बैशाख १३ गते
हाम्रो ग्रामीण समाजले विद्या, गुण र कलालाई परम्परादेखि नै सम्पत्ति मान्दै आएको पाइन्छ । यस प्रकारको सम्पत्तिलाई बौद्धिक सम्पत्तिको दर्जा दिइएको छ । विश्व समुदायमा प्रचलनमा रहेका परम्परागत तथा नवीन आविष्कार तथा खोजअनुसन्धानमूलक बौद्धिक सम्पत्तिप्रति सचेतना जगाउने उद्देश्यले विश्व बौद्धिक सम्पत्ति दिवस मनाउने सुरुआत गरिएको हो ।
मानिस बौद्धिक प्राणी हो । मानिसमा बौद्धिक क्षमता हुन्छ । मानिसमा हुने बौद्धिक क्षमता उसको सम्पत्ति हो । बौद्धिक सम्पत्ति मूल्यवान हुन्छ । यही बौद्धिक सम्पत्तिको मूल्य बुझाउन तथा बौद्धिक सम्पत्तिबारे सचेतनामा अभिवृद्धि गरिन र बौद्धिक सम्पत्तिको क्षेत्रबारे अझै पनि धेरैले धेरै कुरा बुझ्न बाँकी रहेको छ ।
मानिसका सम्पूर्ण निजी ज्ञान, सामूहिक ज्ञान, खोज, अनुसन्धान, आविष्कार आदि उसका बौद्धिक सम्पत्ति हुन् । कसैले कुनै गीत गाउँछन् भने त्यसमा रहेका तीन पक्ष ः शब्द, स्वर र संगीत सबै सम्बन्धित व्यक्तिका मौलिक सिर्जना र सम्पत्ति हुन् । कोही कलाकार छन् भने कला उनको निजी सम्पत्ति हो । कसैले सुन्दर भाषण गर्न सक्छन् । कोही राम्रो साहित्य सिर्जना गर्न सक्छन् । कसैले अद्भूत चित्र वा मूर्ति बनाउन सक्छन् । कोही नयाँ अनुसन्धान गर्न सक्छन् । कोही आविष्कार गर्न सक्छन् । यी सबै सम्पत्ति मानवीय सम्पत्ति हुन् । यी र यस्ता अन्य बौद्धिक सम्पत्तिको सुरक्षा, संरक्षण तथा बौद्धिक व्यक्तित्वको सम्मान हुनु आवश्यक छ ।
अहिलेको समयमा बौद्धिक सम्पत्तिको महत्व बढेको छ । पहिलेदेखि नै के भन्ने गरिएको छ भने जोसित बुद्धि हुन्छ ऊ जस्तोसुकै परिस्थितिमा पनि आफूलाई समायोजन गर्न सक्छ । बुद्धिको कदर हुनुपर्छ भन्ने सबैको मान्यता रहेको छ । बुद्धि, बुद्धिजीवी र बौद्धिक सम्पत्ति सर्वदा सम्मानयोग्य हुन्छ । विश्वमा बुद्धिले नै राज गरिरहेको सन्दर्भमा यस दिवसको औचित्य सर्वसाधारणको लागि पनि झन् बढेको छ ।