बैशाख १७ गते
अहिले विवाहको लगन छ । तराई मधेसमा के कुराप्रति सर्वसाधारणको विश्वास छ भने जब लगन आउँछ तब वर्षा पनि हुन्छ । विवाहको समयमा मुख्य गरी गर्मीमा मुख्य लगनको दिन पानी पर्छ ।
अहिले करिब एक हप्ता विवाहको लगनको समय छ । आकाशले रङ बदलेको पनि छ । गतेको हिसाबले मध्य वैशाख हो यो । यत्तिबेला जस्तो गर्मी हुनुपर्ने हो, त्यस्तो गर्मी छैन । एक दुई दिन घाम चर्केको थियो तर लगनपातीको दिन आउनासाथ अहिले फेरि आकाशको रङले पनि तराई मधेसमा प्रचलनमा रहेको लोकविश्वासलाई बलियो बनाउने छाँटकाँट देखाएको छ । निकै कडा लगनको दिन आएकोले कतै पानी पर्ने हो कि विश्वास पनि सर्वसाधारणमा देखिएको छ ।
लोकविश्वासहरू यत्तिकै पलाएका हुँदैनन् । निकै लामो समयको अध्ययन हुन्छ । यसलाई सोझै अहिलेको भाषामा अध्ययन भन्न त कतिपयले मन नपराउलान् तर लगनको समयमा पानी पर्छ भन्ने विश्वास कसरी हुन गएको होला भन्ने कुरालाई विचार गर्ने हो भने यसमा लोकविश्वासको कारण थाहा पाउन खासै कठिन नहोला ।
मानिसको जीवनमा सबैभन्दा मुख्य तीन कुरा समाजले मान्दै आएको छ । पहिलो हो जन्म, दोस्रो हो विवाह र अन्तिममा मृत्यु । हरेक मानिसले आफ्नो जन्मदिन के भएको थियो ? विवाहको दिनको मुख्य घटना के हो र आफ्ना परिवारका मुख्य सदस्यको देहावसान हुँदाको परिस्थिति कस्तो थियो भन्ने कुराको विश्लेषण गर्दै आएको छ । यी तीन प्रमुख घटनामध्ये विवाहको दिन धेरैले सम्झिरहेका हुन्छन्, यसकारण त्यस दिन के भएको थियो भन्ने कुरा गरिरहन्छन् । यस्तो पनि छ कि विवाहको समयमा भएको प्राकृतिक घटनालाई सबैले याद गर्दछन् । यसै कारण वर्षा भएको दिन सम्झना हुन्छ र यो एक पुस्ताबाट अर्को पुस्तामा सुनाउँदै जाँदा यस किसिमको विश्वास बन्न पुगेको हो ।
कतिपयले लगनको संयोग नै यस्तो हुन्छ कि त्यस दिन पानी पर्छ भन्दछन् । यो मान्यता हो वा वैज्ञानिक आधार ? समयको आउँदा दिनमा यसले थप आधार पाउला वा विश्वास नै हराएर जाला तर वर्तमान आधारमा के भन्न सकिन्छ भने समाजमा यो विश्वास रहेको छ कि लगनको सम्बन्ध मौसमसित रहेको छ ।