चैत २० गते ।
नेपाल पत्रकार महासंघको देशभरको निर्वाचन एक साथ यही महिनामा हुँदैछ । अब एक हप्ताभन्दा पनि कम समय रहेको छ चुनावको लागि । चैत २५ गते हुन गइरहेको केन्द्र, प्रदेश तथा जिल्लाको नेतृत्व चयनका लागि नेपाली पत्रकारहरु अहिले चुनाव केन्द्रित भएका छन् । पहिले फरक मितिमा हुने यही निर्वाचन एकैपटक हुने मिति घोषणा भएसँगै चहलपहल त बढेकै थियो तर निर्वाचनको तिथि नजिकिँदै जाँदा भने झन् माहोल नै पूरा तात्न थालेकोजस्तो देखिएको छ ।
पत्रकारहरुको निर्वाचनप्रति सबै क्षेत्रको चासो देखिएको छ । उद्योगी, व्यावसायी, शिक्षक, बुद्धिजीवी तथा अन्य वर्गमा पनि चुनावको चासो बढेको देखिएको छ । कतै दुई चार जना पत्रकारहरु एक ठाउँमा बसेर कुनै छलफल गरेका छन् भने त्यहाँ अवश्य नै चुनावको चर्चा भइरहेको छ भन्ने अरुले अनुमान लगाउन थाल्छन् । साथै केही बेरमै कोही न कोही पत्रकारको मोबाइलमा चुनावसित सम्बन्धित फोन वा म्यासेज आइरहेको पनि हुन्छ ।
स्वाभाविक पनि हो । पत्रकारिता सबै क्षेत्रसित जोडिएको पेसा पनि हो । यसलाई कतिपयले चौथो अंग पनि मान्ने गरेका छन् । सबै वर्ग र समुदायको पत्रकारिता र पत्रकारप्रति केही आशा वा अपेक्षा हुन्छ । पत्रकारितालाई निमुखाको बोली पनि भन्ने गरिएको पाइन्छ । बोल्न नसक्नेको आवाज पत्रकारिता भएको मानिएकोले देशभरका पत्रकारिता पेसामा रहेकाहरुको साझा संस्थाको तीन तहको एकैसाथ हुन गइरहेको निर्वाचनप्रति सबैको चासो हुनु स्वाभाविकै हो ।
नेपाली पत्रकारहरुको साझा सस्था नेपाल पत्रकार महासंघले जिल्लादेखि प्रदेश र केन्द्रसम्म एउटा प्रतिष्ठित संस्थाको हैसियत राख्दै आएको छ । सम्पूर्ण सञ्चारकर्मीको साझा आस्थाको केन्द्र भएकोले पनि अहिले यसको निर्वाचनप्रति उत्सुकता बढेको हो । यस उत्सुकताभित्र पत्रकारहरुप्रति समाजको विश्वास पनि स्पष्टिएको देखिएको छ ।