चैत्र २७ गते
अस्ति मात्र (७ अप्रिल, २०२१) विश्व स्वास्थ्य संगठनको संयोजकत्वमा ७३ औँ विश्व स्वास्थ्य दिवस भव्य र सभ्यरुपमा संसारभरि एकसाथ मनाइयो । “जलवायु परिवर्तनबाट स्वास्थ्य बचाऔँ” र “सुन्दर र स्वस्थ संसार बनाऔँ” भन्ने मूलमर्मका साथ मनाइएको उक्त दिवसमा वातावरणीय ह्रासलाई प्राथमिकतामा राखिएको पाइयो । वास्तवमा स्वस्थ शरीर भन्ने कुरा मान्छेको आहार विहार, ध्यान तपस्या, शारीरिक व्यायामको साथ साथै प्रमुख भूमिका, भनेको वातावरणले पनि खेलेको हुन्छ । वास्तवमा के हो त वातावरण ? यसले कसरी स्वस्थ शरीर निर्माणमा सहयोग पु¥याउँछ ? यसको अभावमा के कस्ता समस्याहरु मानवले झेल्नु परिरहेको छ भन्ने कुरा प्रधान रहन्छ । वास्तवमा वर्तमान समयसम्म आइपुग्दा विश्वका अति विकसित मुलुकका मान्छेले पनि जान अन्जानमा गरेको वातावरणीय विनासको प्रभावलाई आत्मैदेखि स्वीकार गरिसकेका छन् र यसको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका सभा सम्मेलन, गोष्ठी तथा सेमिनार गरी जनचेतना प्रवाह गर्ने काम पनि गरिरहेका छन् ।
सामान्य अर्थमा भन्दा हाम्रो वरिपरि भएका विभिन्न जैविक तथा अजैविक वस्तुहरुको सम्मिश्रण नै वातावरण हो । यसलाई अझ स्पष्ट पार्नका लागि वात् र आवरण गरी दुई भागमा बाँडेर हेर्न सकिन्छ । जहाँ “वात्” को अर्थ हावा र “आवरण” को अर्थ ढाकिएको वा छोपिएको भन्ने हुन्छ । समग्रमा भन्दा हावाले ढाकिएको वा छोपिएको ठाउँलाई वातावरण भनिन्छ । यो अत्यन्तै संवेदनशील पक्ष हो । यसको आफ्नै सहनशीलता छ वा सहने क्षमता छ । दूर्भाग्यवश मान्छेले यसको सहन सक्ने क्षमता भन्दा बढी भारी बोकाए जसले गर्दा वर्तमान युगमा उच्चतम विकासका नाममा सिङ्गो वातावरणलाई प्रदूषित, दुगन्र्धित र कलङ्कित समेत बनाए । वास्तवमा भन्ने हो भने मानवका असीमित आवश्यकताहरु यही वातावरणमा प्राप्त सीमित साधन श्रोतबाट परिपूर्ति हुन्छन् । तर त्यस्तो भइरहेको छैन अहिले । विश्वका औद्योगिक मुलुक जहाँ कार्वनडाइअक्साइड, क्लोरोफ्लोरो लगायत अरु थुप्रै अनावश्यक तथा हानिकारक ग्याँसहरुको उत्सर्जनले गर्दा वातावरण प्रदूषित भई यसले प्रत्यक्ष असर पारेको भन्ने कुरा सुनिन्थ्यो त्यो आज हाम्रै देश नेपालमा पनि नौलो रहेन । नेपाल परापूर्वकालदेखि नै हरियाली तथा हराभरा भएको, उद्योग कलकारखाना, यातायातका साधनहरुको त्यति चाप नभएको मुलुक भए तापनि भर्खर मात्रै राज्यस्तरबाटै अत्यधिक धुँवा, धुलो, तुँवालो तथा प्रदूषणले गर्दा ४ दिनसम्म औपचारिक रुपबाट शिक्षण संस्था बन्द गर्नु परेको थियो । के यो वातावरणीय ह्रासको चेतावनी हैन र ? अवश्य हो ।
डढेलोका साथै अन्य विविध कारण यो वर्षको वायुको गुणस्तर सूचकांक (एक्युआइ) लगभग ५ सय पुगेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआइ ३५ सम्म हुँदा स्वस्थ हुन्छ भने २०१ भन्दा माथि अस्वस्थ र ३०१ भन्दा माथि हानिकारक मानिन्छ ।
यसका साथै वनमा लागेको अथवा लगाइएको डढेलोले पनि वातावरणमा प्रत्यक्ष अशर पारेकै हो । बढ्दै गरेको जनसंख्याले थपेका समस्याहरु अन्तर्गत इट्टा भट्टाको संख्या वृद्धि हुनु, यातायातमा चाप हुनु, इन्जिन र मेसिनको खपत अत्यधिक हुनु, वनजंगल विनाश भइ धूलो बढी उड्नु, कच्ची सडकको निर्माण तीव्र हुनु आदि जस्ता कुराले पनि स्वच्छ र हराभरा वातावरणलाई प्रत्यक्ष वा परोक्ष प्रभाव परिरहँँदा त्यसको असर स्वास्थ्यमा पर्नु कुनै नौलो कुरा होइन । वास्तवमा जसले जे जसरी अथ्र्याय पनि रुख वृक्षले फ्याँक्ने भनेको अक्सिजन ग्याँस नै हो । जुन ग्याँसले फोक्सोमा मुटुबाट आएको अशुद्ध रगतलाई शुद्ध बनाउने काम गर्छ । कल्पना गरौँ त यदि हामीले लिने हावा (ग्याँस) मा अक्सिजनको मात्रा कमी भयो भने कसरी अशुद्ध रगत शुद्ध हुन्छ । यो गम्भीर प्रश्न हो । स्मरण होस् एउटा मान्छेलाई २४ घण्टामा १६ के.जी. अक्सिजन चाहिन्छ । सरदरमा एउटा पूर्ण रुपबाट हुर्किएको रुखले २४ घण्टामा फ्याँक्ने अक्सिजन भनेको ५ के.जी.हो । त्यसकारण एउटा मान्छेलाई स्वस्थ्य बन्नका लागि चाहिने रुखको संख्या ३ वटा हो । अव हिसाब गर्नुहोस् नेपालको जनसंख्याअनुसार कति रुख चाहिन्छन् । वि.सं. २०६८ सालको ११ औँ राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । बारा जिल्लाको निजगढ इलाकामा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्नका लागि २४ लाख रुख काट्ने निर्णय भएको थियो । यो त विकासका नाममा भएको एउटा नमूना मात्र हो । अन्य विनास, विकास र विकृति कति भएका छन् भन्ने कुरा हामी सबैलाई अवगत नै छ ।
अब हामी विग्रँदो स्वास्थ्य स्थितितर्फ लागौँ । भनिन्छ – स्वास्थ्य नै धन हो । अझ विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई यसरी प्रष्ट पारेको छ – स्वास्थ्य भनेको रोग तथा दूर्वलताबाट मुक्त हुनुमात्र नभई शारीरिक मानसिक तथा सामाजिक रुपले स्वस्थ रहेको अवस्था हो ।
यति हुँदाहुँदै पनि मान्छे किन आफ्नो स्वास्थ्यप्रति त्यति सजक छैनन् त ! मान्छेमा बाध्यता छ वा आफैँमा एक किसिमको शोख छ कि स्वास्थ्य भनेको केही होइन यो भगवान भरोसामा चलिरहन्छ । होइन भने त जीवनभर दुःखजिलो गरेर कमाएको त्यही धन स्वस्थ स्वास्थ्यका लागि एकैचोटि खर्च गर्छ मान्छे । पहिला त्यही स्वास्थ्यलाई धरापमा राखेर पैसा कमाउँछ अनि त्यही स्वास्थ्य बचाउनका लागि सम्पूर्ण धनराशी खर्च गर्छ । बडो अचम्मको व्यवहार गर्छ मान्छे । यसको सन्तुलन गर्ने सूत्र मान्छेमा नभएरै त्यस्तो गरेको हुनुपर्छ । जुन देशको मानव श्रोत स्वस्थ छ त्यही देश न अगाडि बढ्ने हो न कि अस्वस्थ, रोगी, बूढाबूढी भएको देश ।
अर्कोतर्फ स्वास्थ्य भन्ने कुरा खानपानमा पनि भर पर्छ । शरीरको मागअनुसार पोषणको व्यवस्था गर्न सक्नु त्यति सहज विषय धेरैलाई नहोला । अहिलेको यस परिवेशमा प्राप्त खाद्यान्नहरु केवल भोकलाई मात्र मेटाउने खालका छन् । वढ्दो खाद्यान्नको मागअनुुसार पूर्ति हुन नसक्दा उत्पादित खाद्यान्नमा मिसाबट हुनु, मूल्य वृद्धि हुनु, कृत्रिम अभाव फैलाउनु, गुणस्तरीयता नहुनु, निश्चित परिमाण नुहुनुका साथै पादनमा अपेक्षित वृद्धि गर्न गराउनका लागि प्रयोग गरिने विभिन्न रासायनिक पदार्थले पनि खाद्यान्न स्वस्थ र अग्र्यानिक वन्न सकिरहेको अवस्था छैन । अर्कोतर्फ वातावरणमा भएको प्रदूषणले पनि खाद्यान्नमा प्रत्यक्ष असर पारिरहेको छ ।
स्वास्थ्य सेवा सुविधा नाटकीय रुपमा बढ्दै गए तापनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । मान्छे स्वभावैले सुखी सन्तुष्टि भएर बाँच्न चाहन्छ । न्यूनतम मेहनतबाट अधिकतम सन्तुष्टि प्राप्त गर्नका लागि मान्छेले दैनिक रुपमा गर्दै आएका क्रियाकलापहरुमा कटौटी गर्दै गइरहेको छ । उदाहरणका लागि फास्टफुड, रेडिमेड फुड, जङ्क फुडको प्रयोग अधिक हुनु । आफ्नो घर परिवारमा बनेको खाजा नास्ता वा खाना भन्दा वाहिर होटल रेष्टुरेन्टमा तयार भएको खानेकुरा खानुजस्ता कुराले पनि स्वास्थ्यमा केही हदसम्म भए पनि प्रभाव पारेकै हुन्छ । आधुनिक पुस्ता यसप्रति आकर्षित पनि भएका छन् । कतिपय अवस्थामा त यसलाई बाध्यताको रुपमा पनि लिइएको छ । वास्तवमा स्वास्थ्यलाई जबसम्म मजवुत बनाइँदैन तबसम्म कुनै पनि अपेक्षित इच्छा चाहना पूरा गर्न गराउन गाह्रो हुने भएकाले विभिन्न कोणबाट स्वस्थ रहने तौर तरिकालाई अवलम्बन गरिरहन जरुरी देखिन्छ ।
अब सुधारात्मक स्वास्थ्यका लागि आशा गर्ने ठाउँहरु के के रहे त भन्ने पक्ष पनि महत्वपूर्ण हुन आउँछ । जसरी वातावरणमा प्रत्यक्ष असर पर्ने मानवीय क्रियाकलापले स्वास्थ्यमा असर पार्ने भएकोले राज्यस्तरबाटै वातावरण संरक्षण सम्बन्धी नीति निर्माण तथा कार्यान्वयन गर्नुुपर्ने हुन्छ । अर्कोतर्फ स्थानीय उत्पादनलाई वढावा दिनाले पनि स्वास्थ्यमा प्रतिकूल असर नपर्ला । सकभर रासायनिक पदार्थको प्रयोग कम गरी खाद्यान्न उत्पादन र वितरण गर्नाले पनि केही हदसम्म स्वास्थ्यको अवस्थालाई थप मजवुत गराउन सकिन्छ । यसका साथै स्वास्थ्य सेवा र सुविधामा भएको नाटकीय सुधारले पनि स्वास्थ्य अवस्था सुधार्न थप मद्दत पुगेको भने छ तर ती सेवा सुविधा समग्र आम नागरिकको पहुँचभित्र नभई दिएको हुनाले पनि स्वास्थ्यसम्बन्धी समस्या तुरुन्तै समाधान नहुने पनि देखिन्छ । आम नागरिकबाट नै आफ्नो स्वास्थ्यको ख्याल आफँै गर्दै जानाले मात्र स्वास्थ्यको सुधार हुने देखिन्छ । यदि हामी हाम्रो स्वास्थ्यको मामलामा परजीवि भएर बाँच्ने अवस्था देखिएमा आशातीत प्रतिफल पाउन सकिँदैँन ।