चैत्र २७ गते ।
कोरोना संक्रमणको त्रास सर्वत्र व्याप्त छ । यसैबिच विद्यालयहरु पुनः बन्द हुने कुरो आएको छ । विद्यालयको पढाइ अनलाइनमार्फत गर्नुपर्ने कुरो पनि सँगसँगै आएको छ । थप कुरो यो पनि छ कि स्थानीय तहले यस विषयमा निर्णय गर्न सक्छ । यी र यस्ता कुराहरु विभिन्न सञ्चारमाध्यमहरुमा आइरहँदा छिमेकी देश भारतमा जुन रफ्तारमा कोरोनाको संक्रमण फैलिरहेको छ, त्यसले अज्ञात डर फेरि बढाएको छ । पछिल्ला केही दिनदेखि नेपालमा पनि कोरोना संक्रमणको दर बढेको देखिएको छ । कोरोना संक्रमणको दर र डर बढिरहँदा सावधानी भने अलिकति पनि रहेको देखिएको छैन ।
विद्यालयका शिक्षक र विद्यार्थी कसैले मास्क लगाउँदैनन् । एउटै धारालाई एक दिनमा हजारौँले प्रयोग गरिरहेका छन् विद्यालयमा । शौचालयको पनि अवस्था उही रहेको छ । यसरी कतैबाट विद्यालयमा कोरोनाको प्रवेश भएमा समाजमा एकै दिनमा नसम्हालिने गरी विस्तार हुने खतरा रहेको छ । यस्तै बजार र अन्य ठाउँमा पनि अलिकति सावधानी अपनाएको पाइएको छैन । सतर्कता थोरै भए पनि देखिएको छैन ।
बजारमा निकै धेरै भीडभाड हुने गरेको छ पूर्णतया लापरवाहीपूर्वक । बजारको भीडमाथि कसरी नियन्त्रण गर्ने र सावधानी कसरी अपनाउने भन्ने विषय पनि गम्भीर हो । विद्यालय तथा क्याम्पसमा हुने लापरवाहीलाई धेरै हदसम्म अभिभावकले चाहेमा सतर्कता अपनाउन सकिने अवस्था रहेको छ । घरबाट विद्यार्थी शिक्षालयमा जाँदा एक बोतल पानी बोकेर र नाकलाई पूरै छोप्ने गरी एउटा मास्क लगाएमा धेरै हदसम्म सुरक्षित हुन सकिन्छ । विद्यालयमा हात नमिलाउने र अरुसित सम्भव भएसम्म नटाँसिने हो भने विद्यालयको पठनपाठन सँगसँगै सतर्कता पनि रहन्छ । शिक्षकहरुले पनि सावधानी अपनाएर पठपाठनलाई अगाडि बढाउन सक्छन् ।
शिक्षाको केन्द्र भनेकै शिक्षालयहरु हुन् । यदि शिक्षकहरुले सर्तकता र सावधानी अपनाउने हो भने अन्य वर्गले अनुकरण गर्नेछन् । तर शिक्षक पनि यही समाजको अंग हो । सबैतिर लापरवाही छ । सतर्कताको अभाव छ । अबको समयमा हरेकले आफ्नो तर्फबाट सतर्कता अपनाउनु अत्यन्त आवश्यक देखिएको छ ।