबारे उनलाई प्रश्न गरौं वा निजको व्यवहारको अध्ययन गरौं । यसबाट यो स्पष्ट हुन आउंछ कि वास्तवमा कोरोनाको हौवा फिंजाउनेहरु कतिको पानीमा रहेका छन् ।
कुनै पनि किसिमले समाजमा त्रासको वातावरण फैलाउनु उचित होइन । सम्भव भएसम्म भीडभाडमा नजाने, भीडभाड नगर्ने तथा मास्क लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र दिनहु साबुन पानीले हात धुने बानीलाई निरन्तरता दिऔं । साथै मनतातो पानी खाइरहौं, इम्युनिटी बढाउने खानाको प्रयोग पनि गरिरहौं । कोरोनाको संकटकालमा अपनाएका अन्य सावधानीतिर पनि ध्यान दिऔं । यसै गरी कोरोनाले हाम्रो जीवनमा पारेको प्रभावको बारेमा स्मरण गरौं र अब कोरोनालाई फेरि पनि आउन नदिन हामीले गर्नुपर्ने सबै किसिमको काम गरौं । कोरोनाको त्रास होइन कि बचावको उपाय अवलम्बन गरौं । त्रास फैलाउनेलाई आश जगाउने किसिमका प्रश्न गरौं । सचेत बनौं, सचेत रहौं र जो सचेत छन्, तिनको हौसला बुलन्द पारौं ।