रौशन कुमार चौधरी
भदौं ३१ गते । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालसहित ११ जना विरुद्ध लागेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । कटहरिया नगरपालिका(२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा आर्थिक वर्ष २०७८÷०७९ मा टायल्सको कामका लागि बजेट विनियोजन गरिएको थियो।
स्वीकृत लागत अनुमानअनुसार कार्य नगरी कमसल सामाग्री प्रयोग गरेर काम गरिएको र यसमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको थियो। छानबिनको क्रममा नगरपालिकाको टायल्सको काममा मापदण्डअनुसार काम नभएको र बजेटको दुरुपयोग भएको आरोप लगाइएको थियो।
अनियमितताको गम्भीर आरोप लागेपछि अख्तियारले नगर प्रमुख जैसवालसहित अन्य कर्मचारी र सम्बन्धित ठेकेदारहरूमाथि छानबिन गरेको थियो। छानबिनपछि मुद्दा विशेष अदालतमा पुगेको थियो । अदालतमा भएका सुनुवाइहरूपछि, अख्तियारले प्रस्तुत गरेका प्रमाणहरू अपर्याप्त भएको ठहर गर्दै अदालतले नगर प्रमुख अजय प्रकाश जैसवाल, उप प्रमुख रिता देवीसहित ११ जनालाई सफाइ दिएको छ। अदालतले कुनै स्पष्ट प्रमाण र सबुत नपाएपछि उनीहरूलाई दोषमुक्त गर्दै मुद्दा खारेज गरेको हो।
अख्तियारले अनुसन्धानको क्रममा सामुदायिक भवनमा टायल्स जडानको काममा अनियमितता भएको प्रमाण पाएको थियो। अनुसन्धानका आधारमा अख्तियारले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसाभन्दा बढी रकम अनियमित रुपमा भुक्तानी लिइएको ठहर गरेको थियो। भ्रष्टाचारजन्य कसुर गरेको ठहर गर्दै अख्तियारले नगर प्रमुख अजय प्रकाश जैसवाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेश कुमार साहसहितका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय ‘ग’ र ‘ङ’ अनुसार बिगो कायम गरी सोही रकम बराबर जरिवाना र कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। अख्तियारको अनुसन्धानले काम सम्पन्न गर्नुपर्ने बजेटको दुरुपयोग भएको पुष्टि गरे पनि, विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको हो।
विशेष अदालतको फैसलापछि नगर प्रमुख जैसवालसहित सबै प्रतिवादीहरूले आफूमाथि लागेको आरोप गलत रहेको र उनीहरूले कुनै पनि प्रकारको अनियमितता नगरेको दाबी गरेका छन्। तर, विशेष अदालतले उक्त मुद्दामा न्यायिक सुनुवाई गर्दै नगर प्रमुख अजय प्रकाश जैसवाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेश कुमार साह लगायत सबैलाई सफाइ दिएको छ । अदालतको निर्णय अनुसार उनीहरूलाई भ्रष्टाचारको कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिइएको हो ।
अदालतको निर्णयले उनीहरूको निर्दोषिता प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् । यस घटनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयप्रति प्रश्न उठाएको छ भने स्थानीय राजनीतिक क्षेत्रमा पनि यसले तरंग ल्याएको छ। यो निर्णयपछि नगर प्रमुख जैसवालले आफू निर्दोष रहेको पुष्टि भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनले जनताको विकासका लागि आफू निरन्तर क्रियाशील रहेको र यो आरोप राजनीतिक उद्देश्यले लगाइएको बताए ।