चैत्र २३ गते।
अहिलेको तथ्यांकले रौतहटको शिक्षालाई निकै कमजोर देखाएको छ । वि.सं. २०६८ को तथ्यांकले देशको सबैभन्दा कम साक्षर जिल्लामा रौतहटको नाम आएको थियो र त्यस समयदेखि अहिलेसम्म त्यही तथ्यांकको आधारमा रौतहटलाई सबैभन्दा निरक्षर जिल्ला मानिँदै आएको छ । यो जिल्ला सबैभन्दा निरक्षर हो भन्ने तथ्यांकले देखाउँदा त्यसलाई अस्वीकार गर्ने वा नगर्ने भन्ने पक्ष र प्रश्न रहँदैन । देशको तथ्यांकले देखाएको हो र अब त्यो तथ्यांक लिइएको पनि एक दशक भइसकेको छ करिब । अबको एक महिनामा यो देश जनगणनामय हुन्छ र अबको दुई महिनामा देश अर्को जनगणनामा प्रवेश गरिसकेको हुन्छ । देशको जनगणनाले देशको तथ्यांकीय विवरण संकलन गरी आगामी एक वर्षभित्र नै सबै विवरण सार्वजनिक हुने देखिएको छ ।
देशको सबै विवरण आउँदा वडा र पालिका तथा प्रदेश र देशस्तरमा आउँछ । यसरी आउँदा फेरि जिल्लागत दृष्टिकोणले पनि विश्लेषण हुन सक्छ । जिल्लागत दृष्टिकोणमा देशको सबै तथ्यांक सार्वजनिक वा विश्लेषण हुँदा फेरि रौतहट कहाँ पुग्यो ? दश वर्षमा शिक्षा र मानव विकास सूचकांकको अन्य क्षेत्रमा देशले केही प्रगति ग¥यो कि गरेन ? यस देशका नागरिकको स्वास्थ्य, आय, आयु, शिक्षाजस्ता महत्वपूर्ण पक्षमा के कस्तो सुधार भयो र फेरि रौतहट कहाँ रह्यो ? रौतहटको शिक्षाको अवस्था के कस्तो रह्यो भन्ने विश्लेषण पनि गरिन्छ । नगरिने होइन र गर्नुपर्छ पनि । देशले जनगणना दिवस हरेक वर्षको असार ८ गतेलाई मनाउँदै आएको छ भने असार ८ गतेलाई नै आधार मानेर देशको जनगणना गर्ने चलन पनि रहेको छ अहिलेसम्म । यस अर्थमा यस देशको साथै यस जिल्लाको शैक्षिक अवस्थाको वास्तविकता त यस जनगणनाको अन्तिम नतिजा आएपछि नै थाहा हुन्छ तर अहिलेको अवस्थामा यस जिल्लाको शैक्षिक स्थिति कस्तो छ ? यो पनि विचारणीय पक्ष रहेको छ । रौतहटको शिक्षाको वर्तमान अवस्थाको बारेमा यहाँ छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।
आसपासका जिल्लामा विद्यालय स्थापना हुनुपूर्व नै रौतहटमा जुद्ध स्कुलको स्थापना भएको हो । अहिले जुद्ध माध्यमिक विद्यालयको नामले परिचित सदरमुकाम गौरको ठूलो हाइस्कुल यस जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो । अहिले यस जिल्लामा १६ वटा नगरपालिका र दुई गाउँपालिका रहेका छन् । नगरपालिकाको दृष्टिकोणले देशको सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट नै भएको छ भने सम्भवतः सबैभन्दा कम गाउँपालिका भएको जिल्लाको रुपमा पनि रौतहटको पहिचान स्थापित हुँदैछ । यदि नगरपालिका नै बढी छ भने शिक्षाको अवस्थामा पक्कै सुधार भएको हुनुपर्छ भन्ने आमनागरिकको बुझाइ हुनुपर्छ ।
यस जिल्लामा स्थानीय ५३ र संस्थागत १०० तथा सामुदायिक ४६१ गरी ६१४ बालविकास केन्द्रहरु संचालित छन् । यसबाट यो बुझ्न सकिन्छ कि यति धेरै बालविकास केन्द्रहरुमा हजारौँ बालबालिकाले पढाइको पहिलो खुट्किला टेकेका छन् । रौतहटमा कक्षा १ देखि ५ सम्म सञ्चालन हुने आधारभूत विद्यालयको संख्या १९३ रहेका जसमध्ये ७० वटा संस्थागत विद्यालय रहेको देखिन्छ । यसै गरी जिल्लामा ७ वटा संस्थागत आधारभूत विद्यालय (कक्षा १देखि ८ सम्म सञ्चालित) गरी जम्मा विद्यालयको संख्या ९१ रहेको छ । कक्षा १ देखि कक्षा १० सम्म २५ वटा सामुदायिक माध्यमिक विद्यालय र १७ वटा संस्थागत माध्यमिक विद्यालय गरी जिल्लामा माध्यमिक विद्यालयको संख्या ४२ रहेको छ । यसै गरी कक्षा १ देखि कक्षा १२ सम्म सञ्चालित माध्यमिक विद्यालय (पहिलेको शब्दावलीमा उच्च माध्यमिक विद्यालय) को ६ वटा संस्थागत र ५४ वटा सामुदायिक गरी ६० वटा रहेका छन् । जिल्लामा नमुना विद्यालयको संख्या ११ रहेको छ भने सामुदायिक ६ र संस्थागत १२ गरी १८ वटा प्राविधिक विद्यालय पनि रहेका छन् । जिल्लामा सामुदायिक अध्ययन ४० वटा रहेका छन् । जिल्लामा शून्य दरबन्दीमा सञ्चालनमा रहेका विद्यालयहरुको संख्या पनि पर्याप्त छ । यस्ता विद्यालयको संख्या २५ रहेको छ । जिल्लामा ७६ संस्थागत र २० सामुदायिक गरी धार्मिक विद्यालयको संख्या ९६ रहेको छ ।
जिल्लामा विद्यार्थीको संख्या पनि पर्याप्त रहेको देखिन्छ । चालू शैक्षिक सत्रमा जिल्लामा बालविकास केन्द्रमा ८ हजार ४ सय ७८ बालबालिका अध्ययनरत छन् । जिल्लाका सामुदायिक, संस्थागत, धार्मिक र बालविकास गरी सबै किसिमका विद्यालयमा गरी यस शैक्षिक सत्रमा १ लाख ६६ हजार २९४ जना विद्यार्थी अध्ययनरत छन् । यसरी जिल्लामा विद्यालयको संख्या पनि पर्याप्त रहेको र विद्यालयमा विद्यार्थी पनि पर्याप्त रहेको देख्न सकिन्छ ।
जिल्लामा विद्यार्थीको तुलनामा शिक्षकको संख्या कम भएको गुनासो जहिले पनि हुने गरेको छ । जिल्लामा विद्यार्थीको चाप अत्यधिक रहेको छ जबकि त्यसको तुलनामा शिक्षकको उपलब्धता नरहेको बताइन्छ । शिक्षकको संख्या अपर्याप्त भएको कारण शिक्षाको गुणस्तरमा प्रभाव परेको देखिन्छ । जिल्लामा बालविकास केन्द्रको लागि ४६१ दरबन्दी रहेका छन् । यसै गरी कक्षा १ देखि ५ सम्मको लागि आधारभूत शिक्षकको दरबन्दी १०५१ तथा कक्षा १ देखि ८ सम्मको आधारभूत दरबन्दी १७४ रहेका छन् । कक्षा १ देखि ८ सम्मको दरबन्दी संख्या जम्मा १२२५ रहेका छन् भने यसै तहको लागि राहत दरबन्दी प्राविमा ५११ र निमाविमा २४ रहेका छन् । जिल्लामा १९० माध्यमिक शिक्षक दरबन्दी रहेकोमा थप ४८ वटा राहत दरबन्दी रहेका छन् भने उच्च माध्यमिक दरबन्दी ७४ वटा रहेको छ । जिल्लामा प्राविधिक शिक्षकको दरबन्दी पनि ४८ रहेको छ । यसै गरी सामुदायिक अध्ययन केन्द्रमा ४०, शून्य दरबन्दीमा २० र धार्मिक विद्यालयमा २० दरबन्दी रहेको पनि तथ्यांक रहेको छ । जिल्लामा दरबन्दीको संख्या विद्यार्थीको तुलनामा न्युन भएकोले बालविकास केन्द्रमा ५३, प्राथमिक ६२३, निम्न माध्यमिक ५२६, माध्यमिक ४०० दरबन्दी प्रस्ताव गरिएको छ । यो प्रस्ताव गरिएको दरबन्दी भनेको सरकारले तोकेको मापदन्डअनुसार विद्यार्थीको तुलनामा शिक्षक संख्या अपुग रहेको भनेर बुझ्दा पनि हुने देखिन्छ । यसरी जिल्लामा हजारौँ शिक्षक दरबन्दी अझै आवश्यक छ भन्ने बुझ्नुपर्ने हुन्छ ।
जिल्लामा स्नातक पढाइ हुने क्याम्पसको संख्या पनि पर्याप्त रहेको छ । सुबलाल भागवत बहुमुखी क्याम्पस सन्तपुर, सिन्दुरेघारी बहुमुखी क्याम्पस डुमरिया २, श्री जुद्ध क्याम्पस गौर, ओम कलेज सन्तपुर, महर्षि बाल्मीकि क्याम्पस गौर, मध्यरौतहट बहुमुखी क्याम्पस गरुडा, लक्ष्मीश्री बहुमुखी क्याम्पस समनपुर, केवल रामसुरत क्याम्पस सिमराभवानीपुर, कटहरिया बहुमुखी क्याम्पस कटहरिया, जयकिसान बहुमुखी क्याम्पस धरहरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, दुधियवा क्याम्पस दुधिअवा, चन्द्रनिगाहपुर पाथीभारा बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, ब्रह्मज्योति बहमुखी क्याम्पस लौकाहा, बागमती बहुमुखी क्याम्पस पिपरा भलोहिया जस्ता क्याम्पसहरु जिल्लामा सञ्चालनमा रहेका छन् । यी क्याम्पसहरुमा स्नातक सञ्चालन हुन्छन् भने स्नातकोत्तर तहको कुनै विषयको अनुमति लिएर जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर तथा गौरीशंकर यादव बहुमुखी क्याम्पस गौर गरी दुवैले कक्षा सञ्चालन गरेको सुनिन्छ भने स्नातकोत्तर तहकै लागि पहिलोचोटि मध्यरौतहट बहुमुखी क्याम्पसले औपचारिक पहल गरेको छ ।
शिक्षाको वातावरण त्यत्ति अनुकूल नरहेको भनिएको यस जिल्लाबाट वर्षेनी हजारौँ विद्यार्थी बाहिर पढ्न जाने गरेका छन् । यहाँको शिक्षाको गुणस्तर कमजोर रहेको मानिएकोले यसो भनिएको हुन सक्छ । एक त यो जिल्लामा निरक्षरता देशकै सबैभन्दा बढी रहेको तथा दोस्रो विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम रहेको र तेस्रो विभिन्न कारणले दरबन्दीहरु पनि रिक्त रहेको अवस्थालाई समेत विचार गर्नुपर्ने हुन्छ । यी सब तथ्य र तथ्यांकलाई हेरेर एउटा कुरा के स्पष्ट हुन सक्छ भने आगामी जेठ असारमा हुन गइरहेको जनगणनाले देशमा शिक्षाको अवस्थाको तुलनामा रौतहटको शिक्षाको अवस्थामा धेरै सुधार भएको त नदेखाउला तर यो जिल्ला जसरी अहिलेसम्म साक्षरतामा सबैभन्दा पछाडि परेको देखिएको छ, यही अवस्था नरहला कि ?