ओम प्रकाश यादव । बैशाख २६ गते, रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सवारी पास लिन सर्वसाधारणलाई आह्वान गरेको छ । प्रशासन कार्यालय गौरले आज एक सुचना जारी गर्दै जिल्लामा लागु गरिएको निषेधाज्ञा अवधीमा अति आवश्यक कार्य गर्न जानुपरेमा सवारी पास अनिवार्य लिन नियम लागु गरेको छ । दोश्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा गत बैशाख २४ गते शुक्रवार राति १२ बजेदेखी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश लागु गरिएको छ । यस अवधीमा दाहसंस्कार, पितृ कार्य, विवाह, ब्रतबन्ध, औषधी उपचार आदि कार्यका लागि अनिवार्य रुपमा पास लिनुपर्ने नियम लागु भएको छ । सो कार्यहरु गर्न पास आवश्यक भएकोले अनिवार्य रुपमा सवारी पास लिन जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय गौरमा आएर सवारी पास लिन आग्रह गरिएको छ । प्रशासन कार्यालयले पास लिन केहि नियम लगाएको छ । पास लिनका लागि जानुपर्ने ठाउँमा आउन र जान दुवै तर्फको स्थानीय तहको सिफारीस, विरामीको हकमा आवश्यक नहुने, जाने व्यक्तिको नाम र संख्या सहितको व्यवहोरा खुलेको निवेदन, विरामीको हकमा विरामीलाई रिफर गरेको पत्र, ब्लु बुक, सवारी चालक अनुमति पत्र लाइसेन्स अनिवार्य रुपमा लिएर आउन प्रशासन कार्यालयले अनुरोध गरेको सुचनामा उल्लेख गरिएको छ