चैत्र २७ गते
विस्तारै गर्मी चढ्दै गएको छ । गर्मीको समयले तराई मधेसमा निकै अप्ठ्यारो पार्ने गरेको छ । यसपटक गत सात महिनाभन्दा लामो समयदेखि पानी परेको छैन । हुन त वायु प्रदूषणले गर्दा आकाश धुम्मिएको छ र अझै खासै धेरै गर्मी हुन सकेको छैन तर पनि गर्मी अब विस्तारै बढ्दै गएको छ । गर्मीसँगै सुख्खापन पनि बढ्दै गएको छ । गर्मी र सुख्खापनले गर्दा सबैभन्दा बढी डर आगलागीको हुने गर्दछ । आगलागीको घटनाबाट सावधान हुनु र गराउनु अत्यावश्यक छ । आगलागीको घटनाबाट जोगिन र जोगाउन अपनाउनु पर्ने सावधानी र पूर्वसचेतना पनि आवश्यक छ ।
गाउँघरमा अझै पनि कैयौँ घरपरिवारमा दाउराको प्रयोग हुन्छ । दाउराको प्रयोग गरेर खाना पकाउँदा भान्छाबाट आगलागी हुने डर पनि हुन्छ । बिहान वा बेलुकाको खाना पकाएर चुलोको आगो ननिभाउँदा त्यसबाट पनि आगलागीको खतरा रहन्छ । कहिलेकाहीँ सरेहमा घुर बाल्दा वा खेतबारीको भुसमा आगो लगाएर छोड्दा पनि अन्यत्र आगो सल्किने डर हुन्छ । घरमा रहेको चुलोको आगो ननिभाउँदा हावाहुरीले आगोलाई उडाएर पनि कतै आगो सल्किने डर हुन्छ । कहिलेकाहीँ बच्चाले लाइटर वा आगोले खेल्न खोज्दा आगो सल्किन सक्ने डर पनि हुन्छ । यस्ता अन्य सम्भावना पनि हुन्छ जसले आगो लाग्ने डर बनाएको हुन्छ । यसकारण आगोलागीको घटनाबाट जोगिन सम्भव भएसम्मको सावधानी अपनाउनु आवश्यक छ र सावधानी अपनाउने किसिमको सचेतना विस्तार गरिनु पनि उत्तिकै आवश्यक छ ।
आगो लाग्नुभन्दा पूर्व नै सावधानी अपनाउने कुरामा सचेत हुन सकियो भने आगलागीको घटना कम हुन्छ वा हुन पाउँदैन । यो सावधानीको उपाय हो । यदि कतै आगो लागिहालेछ भने कसरी हुन्छ तत्काल निभाउन र आगलागीबाट हुन सक्ने क्षतिलाई न्युन गर्न र सम्भव भएसम्म आगोमाथि तत्काल नियन्त्रण कायम गर्ने किसिमको संयन्त्रको निर्माण गरिनु पनि आवश्यक छ । आगो लागिहालेमा तत्काल निभाउन सकिने किसिमको संयन्त्रको सक्रियताले जन र धन सबैको क्षति हुनबाट जोगाउँछ । आगलागीका घटना हुन नदिन तथा आगलागीको घटनाबाट जन र धनको क्षति हुनबाट जोगाउन सबै किसिमको उपाय अपनाउन तथा पूर्वतयारी गर्न सम्बन्धित पक्ष समयमै गम्भीर हुुन जरुरी छ ।