ओम प्रकाश यादव
रौतहट,०२असोज। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले गरुडा स्थित रहेको वंशीराम जयसवाल अनाथालयमा आज अनाथालय आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा ५५ लाख भन्दा बढीको लागतमा निर्माण भएको दुई कोठे सुविधा सम्पन्न अत्याधुनिक डिजाइनको अनाथालय विद्यालय भवनको मेयर जयसवालले समुद्घाटन गरेका हुन् ।
विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले सो विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवनको अभावमा त्यहाँ अध्यनरत अनाथ तथा अन्य विद्यार्थीहरू वर्षौंदेखि निकै पुरानो जतिखेर पनि भत्किन सक्ने अवस्थालाई रहेको जीर्ण भवनमा जोखिम मोलेर पढ्दै आएका थिए।
तर अब नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरुलाई जोखिम मोलेर जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता अन्त्य भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले भवनको अभावमा यहाँ अध्यनरत अनाथ लगाएतका विद्यार्थीहरू जोखिम मोलेर जीर्ण भवनमा पढ्दै आएको देखेर आफूले विद्यालयको नयाँ भवन निर्माण गरेको बताएका छन्।
नयाँ भवन निर्माण भएपछि त्यहाँ अध्यनरत दुई सय विद्यार्थी सुरक्षित साथ बिना कुनै डर, भय र त्रासको निर्धक्क भएर पढ्न पाउने मेयर जयसवालले बताए।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू देशको उच्च पद र ओहोदामा पुगेको चर्चा गर्दै मेयर जयसवालले रौतहटका शानको रूपमा रहेको यस अनाथालय तथा विद्यालयको विकासका लागि आफू हरसम्भव प्रयास गर्दै रहने बताए। यस अनाथालय आधारभूत विद्यालयमा सबैलाई आ-आफ्ना ठाउँबाट सक्दो सहयोग गर्न समेत उनले अपील गरे ।
अनाथालय कै नामबाट गरुडा प्रख्यात रहेको र अनाथालयले गरुडालाई ठूलो पहिचान दिलाएकोले सबैले हातोमाले गरी अनाथालयलाई सहयोग गर्नुपर्ने उनले बताए। २०५२ सालमा गरुडा निवासी समाजसेवी वंशीराम जयसवालले अनाथ बालबालिकालाई अध्ययन गराउन आफ्नै जग्गामा अनाथ आधारभूत विद्यालय स्थापना गरेका थिए।
गरुडा नगरपालिका – ४ गरुडामा रहेको आफ्नो जमिनमा अनाथालय स्थापना गरी जयसवालले परिवार त्याग गरेर अनाथहरूसँगै बस्न थालेका थिए। अनाथ बालबालिकाको पठनपाठनको लागि जयसवालले आफ्नै जमिनमा अनाथालय आधारभूत प्राथमिक विद्यालयको स्थापना गरी संचालन तथा व्यवस्थापन गरेका थिए।
अहिले सो विद्यालयमा १७ जना अनाथ र अरु गरुडा नगरपालिकाका विभिन्न ठाउँका गरी दुई सय विद्यार्थी अध्ययनरत रहेका छन्।अनाथ बालबालिका मात्र नभई अन्य व्यक्तिका समेत छोराछोरी यस विद्यालयमा अध्ययनरत रहेका छन्।
यसैगरी आफ्नो निजी जमिन नि:शुल्क दिएर जयसवालले गायत्री शक्तिपीठको स्थापना र संचालन गराएका थिए। जयसवालले स्थापना गरेको अनाथालयमा बसेर हुर्के तथा पढेका दर्जनौँ मानिस नेपाल, भारत र दक्षिण कोरियामा विभिन्न सम्मानित पेसामा सेवारत रहेका छन् ।
अनाथालय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष व्यापारी सन्तोष चौधरीको अध्यक्षता तथा गरुडा नगरपालिकाका मेयर कन्थमनी जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको विद्यालयको नवनिर्मित भवनको उद्घाटनसत्र कार्यक्रममा गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव निलम न्यौपाने, नमूना मावि गरुडाका व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साह, नगर उद्योग वाणिज्य संघ गरुडाका पूर्व अध्यक्ष हरेन्द्र चौधरी, सो विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका सम्तोलिय मुखिया, अनाथालयका सदस्य, उद्योगी , व्यापारी, समाजसेवी, पत्रकार लगाएतको सहभागिता रहेको थियो।


