चैत्र १२ गते ।
मातृभाषामा शिक्षाको अवसर आउँदै छ । यस किसिमको कुरा वा तर्क धेरै पहिलेदेखि सुनिँदै आएको छ तर अझै पनि यसको प्रयोग हुन सकेको पाइएको छैन । मातृभाषामा शिक्षा नदिँदा हाम्रो शिक्षाको हविगत कस्तो छ भन्ने कुरा पनि बुझ्न धेरै कठिन छैन ।
मातृभाषालाई अवहेलना गर्ने हाम्रो संस्कार भइसकेको हो कि ? सबै आफ्ना कुरा नराम्रा नै होइनन् । मातृभाषाजस्तो सम्पत्तिको मूल्यलाई बुझ्न नसक्दा हाम्रो शिक्षाको स्तर कहाँ पुगेको छ भन्ने कुरा नै बुझ्न अप्ठ्यारो भएको छ । वास्तवमा मातृभाषामा शिक्षाको व्यवस्था नहुँदा हामी अरु भाषाको गुलामी गरेका छौँ र भाषामा अरुको गुलाम बन्नुलाई गर्व गर्न थालेका छौँ । अरुको गुलाम अर्थात् दास हुनुलाई गर्वको विषय ठान्ने हाम्रो समाजले मातृभाषा र त्यसपछि देशको प्रमुख भाषाको कुरा बुझ्नु ज्यादै उचित हुन्छ ।
आफ्नो सम्मानको लागि मातृभाषा बज्जिकामा शिक्षाको सुरुआत गराउनै पर्दछ । जबसम्म बज्जिका भाषामा शिक्षाको व्यवस्था हुँदैन तबसम्म रोजगारी पनि हुँदैन । रोजगारीको लागि अर्को भाषाको सहारा लिनु पर्दछ । अहिले निकै शक्तिशाली देखिएका स्थानीय सरकारहरुले अरुको मुख नताकी मातृभाषा बज्जिकामा सबै नेपाली र अंग्रेजी विषय बाहेक बाँकी सबै विषयको पठनपाठनको व्यवस्था गर्नु आवश्यक छ । यसै गरी हरेक विद्यालयमा र हरेक कक्षामा अनिवार्य रुपमा बज्जिका विषयलाई ऐच्छिक तर अनिवार्य विषयको रुपमा समावेश गर्नु आवश्यक छ ।
मातृभाषामा शिक्षाको व्यवस्था गर्न नसक्नेले शिक्षा क्षेत्रमा केही पनि गर्न सकेका छैनन् भन्दा पनि हुन्छ । आफ्नो पालिकालाई कुन कुन क्षेत्रमा आत्मनिर्भर बनाउन सके त ? सबैभन्दा सजिलो तर निकै महत्वपूर्ण हुने मातृभाषा शिक्षामा त आत्मनिर्भर बन्न सकेन भने केही गरेको देखिँदैन, ठहरिँदैन बौद्धिक रुपमा । भौतिक उन्नतिलाई मात्र विकास ठान्ने परिपाटी त पुरानै हो तर मातृभाषालाई पालिकाको कामकाजको भाषा र शिक्षाको सम्पूर्ण माध्यम बनाउने अवसरबाट मात्र वर्तमान स्थानीय सरकारहरु वञ्चित भइरहेका छैनन्, इतिहास बनाउने कामबाट पनि वञ्चित भएका छन् । अझै पनि समय छ, मातृभाषामा ठोस काम गरेर देखाउन सकिन्छ ।