चैत्र १२ गते ।
पहिला–पहिला गाँउघरतिर खाना पकाउँदा मुठिया झिक्ने चलन थियो । गरुडा निवासी सिकिला देवी बताउँछिन् – मुठिया झिकेर पनि धेरै काम चल्न सक्थ्यो । मुठिया भनेको खाना पकाउने बेलामा महिलाहरुले पकाउनका लागि नापेर ठिक पारिराखेको चामल चामलबाट एक मुठि चामल झिकेर एउटा भाँडोमा जम्मा पारी राख्नु हो । त्यो जमानामा गाउँघरमा पर्याप्त मिल नहुनु, खेतीपाती पनि पुरानै परम्परामा आधारित रहनुले सर्वसाधारणमा गरिबी अवस्था व्यापक थियो । सानातिना समस्याहरु आइरहन्थ्यो । मुख्य रुपमा घरमा खाना पु¥याउनको लागि अन्नको व्यवस्था गर्नुपर्ने जिम्मेवारी पुरुष मान्छेको रहँदै आएको तर कहिलेकाहीँ विपन्नता वा लामो समयको वर्षा आदि कारणले घरमा खानकै लागि चामल कम भएको अवस्थामा यस्तै हरेक दिन दुई छाक एक एक मुठी चामल जम्मा गरी राखेको मुठियाले नै गर्जो चलाउनु पथ्र्यो । अर्थात् एक मुठीले एक छाक वा एक दुई दिनको जीवन धान्न सकिन्थ्यो र कहिलेकाहीँ यस्तै मुठियाले छिमेकीलाई परेको बेला सहयोग गर्न सकिन्थ्यो वा ऐंचोपैंचो दिएर काम चलाइन्थ्यो तर आजभोलि यो चलन हराएको छ । कतै पनि मुठिया निकाल्ने गरेको भान्छाघरको कथा अब सुन्न पाइन्न ।
मानव जीवनमा बचतको ठूलो महत्व रहेको छ । हाम्रो देश नेपाल गरिब मुलुक र हामी यस देशका गरिब जनता हौँ । पहिलेको जस्तो गरिबीको जर्जर अवस्था नभए पनि सन्तोषजनक उन्नति पनि हुन सकेको छैन । यसको विभिन्न कारक तत्वहरु होलान् । कहिले प्रकृतिबाट ठगिएर त कहिले गाउँघरका टाठाबाठा भनाउँदाहरुबाट ठगिएर वा अन्य कुनै पनि कारण हुन सक्छ । मानवलाई मानव भई बाँच्न, भोलिको दिनमा आइपर्ने समस्याहरुबाट छुट्कारा पाउन वा शिक्षा, स्वास्थ्य त्यस्तै भौतिक सुखसुविधाका कुराहरुका लागि मात्र नभई भैपरी आउने खर्चको लागि पनि बचतको ठूलो महत्व र स्थान रहेको पाइन्छ । हामीले भविष्य सरल र सहज बनाउन पनि जीवनमा बचतको ठूलो भूमिका छ भन्ने बुझेका छौँ तर अझ बुझाउन बाँकी पनि रहेको छ । केही सचेत मानिसहरुमा थोरै भए पनि बचत गर्ने बानी पहिलेदेखि हुन्छ र उनीहरुलाई कुनै प्रकारको समस्या अचानक आइपर्दा आत्तिनु पर्ने वा खोज्नु पर्ने बाध्यता नपर्न पनि सक्छ वा परे पनि कम मात्रामा पर्न सक्छ । यसको मानसिक वा भौतिक नियमित बचतले गरेको हुन्छ । अहिले थरी थरीका बैंकहरु भएका छन्, अनेक किसिमका सुविधाहरुको व्यवस्था गरेर ग्राहकलाई आफूतिर तान्ने होडबाजी चलेको छ । बिदेश कमाउन जानेहरुका पनि संख्या कम छैन र पनि हाम्रो समाजमा समस्या कम भएको छैन । बचत गर्ने बानी नबसेको परिवार वा समुदायमा तुलनात्मक रुपमा आर्थिक समस्या बढी परिरहन्छ । गाउँघरतिर देखिएको मुख्य समस्या भनेको कमाउन्जेल खुब खर्च पनि गर्न जानेका हुन्छन् र काम छोडेपछि वा हटाइएपछि फेरि उनीहरुमा पहिलाकै समस्याहरु आउन थाल्छन् । यस्तो हुनुमा हाम्रो तलब कम हुनु पनि कारण हुन सक्छ वा भनँु हाम्रो आम्दानी कम हुनु पनि हो । हाम्रो समाजमा देखिएको अर्को समस्या भनेको कमाउने हात कम हुनु र खाने मुख बढी हुनु हो । हाम्रो खानपान, हाम्रो जीवनशैली पनि नमिलेको कारण समेत हामी बढी बिरामी हुने गर्छौ र आर्थिक मार सहनुपर्ने बाध्यता हाम्रो सामु आइपर्छ तथा आइरहन्छ । साहुको चर्को ब्याजमा परेकाहरु पनि बचत गर्न नसक्ने अवस्थाका हुन्छन् । साहुको ब्याज तिर्ने कि बचत गर्ने ? दुवै गर्ने हो भने भोकै बस्नु पर्ने हुन्छ । यसले गर्दा उनीहरुको जीवनलाई नै यसले प्रभावित पार्दछ । छोराछोरीको शिक्षा, राम्रो स्वास्थ्य आदि दिन नसकेपछि देशको लागि चाहिने दक्ष, योग्य नागरिक उत्पादनमा समेत यसले असर पार्दछ । गुणस्तरीय जीवन हुन नसकेपछि परिवार, समाज र देश प्रभावित हुनु स्वाभाविक हो ।
सरकारको तर्फबाट पनि गरिबीलाई लक्ष्य गर्दै गरिबी निवारण कार्यक्रम सञ्चालनमा ल्याएको पनि धेरै भयो । कम ब्याज र सहुलियत दरमा ऋण उपलब्ध गराएर मान्छेमा कमाउने, खाने र बचत गर्ने तीनवटै बानीको बिकास गराउन खोजेको छ । नेपालको संविधानले पनि सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दै सबै लिग, क्षेत्र र समुदायभित्रका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने नीति लिएको छ । तर हाम्रो समाजमा हुने खानेले अवसर पाउने र गरिबहरु अवसरबाट बंचित हुनुपर्ने अवस्था पनि देखिन्छ, यसकारण पनि बचतमा उति रुचि नगएको होला । वास्तवमा खर्चबाट बचेको अंश नै बचत हुने हुँदा यसमा आम्दानीको ठूलो भूमिका देखिन आउँछ । कहिलेकाही विदेशतिर देखिएको कुरो स्कूल पढ्ने बच्चाहरुले आफूले घरबाट टिफिन खान पाएको पैसा जम्मा गरेर आफू जस्तै स–साना बालकहरु जो समस्यामा छन् वा पढ्न लेख्न पाएका छैन्न् त्यस्तालाई सहयोग गर्ने गरेको सुनिन्छ । हामी चाहेमा यस्ता बालबालिकाबाट पनि धेरै कुरो सिक्ने मौका पाउन सक्छौं । हामी आफ्नो लागि बचत गर्न सकेका छैनौँ भने केही बालबालिकाहरु अरुहरुका लागि आफ्नो खाजाको रकम बचत गरेर सहयोग पु¥याउने गरेका छन् । अहिले हामी फेरि कोरोनाको हल्ला सुनिरहेको छौँ । एक वर्षमा यसले आर्थिक क्षेत्रमा पारेको असर कम नहुँदै यसले फेरि आफ्नो डरलाग्दो रुप देखाउन थालेको छ र मानिसहरु यसले स्वास्थ्यमा पार्ने असर त छँदैछ सँगसगै आर्थिक पक्षलाई पनि लिएर चिन्तित देखिन थालेको अवस्था छ र यदि देशमा फेरि लकडाउन लाउनु पर्ने अवस्था आयो भने भोलिको अवस्था कस्तो हुने होला ? अनुमान गर्न पनि गाहे छ किनकि मानिस अहिले सामान्य अवस्थामा फर्किन नपाउँदै फेरि आर्थिक संकट व्यहोर्नु पर्दा कल्पना गर्न नसकिने अवस्थाको सृजना हुन सक्छ । कतिपयले त कोरोना कालमा गुमाएका जागिर पाउन नसकेर जागिरको खोजीमा भौतारिनेको संख्यामा कमी आइ नसक्दै अर्को ठूलो समस्या आउने लक्षण देखापर्न थालेको छ । यस्तो अवस्थामा हामी बचत गर्ने कुरो त टाढाकै कुरो हो त्यस्तो परिस्थितिमा दुई छाक खाएर बाँच्न पाउनु पनि ठूलो कुरो हुन जान्छ । तर के भने वास्तवमा पहिलेदेखि बचत गर्ने बानी परेको छ भने यस्तै यस्तै परिस्थ्तििमा हामीले गरेका बचतले हामीलाई बाँच्न थोरै भए पनि सहयोग गर्छ, भरथेग गर्छ । हाम्रो देशको अर्को समस्याको रुपमा रहेको बेरोजगारी समस्या पनि एउटा ठूलो समस्याको रुपमा देखिएको छ । देशका नवयुवाहरु जो बेरोजगार छन् तिनीहरु त समस्यामा छँदैछन् साथ–साथै देशको चौतर्फी विकासमा यसले पारेको असर पनि कम छैन । यही कारण हो युवाहरु बिदेश पलायन भैरहेका छन् र देशले गुमाउनु परेको छ दक्ष जनशक्ति । युवा कुनै पनि देशको मेरुदण्ड हो तर ज्ञान र सीप हुँदाहँुदै यदि बेरोजगारी भएर बस्नु पर्दाको अवस्था कल्पना गर्न पनि गाह्रो हुने अवस्था हो यस परिस्थितिमा बचतको कुरा हाँसो लाग्दो हुन सक्छ । तसर्थ मानिसको जीवन सरल र सहज बाँच्न योग्य बनाउन बचत महत्वपूर्ण भए पनि यसका लागि धेरै कुराहरु आवश्यक छन् । वास्तवमा हरेक मानिस सुखी सम्पन्न हुन चाहन्छ तर चाहेर पनि मात्र केही हुदो रहेनछ भन्ने कुरो हामी गाउँघरका विभिन्न उदाहरणहरुलाई हेर्न सक्छौ ।
बचत गर्ने एउटा बानी, परिपाटी हो । जतिसुकै आम्दानी छ भने पनि त्यसैमा थोरै भए पनि बचत गर्न सकिन्छ । दशजनाको परिवारमा एक मुठी चामल झिक्दा खासै असर पर्दैन तर हरेक दिन बिहान र बेलुका एक एक मुठी चामल जम्मा गर्ने हो भने एक महिनामा साठी मुठी हुन पुग्छ । दुई महिनामा त एक दिन खान पनि पुग्ला । यसै गरी जति थोरै आय भए पनि त्यसैबाट अलिकति मात्र होओस्, तर बचत भने गर्नुपर्छ । बचतले समयमा ठूलो काम दिन्छ भन्ने यथार्थलाई मुख्य गरी विपन्न समुदायले बुझ्नु आवश्यक रहेको छ ।