चैत्र १८ गते।
होलीलाई उमंगको पर्व मानिन्छ र यसलाई सदभावको पर्व पनि मानिन्छ । कोरोनाको कठिन समयमा यसपटकको फगुआ उत्साह, उमंग र सदभावका साथ सम्पन्न भएको छ ।
केही छिटफुट सानातिना घटनाहरू अवश्य भएका छन् । मुख्य गरी होरीको दिन समग्रमा जसरी शान्तिपूर्ण रह्यो, यसलाई होरीजस्तो हुर्दंगको पर्वमा पनि सर्वसाधारणमा सुझबुझपूर्णता बढेको र हरेक नागरिक जिम्मेवार बनेको पाइएको छ । यो निकै सुखद पक्ष हो ।
यद्यपि होरी हराएको छ । मौलिक होरीको खोजी गर्नेहरूले गाउँ गाउँ बरालिनु परेको पनि देखिएको छ । कहाँ छ त होरीको मौलिक रूप ? कुन गाउँमा होरीलाई आफ्नो पुरानो साजबाज र पुरानो वास्तविक शैलीमा मनाइएको वा मानिएको पाइन्छ त ? यसरी खोज्नेहरूले होरीको दिन बरालिनु परेको देखिएको थियो । फेरि पनि यसरी मौलिक होरीको खोजी हुनु पनि सुखद पक्ष हो ।
होरीमा डिजेको प्रयोग र आयातीत गीतको प्रयोगले मौलिकतामाथि आक्रमण गरिरहेको वर्तमान सन्दर्भमा कतिपय ठाउँमा डम्फ, भिर, झाल, खँजुरीजस्तो बाजाको प्रयोग गरेर होरी खेलेको वा गाएको पनि पाइनु निकै सुखद पक्ष रहेको छ । अझ कतिपय ठाउँमा यसलाई बचाउनको लागि सचेत अभियान चलाइएको छ । बाजादेखि गीतसम्म पूर्णतया मौलिक रहेका होरी टोलीलाई सम्मान गरिनु पनि आवश्यक छ । सम्मानको परम्परा बसाइनुपर्छ अनि होरी हाम्रो मौलिक स्वरूपमा रहन सक्छ ।
फगुआको मौलिकता हाम्रो सम्पत्ति हो, हाम्रो यस सामाजिक सम्पत्तिको सुरक्षा गर्नुपर्दछ भनेर हुँदैन । यसको सुरक्षा गर्न चेतनशील मानिसले सही समयमा सही कदम चाल्नु पर्दछ । मुख्य गरी स्थानीय सरकारको सहयोगले मौलिक होरीको संरक्षण सम्भव हुने देखिन्छ । स्थानीय सरकारले होरीको संरक्षणमा विशेष योगदान दिन होरीको मौलिक गीत र बाजा बजाउँदै अभिनय गर्ने प्रतिस्पर्धाहरू गराउन सक्छन् जसले गर्दा कला र कलाकार सबैको सम्मान होओस् र समाजले आफ्नो विशिष्टता कायम गर्न सकोस् ।
यसपटकको शान्तिपूर्ण होरी वा फगुआले अब यस पर्वको सचेत समृद्धि खोजेको छ भन्ने कुरो प्रष्ट भएको छ ।