बैशाख ०९ गते
पृथ्वीबारे तपाईँलाई कति थाहा छ ? जहाँ हामी बसेका छौँ, यो पृथ्वी के हो ? कस्तो छ ? यहाँ कसरी जीवन सम्भव भएको हो ? यहाँ मानव जीवनमाथि मानवकै कारण कुनै समस्या उत्पन्न हुने सम्भावना रहेको छ ?
पृथु नामको राजाको नामबाट यसको नाम पृथ्वी रहन गएको हो । पृथु प्रजापालक थिए । उनकै समयमा राज्यमा राजाले पहिलोचोटि पूर्णतया व्यवस्थित शासनको सुरुआत भएको मानिन्छ । पृथ्वी संस्कृत शब्द हो । यसलाई पृथ्वी, धरा, संसार, पिर्थिमी आदि अनेक नामले बोलाइन्छ ।
सौरमन्डलको एक सदस्यको रुपमा रहेको पृथ्वी सूर्यतिरबाट हेर्ने हो भने तेस्रो स्थानमा रहेको छ । यस ग्रहमा एउटा उपग्रह रहेको छ जसलाई चन्द्रमा भनिन्छ । पृथ्वीरुपी ग्रहमा तीन कुरा निकै महत्वपूर्ण रहेका छन् – वायु, जल र जीवन । सौरमन्डलका अन्य ग्रहमा यही रुपमा यी तीन कुरा पाइन्न । यसकारण अन्य ग्रहमा जीवन यस रुपमा सम्भव हुन सकेको छैन ।
सूर्यदेखि आदर्श दुरीमा रहेको पृथ्वीमा हावा र पानीको सुन्दर संयोगले जीवन चलिरहेको छ । कुनै एकमा अत्यधिक विचलन आयो भने यहाँ जीवन कसरी सम्भव होला ? यद्यपि मानवीय गतिविधिले गर्दा नै हावा र पानी दुवैमा प्रदूषण निरन्तर बढिरहेको देखिएको छ । हावा र पानीमा यसै अनुपातमा आक्रमण बढिरहने हो भने यो पृथ्वी मानिसको लागि मात्र नभएर अन्य जीवजन्तुको लागि पनि बस्नयोग्य नरहला कि ?
संसारले आज पृथ्वी दिवस मनाइरहेको छ । पृथ्वी दिवसमा हामीले पृथ्वीलाई हानि गर्ने काम बन्द गर्ने सन्देश लिन सक्छौँ । हावा र पानीका साथै जमिनलाई हानि नोक्सानी गर्ने कार्यलाई प्रभावकारी तरिकाले कम गर्नु परेको छ । पृथ्वीलाई बचाउनु परेको छ ।