झन्डै ठप्प छ देश अहिले । गाउँघरमा अझै पनि सामान्य नभए पनि दैनिकीमा खासै भिन्नता छैन । मानिसहरुले आफ्नो कृषि कर्म गरिरहेका छन् । पशुपालन व्यवसाय गरिरहेका छन् । यद्यपि गाउँबाट बजारतिर लगेर दूध र दही बेच्ने काममा भने रोकावट आएको छ । किनभने बजारका होटलहरु बन्द छन् । तरकारी किसानले पनि अब घाटा बेहोर्नुपर्ने समय आउन लागेको छ किनभने एक हप्तामा त टिप्नुपर्ने तरकारी नटिप्दा छिप्पिने डर हुन्छ । गाउँमा अन्य कृषि व्यवहार ठिकै छ ।
सहरी दैनिक ज्यालादारीका मजदुरहरुलाई भने समस्या भएको छ । यातायात मजदुर, ढुवानी मजदुर, पलदारी गर्ने मजदुर, ठेला चलाएर आजीविका गर्ने तथा कसैको पसलमा काम गरी ज्याला बुझ्ने मजदुरहरुको जीवन अहिले कसरी चलेको छ त ? यसबारे सम्बन्धित स्थानीय तहले ध्यान दिनु आवश्यक रहेको छ । वास्तवमा महामारी त सबैको लागि हो तर भोकभोकै कसैको परिवार मर्ने अवस्था आउनु हुँदैन । महामारीले धेरै वर्गलाई निसन्देह घाटा छ तर घाटा हुनु र ज्यान जाने अवस्था आउनुमा भिन्नता छ । अहिले स्थानीय सरकार शक्तिसम्पन्न रहेकोले काम गर्ने अवसर गुम्दाको अवस्थामा खान नपाएर कोही मर्ने अवस्थामा पुग्नु हुँदैन ।
बाँच्न पाउनु सबैको अधिकार हो । मानिसको बाँच्न पाउने अधिकारको लागि नै अघोषितरुपमा स्वास्थ्य संकटकाल चलिरहेको छ । यसमा स्वास्थ्यबाहेकका सबैथोक करिब बन्दको अवस्था छ । यस समयमा नितान्त गरिबहरुले पनि बाँच्न पाउनु पर्ने अधिकारलाई स्थानीय समुदाय तथा स्थानीय सरकारले सुरक्षित गर्नुपर्छ । यो अहिलेको अवस्थामा देखिएको अति विशिष्ट कर्तव्य पनि हो ।