संविधान जोगाउन आफैं सडकमा उत्रिन तयार छु : राष्ट्रपति पौडेल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २, बिहिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
संविधान जोगाउन आफैं सडकमा उत्रिन तयार छु : राष्ट्रपति पौडेल

काठमाडौं, ०२ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएकाले राजनीतिक दललगायत सरोकारवालाहरुलाई फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन र संविधान जोगाउने काममा अग्रसर हुन सन्देश दिएका छन् ।

साथै, राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नभए अवस्था थप बिग्रिन सक्नेतर्फ सचेत हुन पनि सबै पक्षलाई आग्रह गरेका छन् ।

बिहीबार शीतलनिवासमा कानुनविद्सहित अधिकारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति पौडेलले विकसित पछिल्ला घटनाक्रमबारे चर्चा गर्दै संविधान जोगाउनु सबैको दायित्व भएको समेत बताएका छन् । उनले अब सबै निर्वाचनमा केन्द्रित भए मात्र अहिलेसम्मका उपलब्धि जोगिन सक्ने भएकाले सरोकारवालाको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न डा. महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, चण्डेश्वर श्रेष्ठ, कनकमणि दीक्षित, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद् वन्त र सुशील प्याकुरेल शीतलनिवास पुगेका थिए । त्यसक्रममा उनीहरुले राष्ट्रपतिलाई चार बुँदे सुझाव समेत दिएका छन् ।

नागरिक समाजका अगुवाहरुले दिएको सुझावमा कठिन परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि भूमिका आवश्यक रहेको उल्लेख छ ।

‘जे जस्तो परिस्थितिमा भएपनि चुनावको मिति समेत निर्धारित भइसकेको अवस्थामा संविधानका केही धारामा लागेको ग्रहण अस्थायी होस् भन्ने हाम्रो चाहना र कामना हो,’ नागरिक समाजका अगुवाहरुले राष्ट्रपति पौडेललाई दिएको सुझावमा भनिएको छ, ‘उपरोक्त विकसित घटनाक्रमहरुबाट उत्पन्न विशेष परिस्थितिमा राजनीतिक दल, जेनजी आन्दोलनकारी र नागरिक समाज सबैले चुनाव सम्पन्न गर्न सहयोग गर्दै संवैधानिक व्यवस्थालाई यथावत् रुपमा क्रियाशील गराउनु सबै नेपालीको दायित्व हुन पुगेको छ ।’

राष्ट्रपतिसँग भेटवार्तामा सहभागी डा. महेश मास्केले अहिलेको असाधारण परिस्थितिबारे राष्ट्रपति पौडेलसँग कुराकानी भएको बताए । भेटका क्रममा राष्ट्रपतिले मुलुकले असाध्यै कठिन परिस्थिति भोगिरहेको भन्दै सबैजना संयम हुन जरुरी रहेको स्मरण गराएको मास्केको भनाइ छ ।

राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै मास्केले रातोपाटीसँग भने, ‘यो बिचमा मलाई धेरै प्रेसर भयो । धेरै खालका कुराहरु भए, त्यतातिर अहिले म किन गइराखौं, तपाईंहरुले बुझ्नु नै भएको छ ।’

भदौ २४ देखि २७ गते बेलुकासम्मको विकसित अवस्थाबारे राष्ट्रपति पौडेलले संकेत गरेका थिए ।

‘यति बुझ्नुस् अत्यन्तै अप्ठेरो अवस्था थियो र कुनै बेलामा संविधानलाई जोगाउन म आफैं सडकमा उत्रिनुपर्छ भनेपनि म उत्रिन तयार छु भनेपछि मात्र स्थिति साम्य हुँदै गयो,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

यस्तो अवस्थामा सबैले सकारात्मक भूमिका र वातावरण बनाउनतर्फ लाग्नुपर्ने अपेक्षा राष्ट्रपतिले राखेका छन् । ‘यो कठिन अवस्थामा सबैले आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्न सक्नुपर्छ, यो देशकै आवश्यकता हो’, राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपतिसँग भेटवार्ता गरेका वरिष्ठ पत्रकार समेत रहेका अधिकारकर्मी कुन्दन अर्यालले समयमा चुनाव हुनुपर्छ र देशलाई चुनावमा लगे मात्र लोकतन्त्रलाई सही ठाउँमा लैजान सकिन्छ भन्नेमा राष्ट्रपतिको जोड रहेको बताए ।

‘अन्योलको अवस्थामा आफ्नो दायित्व निर्वाह गर्दै संविधानमाथि थोरै ग्रहण लागेपनि मैले जति कुराहरु गरेँ, त्यो मुलुककै लागि गरें’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै अर्यालले भने, ‘अब त्यो ग्रहण लाग्दैन । बरु तपाईंहरु सबैले मुलुकलाई चुनावतिर लैजाने वातावरण बनाइदिनुस् ।’

राष्ट्रपतिसँगको भेटवार्ताबारे डा. महेश मास्के

हामी अहिलेको असाधारण राजनीतिक परिस्थितिबारे राष्ट्रपतिसँग कुराकानी गर्न गएका थियौं । त्यसक्रममा हामीले केही लिखित सुझाव पनि दिएका छौं । यो बेला राष्ट्रपति धेरै दबाबमा हुनुहुन्छ । जेनजी आन्दोलन, राजनीतिक दलहरु, देशी-विदेशी शक्तिहरु सबैतिरबाट उहाँलाई प्रेसर छ । 

यो स्थितिमा उहाँले जे जति गर्नुभएको छ राम्रै गर्नुभएको छ । नयाँ सरकार बनाउने र संविधान जोगाउन भरमग्दुर प्रयास गर्नुभयो भन्ने लागेको छ । संविधानमा ग्रहण लागेको बेला केही कम्प्रमाइज त हुने नै भयो, तर त्यो स्टेजमा त्यति गर्नु पनि राम्रो कुरा हो भन्ने लागेको छ ।

तर अझै पनि सतर्क हुन जरुरी छ । संविधान जोगाउन उहाँको भूमिका निरन्तर रहन जरुरी छ । त्यसका लागि जेनजीले अघि सारेका भ्रष्टाचार नियन्त्रण र सुशासन कायमजस्ता जायज मागहरुमा हाम्रो पूर्ण समर्थन छ । तर मुलुकलाई अराजकतातर्फ जानबाट रोक्न राष्ट्रपतिको भूमिका अझै चाहिन्छ, रहन्छ । 

त्यो भूमिका भनेको राजनीतिक दलहरु, जेनजी र नागरिक समाजको बिचमा अन्तरक्रियात्मक र समन्वयात्मक भूमिका राष्ट्रपतिले खेलिरहनुपर्छ भन्ने हो । चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न पनि त्यो भूमिका निर्वाह गर्दै यी शक्तिहरु मिलेर अघि बढ्न आवश्यक छ ।

जेनजी आन्दोलनका क्रममा धेरै ठुलो घुसपैठ भयो भनेर उनीहरुकै प्रतिनिधिहरुले पनि भनिरहेको अवस्था छ । त्यस्ता तत्वहरुले जुन खालको विध्वंश गरे, जसले देश धेरै नै पछाडि परेको छ । यसलाई रिभाइभ गर्न सक्नुपर्छ । त्यसका लागि नागरिक समाज आफ्नो भूमिका निर्वाह गर्न तयार नै छ । किनभने यसअघिका आन्दोलनहरुमा पनि सहयोग गरेको हो । यो बेलामा पनि हुन्छ । यस्तो अवस्थामा राष्ट्रपति संविधानको संरक्षक समेत भएकाले अब संविधान तोडमोड गर्ने किसिमको काम हुन दिनुभएन भनेर हामीले सुझाव दिएका छौं ।

हाम्रो कुरामा उहाँले राम्रो रेस्पोन्स गर्नुभयो । कस्तो परिस्थितिमा यो भयो, कतिसम्म गर्न सकियो भन्ने कुरा बताउनुभयो । जुन हामी सबैलाई थाहा छँदैछ । उहाँले भोलि संविधान दिवसमा प्रधानमन्त्री पनि आउँदै हुनुहुन्छ, म पनि जान्छु भनेर राम्रो कुरा गर्नुभयो । यो संविधान जोगाउन हामी सबै मिलेर जानुपर्छ, हामी प्रतिवद्ध छौं भनेर हामीले भन्दा उहाँले पनि आफू प्रतिवद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले पनि संविधानप्रति नै बफादारीको सपथ लिनुभएको हो । यो हिसाबले पनि हामी संविधान जोगाउन सबै दृढ संकल्पित छौं भन्ने आशय उहाँको पायौं ।

संविधान पनि जोगाऔं र निर्वाचन पनि गरौं भन्नेमै उहाँको विशेष जोड देखिन्थ्यो । ‘त्यसका लागि स्टेकहोल्डरहरु, जेनजी आन्दोलनकारी, दल र नागरिक समाज सबै लोकतान्त्रिक विधिबाट चुनावमार्फत फेरि अघि बढाउनतिर लागौं । चुनावले नै शक्ति दिनसक्छ । प्रतिनिधिसभा चुनावले नै ‘रिटर्न’ गर्नसक्छ । त्यो ठाउँमा पुर्‍याउन मेरो भूमिकामा कुनै कमी हुने छैन, तपाईंहरुले पनि सहयोग गर्नुपर्छ’ भन्नुभयो ।

हामीसँगको कुराकानीमा राष्ट्रपतिले यो बिचमा मलाई धेरै प्रेसर भयो । धेरै खालका कुराहरु भए, त्यतातिर अहिले म किन गइराखौं, तपाईंहरुले बुझ्नु नै भएको छ । यति बुझ्नुस्, अत्यन्तै अप्ठेरो अवस्था थियो र कुनै बेलामा संविधानलाई जोगाउन म आफैं सडकमा उत्रिनुपर्छ भनेपनि म उत्रिन तयार छु, स्थिति साम्य हुँदै गयो भन्नुभयो । 

त्यसकारण हामी सबैले पोजेटिभ वातावरण बनाउनतर्फ भूमिका खेल्न सक्नुपर्छ । यो सबैको आवश्यकता हो । सकारात्मक वातावरण बनाउन हामी अन्य सरोकारवालाहरुसँग जेनजी र दलहरुसँग पनि क्रमश: कुराकानी गर्दै जानेछौं । चुनावलाई नै अर्जुनदृष्टि लगाएर जानुपर्छ भनेर हामी पनि वातावरण बनाउने प्रयास गर्छौं ।

ताजा अपडेट

खोजी गर्नुहोस