रौतहटमा विकास योजनाको अनुगमन तीव्र, गुणस्तरमा विशेष जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (१ घण्टा अघि)
  • ६२ पटक पढिएको
रौतहटमा विकास योजनाको अनुगमन तीव्र, गुणस्तरमा विशेष जोड

रौतहट, ३१ जेठ । पर्यटन विकास कार्यालय रौतहटले निर्माणाधीन योजनाहरूको अनुगमन तीव्र पारेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालनमा रहेका योजनाहरूको नियमित अनुगमनलाई प्राथमिकतामा राखेको पर्यटन विकास कार्यालय रौतहटका प्रमुख बबिता जैसवालले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यालयको दैनिक कामसँगै योजनाहरूको अनुगमनलाई उच्च प्राथमिकतामा राखिएको छ। कार्यालयका प्राविधिक, निर्माण व्यवसायीरउपभोक्ता समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको संयुक्त टोलीमार्फत अनुगमन कार्यलाई निरन्तरता दिइएको छ।

कार्यालयबाट सञ्चालन भइरहेका विभिन्न विकास निर्माण योजनामा विनियोजित बजेटको सही सदुपयोग होस् तथा गुणस्तरीय काम सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको कार्यालय प्रमुख जैसवालले बताउनुभयो।

“यसरी प्रत्येक क्षेत्रमा भइरहेको कामको अनुगमन गर्दा गुणस्तर कायम रहन्छ र कुनै कमी–कमजोरी भएमा तत्काल सुधार गर्न सकिन्छ,” उहाँले भन्नुभयो। अनुगमनपछि उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरोकारवाला निकायसमेत थप जवाफदेही हुने विश्वास लिइएको छ।

बौधीमाई नगरपालिका–५, कोपवा स्थित भकुवा नदीमा निर्माणाधीन छठघाटको एउटा पिलरमा समस्या देखिएपछि तत्काल उक्त पिलर भत्काएर पुनर्निर्माण गर्न लगाइएको कार्यालय प्रमुख जैसवालले बताउनुभयो। कामका क्रममा समस्या आउनु स्वाभाविक भए पनि गुणस्तरमा कुनै सम्झौता नगरिने उहाँले स्पष्ट पार्नुभयो।

कार्यालयले शुक्रबार गढीमाई नगरपालिकामा सञ्चालनमा रहेका योजनाहरूको अनुगमन गरेको हो। प्राविधिक टोलीसहित गरिएको अनुगमनले निर्माण कार्य अझ गुणस्तरीय हुने गढीमाई नगरपालिका–२ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताउनुभयो। कार्यालयका अनुसार यस वर्ष ८० प्रतिशतभन्दा बढी योजना सम्पन्न हुने अनुमान गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस