वर्तमानकाल सम्वाददाता
बैशाख २० गते ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारमाथि प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको आरोप लागेको छ । मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले आरोप लगाएका हुन् । गत वैशाख १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुव्र्यवहार गरेको अधिकृत जयसवालले बताएका छन् ।
कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन्। सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्। आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाइ शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्ट्याएको थियो। तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएको जयसवालको आरोप छ ।
त्यसै गरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दबाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत जैसवालले बताएका छन्।
गत वैशाख १६ गते बिहान १० बजे मेयर कलवार र सिम्रौनगढ समारोहकी अगुवा ममता शर्माले पटक–पटक फोन गरेर सरसल्लाह गर्न भन्दै आफूलाई मेयरको निवासमा बोलाएको जैसवालको भनाई छ ।
मेयरसँग छलफल गर्न उनको घरमा जाँदा शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको उनको आरोप छ। ‘बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने ?’ भन्ने जवाफ दिएपछि मेयर कलवार र उनका समर्थकले आफूलाई अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताए ।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले पनि मेयर कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन्। उनले मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बताइन्।