रेणुका जि सी बैशाख २१ गते
कोरोनाको दोस्रो लहरले विश्व नै आक्रान्त पारेको छ । विज्ञहरूका अनुसार पोहोर चीनबाट फैलिन थालेको कोरोनाभाइरसले आफ्नो स्वरूप फेर्दा बनेका नयाँ भेरिअन्ट अर्थात् प्रकारका कारण सङ्क्रमण अझै तिव्रगतिमा फैलिएको हो । हामीले केही दिन अघिसम्म छिमेकी राष्ट्र भारतको अवस्था समाचारमा पढेर, सुनेर , देखेर मुटु छियाछिया पार्थ्यौँ । भारतको अवस्था अझ भयानक भैरहेकै बेला संक्रमणको उच्च जोखिममा हामी आफै छौँ । अब हाम्रै देशभित्रको , हाम्रै घर वरपरको , हाम्रो आफ्नै परिवारको या हामी आफू स्वयमको दर्दनाक अवस्थाको साक्षी आफै बन्नुपर्ने समय आइरहेको छ ।बैशाख २१ गते मंगलबार मात्र २४ घण्टामा थप ७,६६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो आजसम्मकै उच्च संख्या हो । कुल १६७०२ जनाको पिसिआर परिक्षण गर्दा ७६६० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसको संक्रमण दर करिब ४६ प्रतिशत हुन आउँछ । यसलाई विश्वमै उच्च संक्रमण दर भनिएको छ । मंगलबार सम्म देशभर कुल २५, ३७,२९५ को पिसिआर टेस्ट भएकोमा ३, ५१’००५ संक्रमित भएको जानकारी पाइन्छ । जसमध्ये २, ८७,७९० जनाले कोरोनालाई परास्त गरेका छन भने सक्रिय संक्रमितहरु ५९,७९८ कोरोनासँग जुधिरहेका छन । ३,४१७ जनाले ज्यान गुमाइसकेको अवस्था छ । कोरोनाको यो ग्राफ दिनहुँ बढ्दो छ । परिचित र आफन्तहरुको कोरोना संक्रमणको खबर आइरहेको छ । ट्विटरमा शुशिल भट्टराई लेख्छन जनकपुरका ४५ वर्षीय लोकबहादुर परियारले कोरोनाको कारण अस्पताल चहार्दाचहार्दै बाटोमै ज्यान गुमाए। । भोलि सारा नेपालीले यही नियति भोग्नु नपरोस । उनले प्रधानमन्त्रीसँग गुनासोसँगै अनुरोध गरेका छन ’ कृपया आफूमात्रै जोगिन शिशाको बारभित्र नबस्नुस्। बेड, अक्सिजन, आइसियु, भेन्टिलेटरको सक्दो व्यवस्था गर्नुस् ! ’ ट्विटरमा स्वरुप आचार्यले पनि लेखेका छन ’ परिवारमा कोरोना संक्रमित हुनुको आफ्नै पीडा छ । त्योभन्दा ठूलो पीडा केही परेर अस्पताल लग्नु परे के गर्ने भन्ने चिन्ताले थपिदिएको छ। यति लाचार महसुस भएको छ कि बयानै गर्न सक्दिन। ’ देशको राजधानी काठमाडौंमा संक्रमणको दर दिनहुँ उच्च बन्दै गएको छ । अस्पतालमा शैय्याहरु खाली छैनन । पशुपति आर्यघाटको विधुत शवदाहमा जलाइँदै आइएका कोरोना संक्रमितका शवहरु बाहिरै जलाउन सुरु गरिएको समाचार आएको छ । सिमित श्रोत साधन भएको हाम्रो देशमा कोरोनाले विध्वंश मच्च्याउने निश्चित छ । लोकबहादुर परियारको नियति हरेक घरमा घटन सक्छ । देशमा न प्रयाप्त अस्पताल छ न अन्य व्यवस्था । निजी अस्पतालमा चर्को शुल्क तिरेर पनि उपचार पाउन नसक्ने अवस्था आउन सक्ने देखिन्छ । केही नहोस् भनेर प्राथना गर्नेबाहेक अरु गर्न नसकिने अवस्था आउँदै छ । केही जटिलता भए के गर्नेहोला ? यस्तो अवस्थामा राज्यबाट ढिलो प्रयास भएको छ । त्यही भैरहेको प्रयास पनि प्रयाप्त छैन । तर यो समय हामीले सरकारको मुख ताकेर बस्ने या सरकरले यो गरेन त्यो गरेन भन्ने मात्र होइन । खबरदारी गरौँ तर सँगसँगै सुरक्षित बन्न र बनाउन नभुलौँ । अहिलेको यो कठीन समयमा जोगियौँ भने मात्र राज्यसँग , सरकारसँग उसका हरेक कार्यमाथि प्रश्न उठाउन पाउनेछौँ । हिसाबकिताब गर्न पाउनेछौँ । नागरिक आफैले स्वलकडाउन घोषणा गर्नुपर्ने अवस्था सृजना भैरहेको छ । पछिल्लो समय रौतहटमा कोरोना संक्रमणको त्रास बढ्दै जान थालेपछि कपडा तथा फेन्सी व्यवसायीले रौतहटको चन्द्रपुर नगरपालिका भित्रका सम्पुर्ण कपडा तथा फेन्सी पसलहरु सोमबारबाट बन्द गरेका छन । लकडाउन पूर्ण विकल्प होइन ।हामीले बुझिसकेका छौँ । अघिल्लो वर्षले पाठ पढाएको छ लकडाउनले भोकडाउन हुँदैन भनेर । घरेलु श्रमिक र दैनिक ज्याला मजदुरी गरेर खाने परिवारप्रति स्थानीय सरकारको ध्यान जान जरुरी छ । अघिल्लो वर्ष बाँडेको राहतले यो वर्ष धान्दैन । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको बारेमा गम्भिर भएर सोच्न पर्छ । असुरक्षित भएर काम गरिरहँदा उनीहरु संक्रमित भए भने अवस्था के हुन्छ ? उनीहरुलाई पहिचान गरी कसरी सुरक्षित राख्ने भन्ने बारे वडातहबाटै सोच्ने हो भने उचित विकल्प निस्कन सक्छ । बैशाख २१ गते साँझको ५ः३० मा यो आलेख तयार गर्दै गर्दा रौतहटमा मात्र आज १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ६८ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार आज फेला परेको संक्रमित मध्ये १० जना सक्रिय संक्रमित रहेका छन । यो सँगै रौतहटमा सक्रिय संक्रमितको संख्या १६५ पुगेको छ । तिमध्ये १२१ जना पुरुष र ४४ जना महिला रहेका छन । हिजोसम्मको १५५ र आजको १० जना गरी सक्रिय संक्रमितको संख्या १६५ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । दोश्रो लहरको कोरोना शुरुभएदेखी कोरोनाबाट रौतहटमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ । दोश्रो लहरको कोरोना शुरुभएदेखी अहिलेसम्म भारतबाट १८ सय १२ जना रौतहट प्रवेश गरेको समेत जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा सबैभन्दा धेरै सक्रिय संक्रमित गौर नपामा ४५ र गौर त्यस पश्चात सक्रिय संक्रमित चन्द्रपुरमा ३४ जना रहेको सुचनामा उल्लेख छ । यो भयावह अवस्थाबारे हामी चन्द्रपुरबासी कति चिन्तित छौं ? हामी सुरक्षित भएका छौँ त ! हिजोमात्र सुरक्षित रुपमा तरकारी पसलसम्म निस्कँदा देखेको चन्द्रपुर चोकको दृश्यले मेरो मन बिथोलिरहेको छ । चोकमा मानिसको भिड उस्तै छ । न त सामाजिक दुरी छ न त मास्कको उचित प्रयोग । मानिसहरुले प्रहरीको अगाडि मात्र मास्क लगाएर प्रहरीबाट ओझेल हुँदा बित्तिकै मास्क खोलेको देख्दा दिक्क लाग्यो । हामीले कसको लागि मास्क लगाइरहेका छौ ? प्रहरीको लागि ! सचेत हुनुपर्ने कुरामा नै यसरी अचेत हुँदा अप्ठ्यारो कसलाई पर्छ ? यही प्रसङ्गमा फेसबुकमा पढेको एउटा स्टाटस उल्लेख गर्न मन लाग्यो । लेखिएको थियो ’ जो कोरोनाबाट संक्रमित भए । अस्पताल गए । आइसियु भेण्टिलेटरमा बसे । उनीहरुलाई कोरोना महामारी हो भन्ने लागेको छ । जसले घरमा बसेर संक्रमणलाई जिते । उनीहरु कोरोनालाई सामान्य मानिरहेका छन । जो अहिलेसम्म कोरोनाको संक्रमणबाट जोगिएका छन उनीहरुले कोरोनालाई मात्र समाचार या तथ्याङ्क मानेका छन । ’ साँच्ची कतै हामीले कोरोनालाई समाचार मात्र त मानेका छैनौँ ? सचेत बनौँ । तपाईँ हामीलाई नै समाचार बनाउन , तथ्याङ्कमा समेटन आतुर कोरोना जहीँतहीँ हुन सक्छ । तपाईँ म जोसँग पनि हुन सक्छ । एकछिन मास्क नलगाउँदा के पो हुन्छ र ? ए त्यही सम्म त हो नि बाहिर निस्केर के फरक पर्छ र ? आफ्नै छिमेकीको , आफन्तको बिहे हो जानैपर्छ नि । हामी मात्र होटल गएर एनिभर्सरी बर्थ्डे मनाउँदा के पो हुन्छ र ? अहँ , यस्तो पटक्कै नसोचौँ । सोचौँ , म बाहेक सबैसँग कोरोना हुन सक्छ । सोही अनुसार सावधानी अपनाऔँ । आर्थिक रुपमा जसलाई दुइ छाकको जोहो गर्न पुगिरहेको छ , हामी थुपुक्क घरभित्र बसौँ । सन्तुलित खानपान गरौँ । योगाभ्यास गरौँ । पारिवारिक समय व्यतित गरौँ । मनलाई शान्त राखौँ ।हामी आफू एकजना मात्र संक्रमणबाट जोगिनु भनेको पनि आफूमात्र जोगिनु हैन ।हामी जोगिएकै कारण धेरै स्थानमा धेरै जनालाई सहज हुन सक्छ । एउटा पिसिआर किट जोगिन्छ । अस्पतालमा एउटा शैय्या अरु कसैको लागि खाली रहन्छ । हाम्रा प्रियजनहरु तनावमा रहँदैनन । त्यसकारण पनि लुखुर–लुखुर हिँडेर बिहे, भोज , राम– रमिता जताततै भ्याएर , पुलिस देख्दा मात्र मास्क लगाएर फेसबुकमा कोरोनाबाट बचौँ भनेर लेख्न चाहीँ छोडौँ । आफै अनुशासित बनौँ । हाम्रो सरकार हामी आफैँ हौँ । हाम्रो कानुन हामी आफैँ हौँ । आफैँले आफैँलाई सुरक्षित घेरामा राखौँ । कोरोना हामीलाई भेट्न आउँदैन, हामी नै उसलाई भेट्न दौडिरहेका छौँ । अत्यावश्यक काममा मात्र सुरक्षित भएर बाहिर निस्कौँ । विचार गरौँ कोरोना उपहार बोकेर छिमेकीको घरमा पुगेका पनि हुन सक्छौँ या कोरोना कोशेली बोकेर छिमेकीकोबाट फर्केका पनि हुन सक्छौँ । सबैले समयमा नै विवेकद्वारा काम गरौँ र गराऔँ । सोचौँ , म बाहेक सबैसँग कोरोना हुन सक्छ । सोही अनुसार सावधानी अपनाऔँ । भिडमा नजाऔँ कोभिडबाट जोगिऔँ ।