पवन कुमार उपाध्याय
रौतहट, १२ श्रावण। साउन महिनाको तेस्रो सोमबारको अवसरमा रौतहट जिल्लाभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। विशेषगरी गरुडा नगरपालिका–५ मा अवस्थित शिवनगरको अद्भुतनाथ महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीहरूको घुइँचो लागेको हो।
मन्दिरका प्रमुख महन्थ कृष्णदेव गिरिका अनुसार, सोमबार बिहानै मन्दिरका चारैवटा ढोका भक्तजनको दर्शनका लागि खोलिएको थियो। झन्डै १५ हजारभन्दा बढी भक्तजन लाइनमा बसेर दर्शन गरेका छन्।
भक्तजनले लाइनबद्ध भएर शान्तिपूर्ण रूपमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले मन्दिर परिसरमा सुव्यवस्थित व्यवस्था मिलाइएको थियो। सुरक्षाको लागि इलाका प्रहरी कार्यालय गरुडा र ईप्रका शिवनगरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।
साउनको सोमबार महिलाहरूका लागि विशेष धार्मिक महत्व बोकेको दिन पनि मानिन्छ। विवाहित महिलाले अटल सौभाग्यको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाले सुयोग्य जीवनसाथी प्राप्त होस् भन्ने कामनासाथ शिव पूजामा सहभागी हुने धार्मिक विश्वास रहेको छ। यही कारण महिलाहरूको उल्लेख्य उपस्थिति देखिएको हो।
अन्य शिवालयहरूमा पनि पूजाआजा
शिवनगर शिवालयसँगै मौलापुरको पुरातात्त्विक महादेव मन्दिर, नुनथरको शिव मन्दिरलगायत जिल्लाका अन्य तीर्थस्थलहरूमा समेत बिहानैदेखि भक्तजनहरू गाईको दूध, जल र बेलपत्र चढाउँदै पूजा अर्चनामा सहभागी भएका थिए।
धार्मिक तथा सांस्कृतिक कार्यक्रम
साउनको पहिलो सोमबारदेखि नै गरुडा नगरपालिकाको समन्वयमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ। कार्यक्रममा स्थानीय कलाकार सुप्रसिद्ध ब्यास धर्मेन्द्र सहनी टिकटोक स्टार राजकुमार, एमेल पटेल, गुन्जा सहनी भोजपुरी कलाकार अल्बेला अशोक, जागेश ठाकुर, यादव अजय लगायत विभिन्न क्षेत्रबाट आएका कलाकारहरूले जोडदार प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले दर्शनार्थीहरूलाई थप आकर्षण दिएको गरुडा निवासी सोविन्द्र पटेलले जानकारी दिएका छन।
श्रावणको सोमबार: महत्व र विशेषता
१.भगवान शिवको प्रिय दिन सोमबार: सोमबार भगवान शिवको वार हो। यसैले श्रावण महिनाभर सोमबारको व्रत गरी शिवजीको पूजन गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
२.सम्भोगदेखि तपसम्मको प्रतीक: यो महिना भगवान शिवको गहिरो तपस्या र त्यागको संकेत मानिन्छ। भक्तजनले शिवलिंगमा जल, दूध, बेलपत्र, धतुरा आदि चढाउँछन्।
३.पार्वतीजीको शिवप्राप्तिको कथा: देवी पार्वतीले भगवान शिवलाई पति पाउनकै लागि श्रावण महिनामा कठोर व्रत गरेकी थिइन्। यसैले यो व्रत अविवाहित कन्याहरू पनि उत्तम वर प्राप्तिका लागि गर्दछन्।
श्रावण सोमबारको विशेषता:
व्रत (उपवास): धेरैजसो भक्तजन सोमबार उपवास गर्छन्, फलाहार मात्र खाएर दिन बिताउँछन्।
शिवालयमा दर्शन/पूजा: बिहानै उठी स्नान गरी नजिकको शिव मन्दिरमा गई पूजा गरिन्छ।
जलाभिषेक: शिवलिंगमा जल चढाउने प्रचलन छ। दूध, घ्यु, मह, गंगा जल आदिले अभिषेक गरिन्छ।
बेलपत्र अर्पण: त्रिपत्री बेल शिवलाई अति प्रिय छ। ‘बिल्वपत्रं शिवार्पणम्’ मन्त्रसँगै चढाइन्छ।


