बैशाख १० गते
तपाईँ पढेलेखेको मानिस हुनुहुन्छ र तपाईँ आफूलाई शिक्षित मानिस पनि भन्नुहुन्छ । यो भन्नु तपाईँको अधिकार हो र यदि तपाईँ यस्तो हुनुहुन्छ भने तपाईँ समाजको सम्पत्ति हुनुहुन्छ र समाजले तपाईँमाथि गर्व गर्न सक्छ । समाजले तपाईँमाथि कसरी गर्व गर्न सक्छ त ?
तपाईँ पढेलेखेको वा बौद्धिक मानिस हुनुहुन्छ भने तपाईँसित केही ज्ञान छ । तपाईँले आफूले पढेको क्षेत्रको ज्ञान तपाईँसित हुनुपर्छ । त्यो ज्ञान तपाईँ आफू विद्यालय वा विश्वविद्यालय पढ्दाको समयको हो कि ? पहिले जे पढ्नुभयो, त्यसैलाई अहिलेसम्म पढेको वा जानकार भएको मान्नुहुन्छ कि ? कतै तपाईँले आफ्नो पढाइ पूरा गर्न वा आफूलाई कुनै नोकरीको लागि योग्य बनाउन नै पुस्तकको अध्ययन गर्नुभएको छ भने तपाईँलाई बुद्धिजीवी त भन्न सकिएला तर परम्परागत भाषामा मात्र । तपाईँसित आधुनिक ज्ञान रहेनछ र तपाईँ आफ्नो ज्ञानको कदर गर्न जान्नु हुन्न तथा आफ्नो ज्ञानको सही अर्थमा उपयोग नै गर्न जान्नु हुन्न भन्ने पनि हुनसक्छ । यसको कारण के हो त ?
भारतको पश्चिम बंगालमा हरेक घरमा पुस्तकालय हुन्छ । जो आफूलाई स्नातक पढेको भन्छन् त उनको आफ्नो पुस्तकालय हुन्छ । हरेक वर्ष दर्जनौँ पुस्तक पढ्छन् । असल पुस्तक पढ्ने बानी सबैमा रहेको छ । जो पढ्दैनन्, समाजमा ऊ पछाडि परेको मानिन्छ । तर हामीकहाँ पुस्तक पढ्ने संस्कारको विकास नै हुन सकेको छैन । यहाँका बुद्धिजीवी, शिक्षित र पढेलेखेका भनाउँदाहरुले पुस्तक पढ्ने गरेका छैनन् ।
वास्तवमा जो पहिले खूब मिहिनेत गरेर पढेका थिए र त्यस पढाइस्वरुप जागिर पाए भने उनको पढाइको काम सकियो र अब उनी पढ्दैनन् भने उनी आफूलाई अपडेट राखेका छैनन् । यस अवस्थामा आफूलाई कुनै नयाँ ज्ञानको अधिकारी बनाउन चाहँदैनन् भने के बुद्धिजीवी भन्ने र खै ?
यसकारण हरेकले पुस्तक पढ्नुपर्छ । पुस्तकबारे छलफल गर्नुपर्छ । आफ्नो ज्ञानको दायरा बढाउनुपर्छ र आफ्ना सन्ततिलाई पुस्तक अध्ययनको संस्कार हस्तान्तरण गर्नुपर्छ । साँच्चै इमानदारीपूर्वक आफैलाई सोध्नुहोस् त, के तपाईँले कुनै पुस्तकको अध्ययन गर्नुभएको छ ? यस वर्ष कतिवटा पुस्तक अध्ययन गर्नुभयो ? अब कुन कुन पुस्तक पढ्नुहुन्छ ?