पीईभीसीमा अवकाश कोषको लगानी : अवसर कि जोखिम ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १०, बुधबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
पीईभीसीमा अवकाश कोषको लगानी : अवसर कि जोखिम ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अवकाश कोषहरूले पनि विशिष्टीकृत लगानी कोषमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले सम्बन्धित कोषका ऐन नै संशोधन गरी लगानीको नयाँ क्षेत्रको रुपमा विशिष्टीकृत लगानी कोषलाई समेटेको हो ।

सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र समाजिक सुरक्षा कोषलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी (पीईभीसी)मा लगानी गर्ने कानुनी व्यवस्था गरेको हो ।

तर, कर्मचारीको तलब काटेर बन्ने यस्ता कोषबाट गरिने लगानीको सम्भावित जोखिमबारे खासै चासो देखाइएको छैन । विशिष्टीकृत लगानी कोषको लगानी सेयर बजार हाराहारीमै जोखिमपूर्ण हुने जानकार बताउँछन् । नेपाल राष्ट्र बैंकले पनि पीईभीसीको लगानी उच्च जोखिमपूर्ण वर्गमा राखेको छ ।

नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली २०७५ को नियम २२ मा पीईभीसीमा लगानी गर्न पाउने लगानीकर्ताको योग्य सूची उल्लेख गरेको छ । नियमावली अनुसार जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपूँजीमा लगानी गर्न सक्ने व्यवस्था छ ।

त्यसरी लगानी गर्न सक्नेमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश कोष, कल्याणकारी कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानुन बमोजिम मान्यता प्राप्त संस्था तथा कोष रहेका छन् । अन्तर्राष्ट्रिय संस्था वा विदेशी व्यक्ति वा विदेशी फर्म, कम्पनी वा विदेशी संस्थागत लगानीकर्ता वा विदेशमा दर्ता भएको कोष वा विदेशी कोष व्यवस्थापक, नेपालमा स्थापना भएका संस्था, नेपाली नागरिक तथा गैर आवासीय नेपाली पनि लगानीकर्ता हुन सक्छन् ।

अवकाश कोष पनि पीईभीसीतर्फ आकर्षित भएको कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक जितेन्द्र धितालले बताए ।

तर, पीईभीसीहरू पब्लिक कम्पनीजत्तिको पारदर्शी नहुने, उनीहरु लगानीकर्ताप्रति मात्रै जवाफदेही हुने र कम्पनी सम्बन्धी जानकारीहरु लगानीकर्तालाई मात्रै उपलब्ध गराए पुग्ने हुनाले यस क्षेत्रको लगानी जोखिमयुक्त हुने एक कोष व्यवस्थापकले बताए ।

‘पब्लिक कम्पनीले जस्तो यिनले सूचना सार्वजनिक (डिस्क्लोज) गर्नुपर्ने हुँदैन,’ ती व्यवस्थापकले भने, ‘साथै लगानी गरिने कम्पनीको वास्तविक मूल्याङ्कन नहुने तथा लगानी फिर्ता लिन झन्झट हुने र प्रतिफलको पनि सुनिश्चितता हुँदैन । अझ भेन्चर क्यापिटलको सन्दर्भमा नवप्रवर्तनमा लगानी गर्ने भएकाले झनै जोखिमपूर्ण हुन्छ ।’

नवप्रवर्तन असफल हुने सम्भावना धेरै हुने हुँदा लगानी नै डुब्नेसम्मको जोखिम रहने उनको बुझाइ छ । नेपालकै सन्दर्भमा पनि सस्तो डिल, निदान हस्पिटललगायत कतिपय संस्थामा विशिष्टीकृत लगानी कोष भित्रिँदा पनि सफल हुन नसकेको उनले स्पष्ट पारे ।

त्यसका साथै नियमनको आधार पनि तुलनात्मक रुपमा कमजोर भएकाले यो क्षेत्रको लगानी ‘उच्च जोखिम र उच्च प्रतिफलको रुपमा चिनिने उनको बुझाइ छ ।

सर्वसाधारणको बचत जम्मा हुने कोषहरू नागरिक लगानी, कर्मचारी सञ्चय वा सामाजिक सुरक्षाको पैसा लगेर उच्च जोखिम क्षेत्रमा लगानी गर्दा निक्षेपकर्ता तथा योगदानकर्तालाई अन्याय हुन सक्ने ती व्यवस्थापकले बताए।

पीईभीसीमा लगानी गर्दा नोक्सानीको जिम्मा कोष आफैले लिनुपर्ने भएकाले जोखिमको पर्याप्त विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनले सुझाए । नेपाल धितोपत्र बोर्डले २०७५ सालमा नियमावली ल्याएपछि पीईभीसी क्षेत्र नियमनको दायरामा आएको हो । त्यसपछि सरकार तथा नेपाल राष्ट्र बैंकले यस क्षेत्रको सहजीकरणका लागि नीतिगत सहजीकरण पनि गरेका छन् ।

नेपाल राष्ट्र बैंकले २०८१/८२ को मौद्रिक नीतिमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड/भेन्चर क्यापिटल फन्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गर्‍यो ।

त्यसपछि केन्द्रीय बैंकले पीईभीसी कोष सञ्चालकको सेयरमा लगानी गरेको रकमलाई बैंकहरूले पूँजीकोष गणना गर्दा घटाउन पाउने व्यवस्था गर्‍यो । तर, कोषका इकाइ खरिदमा गरिएको लगानीका सन्दर्भमा अझै पनि १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था कायम छ ।

त्यसैगरी सरकारले पनि नियमावली आएपछिका बजेटमा पीईभीसीको विषय समेटेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा विभिन्न कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । लगानीकर्ताहरूले सम्झौतामार्फत कोषमा लगानी गर्ने प्रतिबद्धता जनाएको कुल रकमलाई सम्झौतित कोष भनिन्छ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमा पनि लगानी प्रवद्र्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गर्ने तथा एञ्जेल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन गर्ने उल्लेख छ ।

सरकारले वैशाख २० गते अध्यादेशमार्फत केही ऐन संशोधन गर्दा नागरिक लगानी कोष ऐन, कर्मचारी सञ्चय कोष ऐन र समाजिक सुरक्षा कोष ऐन संशोधन गरेर पीईभीसीमा ती कोषलाई लगानी गर्ने बाटो खुला गरेको छ ।

कर्मचारी सञ्चय कोषको लगानी दायरा विस्तारका लागि ऐन नै संशोधन गर्नुपर्ने भएकाले सो अनुसार सरकारले अध्यदेशमा समेटेको धितालले बताए । धितोपत्र बोर्डले पनि नीतिगत व्यवस्था गरेर अवकाश कोष सबैलाई पीईभीसीमा लगानी गर्न लगाउने उल्लेख गरेपछि सो अनुसार कोषहरूले काम गरेको उनको भनाइ छ ।

‘लगानीमा जोखिम त हुन्छ नै,’ धितालले भने, ‘पीईभीसीले इक्विटीमार्फत नै लगानी गर्ने हो, सञ्चय कोष आफैले पनि पूर्वाधार परियोजनामा इक्विटी नै हाल्ने हो, इक्विटीमा लगानी गर्दा क्षेत्र अनुसारका विज्ञहरूको सुझावसहित लगानी हुने भएकाले पनि पीईभीसीमा लगानी ठिक हो भन्ने लाग्छ ।’

लगानीका क्षेत्र अनुसार विज्ञ हुने र धितोपत्र बोर्डको नियमन भित्र पनि हुने भएकाले पीईभीसी मार्फत लगानी गर्नु उपयुक्त नै रहेको उनको बुझाइ छ । साथै इक्विटीमै लगानी गर्ने भएपछि पीईभीसी मार्फत जाँदा सहज हुने उनले बताए।

‘जसले पायो त्यसले चलाउने अवस्थामा अवश्य जोखिम हुन्छ,’ उनले भने, ‘अहिले पीईभीसी रेगुलेटेड भएजस्तो देखिँदैन, प्रत्येक बिजनेस घरानाहरूको क्रस होल्डिङ जस्तो छ । एउटाको पीईभीसीमा अर्कोले रकम हालिदिने, अर्कोको पीईभीसीबाट अर्कोमा हालिदिने परिपाटी भएकाले जोखिम भएको हो ।’

तर अलिकति प्रभावकारी नियमन भएको खण्डमा जोखिम न्यूनीकरण हुने उनको भनाइ छ ।   त्यसैले नेपालका कोषहरूले पनि आफ्नो कोषको २–३ प्रतिशत पीईभीसीको फन्डमा लगानी गरेर पोर्टफोलियो व्यवस्था गर्नु उपयुक्त हुने उनको बुझाइ छ ।

‘पीईभीसी नेपालमा भर्खर सुरुवात हुँदैछ, यसको बारेमा सर्वसाधारणलाई धेरै थाहा छैन, अर्कोतर्फ प्रभावकारी नियमन नभएकाले अहिलेको अवस्थामा जोखिम अलि बढी छ’ उनले भने, ‘डेभलपर्सहरू विशेषगरी जलविद्युत् वा पूर्वाधार परियोजनामा इक्विटी नै लगानी गर्न नसकेको अवस्थामा पीईभीसीले इक्विटीमा लगानी गर्दा उपयुक्त हुने उनी बताउँछन् ।

पीईभीसीको मुख्य उद्देश्य इक्विटीका रुपमा लगानी गर्ने अनि आफैं व्यवस्थापनमा जाने हो । अहिलेको सन्दर्भमा साधारण सेयर निष्कासन (आईपीओ) गर्ने तयारमिा रहेका कम्पनीमा डिस्काउन्टेड रेटमा लगानी गर्ने, अनि केही महिनामै आईपीओमा लगेर पछि दोस्रो बजारमै सेयर बेचेर बाहिरिने अभ्यास बढेको उनले बताए । त्यस्तो परिपाटीमा काम गर्ने पीईभीसीहरू हावी भएमा जोखिम बढ्ने उनी बताउँछन् ।

धितोपत्र बोर्डबाट अनुमति लिएका पीईभीसी कोष व्यवस्थापकको संख्या १९ पुगेको छ । यी व्यवस्थापकले करिब २५ अर्ब रुपैयाँ लगानी गरेका छन् । हालसम्म १८ कम्पनीमा विभिन्न कोषले लगानी गरेर फिर्ता भइसकेका छन् । हालसम्म धितोपत्र बोर्डबाट स्वीकृत भएका पीईभीसी कोषहरुको संख्या १५ रहेको छ । यी कोषहरुले कुल ४१ अर्ब ७५ करोड रुपैयाँ कोष संकलन गरी परिचालन गरेका छन् । त्यसैगरी साढे ८ अर्ब रुपैयाँ बराबरको ७ वटा कोष स्वीकृतिका लागि बोर्ड पुगेका छन् ।

पीईभीसीमा लगानी गर्न कसले पाउँछ ?

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अनुसार पीईभीसीको इकाइ खरिद गर्न पाउने व्यक्ति तथा संस्था तोकिएको छ ।

दर्ता तथा निष्कासनका लागि अनुमति पाएका पीईभीसी कोषले रकम संकलनका लागि लक्षित लगानीकर्ता पहिचान गरी परिपत्र विधि वा व्यक्तिगत सम्पर्कको माध्यमबाट इकाइ बिक्री गर्ने व्यवस्था छ । कोषले बोर्डबाट इकाइ निष्कासनको स्वीकृति पाएको मितिले तीन महिनाभित्र इकाइ निष्कासन सुरु गरी दुई वर्षभित्र सक्नुपर्छ ।

कोषले अन्तर्राष्ट्रिय संघ, संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई इकाइ निष्कासन गर्दा ऋणको रुपमा समेत इकाइ निष्कासन गर्न सक्नेछ । साथै, अन्तर्राष्ट्रिय संघ, संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको इकाइको रकम संकलन गर्दा विधानमा समय र किस्ताको व्यवस्था गरी सोही बमोजिमको समयमा किस्ता संकलन गर्न सक्नेछ ।

प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड भनेको के हो ?

प्राइभेट इक्विटी भनेको पहिले नै स्थापित भएको कम्पनीलाई झनै ठूलो वा विस्तार गर्नका लागि पूँजी लगानी गर्ने माध्यम हो । कोषले त्यस्ता कम्पनीमा सेयर वा कर्जा लगानी गर्छन् । त्यसपछि ती कम्पनीको स्वामित्व सर्वसाधारण वा अन्य व्यवसायी वा संघसंस्थालाई बिक्री गरेर आफू बाहिरिन्छन् । लगानी गरिएका कम्पनीको भ्यालु बढाएर नाफामा पुर्‍याएपछि स्वामित्व बिक्री गरेर कोषहरू बाहिरिन्छन् ।

धितोपत्र बजारमा सूचीकरण नभएका, सञ्चालनको सुरुवाती क्रममा रहेका वा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेका वा सञ्चालनमा रहेका नवीनतम ज्ञान, सिप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न सेयर स्वामित्व पूँजी वा ऋणको लगानी गर्ने कोष हो । प्राइभेट इक्विटीमा भन्दा धेरै यसमा जोखिम हुने मान्यता छ ।

भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाती कम्पनीहरूमा संयुक्त पूँजी लगानी गर्छ । यसको विशिष्टता भनेको सुरुवाती स–साना कम्पनीहरूमा इक्विटी र ऋणको लगानी गर्नु हो । आज लगानी गर्नेव्यवस्थापन सम्हाल्नेआम्दानी र मुनाफा बढाउनेअनि कम्पनी नै बिक्री गरेर मुनाफा कमाउने काम भेन्चर क्यापिटलले गर्छ ।

भर्खरै स्थापना भएका कम्पनी जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना रहन्छ, तर व्यवस्थापनको समस्या कारण प्रतिफल दिन नसकिरहेको अवस्था छ भने त्यस्ता कम्पनीमा भेन्चर क्यापिटलले लगानी गर्छ । समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्नेव्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर बिक्री गर्ने काम प्राइभेट इक्विटी फन्डले गर्छ । प्राइभेट इक्विटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ । प्राइभेट इक्विटीको लगानी लामो समयको लागि हुन्छ ।

प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्डले यस्ता उद्योगमा आवश्यकता बमोजिम पूँजी लगानी गर्नेयिनीहरुको विस्तारको सम्भावना हेरी आवश्यकता अनुसार प्राविधिक रुपले सहयोग गर्नेसञ्चालन तथा वित्तीय सुशासन सुनिश्चित गर्ने लगायतका काम गर्छ ।

ठूला ठूला उत्पादनमूलक उद्योगहरूमा पूँजी लगानी गरी सुशासन कायम गर्ने तथा धितोपत्र बजारमा सूचीकरण गराउनमा समेत पीईभीसिको महत्त्वपूर्ण योगदान हुन्छ । प्राइभेट इक्विटी फन्डहरूले यसरी इक्विटीका रुपमा लगानी गरिसकेपछि यस्ता उद्योगमा वित्तीय तथा सञ्चालन सुशासन कायम गराउँछन् ।

साथै कोषले निश्चित समयपछि लगानी झिक्नुपर्ने हुँदा धितोपत्र बजारमा सूचीकरण गराउन प्रेरित गर्दछन् । त्यसैले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्डले देशको आर्थिक विकासमा ठूलो भमिका खेल्न सक्दछन् ।

विशेष गरी व्यवसायिक घरानाहरूको कब्जामा रहेका उद्योग व्यवसायमा समेत लगानी गरी सूचीकरण मार्फत सर्वसाधारणसम्म पुर्‍याउने काम समेत पीईभीसीले गर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस