चैत्र २३ गते।
नेपाल पत्रकार महासंघका जिम्मेवार व्यक्ति तथा सदस्यताको माग गर्दै आन्दोलनमा रहेका आन्दोलनकारी सक्रिय पत्रकारहरुबीच भएको सहमति स्वागतयोग्य रहेको छ । दुई पक्षले शान्तिपूर्ण वातावरणमा सहमति गरेका छन् र आन्दोलन स्थगित भएको छ । जिल्लामा सक्रिय पत्रकारहरुको अस्तित्व पनि महत्वपूर्ण रहेको र तिनले उठाएका मागहरु जायज भएको कुरा सहमतिले स्पष्ट भएको छ भने सहमति गरेर चुनाव हुने वातावरण बनाइदिएर आन्दोलनकारी पत्रकारहरुले पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएका छन् भन्ने पनि स्पष्ट भएको छ ।
रौतहटमा सक्रिय रहेका पत्रकारहरुले सदस्यता पाउनु पर्दछ भन्ने माग नयाँ होइन र सम्बोधन हुनुपर्छ भन्ने कुरामा पनि कसैको दुई मत थिएन । तर विभिन्न कारणले गर्दा सक्रिय पत्रकारहरु पनि सदस्यता लिनबाट रोकिएका थिए र अब आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका थिए । आन्दोलन गरेर भए पनि सदस्यताको लागि आफूहरु योग्य भएको भन्ने कुरा देशव्यापी रुपमा स्थापित गरेका छन् सक्रिय पत्रकारहरुले । शान्तिपूर्ण आन्दोलन गरेर आफूहरुले सदस्यता पाउनुपर्छ भन्ने कुरा लिखित सहमतिमा पु¥याउनु एकातिर आन्दोलनको दस्तावेज तयार भएको छ भने अर्कोतिर आन्दोलन गरेर सदस्यता प्राप्त गरेको भन्ने उदाहरण पनि दिन सफल भएका छन् ।
हो, यही २५ चैतमा हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनपछि आउने नयाँ कार्य समितिको पहिलो बैठकबाट सदस्यताको काम सल्टाउने र प्रदेश तथा केन्द्रमा सिफारिश गर्ने सहमति हुनु आफैमा सुखद पक्ष हो र नयाँ कार्य समितिले पनि पहिलो बैठकबाटै सदस्यताको लागि कार्य गर्नु आफैँमा पनि सन्तोषप्रद नवीन सुरुआत हुने देखिन्छ । अब जिल्लाका सक्रिय सदस्यहरु जति सबैले पत्रकारिता पेसामा आफ्नो सबैभन्दा ठूलो साझा आस्थाको प्रतीकको रुपमा रहेको सदस्य हुँ भन्न पाउने आशा जगाएको देखिएको छ । नेपाल पत्रकार महासंघको म पनि सदस्य हुँ भन्ने गर्व प्राप्त गर्ने आशा जागेपछि पत्रकारहरु सन्तुष्ट पनि देखिएका छन् । जो सदस्य छन् ती सबैले नै दुई पक्षबीच भएको सहमतिको स्वागत गरेका छन् । शान्तिपूर्ण आन्दोलनपश्चात् भद्र सहमतिमा पुगेका दुवै पक्षलाई हार्दिक बधाई र अब कार्यान्वयनको सफलताको शुभकामना पनि ।