सञ्जय साह ‘मित्र’
मानवसागर हुन सक्दैन यो ठाउँ किनभने सागरमा त प्रवेशमात्र हुन्छ निकासद्वार हुँदैन । गंगामा अनेक नदीहरु मिसिन्छन् र बग्ने भने एकैतिर हो । यो तथ्यांक नै होइन तर के मानिन्छ भने नेपालबाट बग्ने नब्बे प्रतिशतभन्दा बढी पानी गंगामै जान्छ । नेपालको मात्र होइन, उत्तराण्डको केही भूभागको पानी, उत्तर प्रदेशको अधिकांश भागको पानी, झन्डै सम्पूर्ण बिहार र अधिकांश झारखण्डको पानी अनि पश्चिम बंगालको पनि ठूलो भूभागको पानी गंगामै अटाउँछ । गंगानदीमा गएर मिसिने नदीहरु आफैँमा विशाल छन् र गंगाले सबै पानीलाई बंगालको खाडीमा दुई ठाउमा लगेर मिसाउँछ ।
त्यसैले मानवको सागर हुन सक्दैन किनभने कुनै पनि ठाउँमा मानिसको प्रवेश हुन्छ र त्यहीँ थन्किँदैन । गंगाले जसरी पृथ्वीको एउटा ठूलो भूभागको पानीलाई त्यसको गन्तव्यसम्म पु¥याउने काम गर्दछ, देवघरले पनि सोही गरेको छ । देवघर भारत झारखण्डको एउटा जिल्ला र जिल्ला सदरमुकाम सहर पनि हो । यहाँ साउन महिनामा मानवगंगाको संसार रचिन्छ । संसार आफैँमा विविधतापूर्ण छ । संसारको विविधता कुनै एकै ठाउँमा प्राप्त गर्न मुश्किल छ । विविधताको आफ्नै आकर्षण हुन्छ तर सबैमा एकरुपताको आनन्द आफैँमा विशेष हुन्छ । कतै केही सय विद्यार्थी वा फौजी एकै किसिमको पोसाकमा देखिन्छन् भने त्यो कति राम्रो देखिन्छ ? तर यदि कतै सय होइन, हजार पनि होइन लाखौँ मानिस एकै पोसाकमा देखिन्छन् भने त्यो दृश्य कस्तो देखिएला ? हो मानव भनेका सबै मानव नै त हुन् नि ? पोसाकमा किन विभेद ? रङ्गमा किन विभेद ? देवघर साउनमा नाङ्गो खुटाको सहर बन्दछ । एकै रङ्गको वस्त्रको सहर बन्दछ । एकै बोली बोलबम बोलबमको सहर बन्दछ । सबै समान देखिन्छन् । कोही ठूलो र कोही पनि सानो देखिँदैनन् तर नजिकबाट हेर्ने हो भने विपन्न र सम्पन्न भने छुट्याउन सकिन्छ । हो, यस्तो अनुभूति हुन्छ कि सबै समान छन् तर सबै समानै हुन्छन् भन्ने होइन । सम्भवतः त्यो एउटा अवसर हो जहाँ एक महिनामा लगभग एक करोड मानिस एकै पोसाकमा जम्मा हुन्छन् र एकै किसिमको व्यवहार प्रदर्शन गर्दछन् ।
साउन महिनामा हरेक दिन कमसे कम एक लाख मानिस देवघर सहरमा पस्छन् । आइतवार, सोमवार र पञ्चमी तथा एकादशी तिथिको दिन यहाँ हुने भीडको कल्पना हामीले गर्न पनि सक्दैनौँ । अझ त्रयोदशी तिथिको दिन त मानिसको उपस्थिति अकल्पनीय हुन्छ । कसैले भने पनि पत्याउँदैनौँ । सिङ्गो सहरमा एकै किसिमको मानिस भरिएको हुन्छ । पाइला टेक्न पनि मुश्किल हुन्छ सहरको सडकभरि । कुरो २० साउन २०७५ को को हो । यस दिन हामी देवघरमा छौँ । देवघरमा शिवमन्दिर छ । पुरणहरुमा रावणले पूजा गरेको शिवमन्दिर भनिएको छ । यस तीर्थस्थललाई रावणेश्वर तथा वैद्यनाथ, बैजूनाथ आदि नामले पुकारिन्छ । सर्वसाधारणले बाबाधाम भनेर यसलाई बुझ्दछन् । झारखण्ड राज्यको प्रमुख तीर्थस्थलको रुपमा रहेको छ । यस तीर्थस्थलमा हरेक साउनमा मेरो पनि पुग्ने प्रयास हुन्छ । एक दशकभन्दा बढी समयदेखि निरन्तर हरेक वर्ष निरन्तर पुग्ने गरेको छु साथीहरुका साथमा । यो वर्ष पनि मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका क्याम्पस प्रमुख प्रेमलाल साह, शंकर गुदर माध्यमिक विद्यालय समनपुरका प्रधान शिक्षक देवेन्द्र साह, नमूना माध्यमिक विद्यालय गरुडाका अंग्रेजी शिक्षक अनीलकुमार निधि, शिक्षक मदन साह, मन्डल सर तथा मनोजकुमार यादव र म गरी सातजना छौँ । भारतीय स्कारपियो गाडी भाडामा लिएर यहाँ आइपुगेका छौँ हरेक वर्षजस्तै । र, हरेक वर्षझैँ बाबाधामलाई माध्यम बनाएर कुनै कतै नयाँ ठाउँ जानुपर्ने लक्ष्य पनि छ हाम्रो । बाबाधाम र बासुकीनाथको दर्शन पछि उत्तर प्रदेशको काशी र अयोध्या पुग्ने लक्ष्य छ । बनारस (काशी) र अयोध्या जानुपर्छ भन्ने मेरो प्रस्ताव यात्राको शुभसाइत चयनको लागि भएको हाम्रो बैठकमा मैले प्रस्ताव गरेको थिएँ । सर्वसम्मतिले पारित छ । यसपटक राम जन्मभूमि भनी चिनिएको अयोध्या र विद्याको केन्द्र भनेर चिनिएको काशी पुग्ने इच्छा पूरा हुने सम्भावना छ ।
करिब डेढ दशकदेखि म वर्षेनी पुग्दछु यहाँ । हामी अहिले सातजना रहेकामा चारजना आधा दशकदेखि सँगै आउँछौँ यसै गरी । हरेक साल नयाँ ठाउँ डुल्ने र वर्षको एक हप्ता दैनिक कार्यव्यस्तताभन्दा पृथक किसिमको वातावरणमा बिताउने ध्येय हुन्छ हाम्रो । तर यसपटकजति मानिसको भीड कहिल्यै देखिएन यहाँ । स्थानीयहरु पनि यसपटक मानिसको आगमन देखेर अचम्भित छन् । जता हे¥यो उतै भीड । साँझ परिसकेको छ, सडकभरि मानिसहरु हिडिँंरहेका छन् बोलबमको भेषमा । गल्ली, पसल र लजहरु सबै भरिएका छन् । हल्का पानी परिरहेको छ तर सडक भने टेक्नलाई खाली छैन । भीडसँगै बगिनुपर्दछ गंगाको पानीजस्तै । अत्यधिक भीडले मानिसको आफ्नो गति छैन हिँडाइको । कोही छिटो पनि हिँड्न सक्दैन, कोही चाहेर पनि ढिलो हिँड्न सक्दैन । खोलामा पानी हुँदा आफ्नो गति हुन्छ तर गंगामा पुगेपछि सबैको गति उही हुन पुग्दछ ।
सहरमा पुग्नुभन्दा तीन किलोमिटर पहिले एक नम्बर र दुई नम्बर बसपार्क निर्माण गरिएका छन् अस्थायी । आँखामा अटाउँञ्जेल गाडीको लस्कर देखिन्छन् । यात्रुहरु कोही गाडीमै सुतेका छन् त कोही गाडी निकालेर देवघरभन्दा बाहिर गइरहेका छन् बासको खोजीमा । सामान्यतया सबै बाहिरिया गाडीलाई देवघर सहरमा प्रवेश निषेध छ । कतैबाट पनि बोलबमको भेषमा रहेका कुनै पनि गाडी देवघर सहरको अनुहार हेर्न भने पाउँदैन । सुरक्षा व्यवस्था अत्यन्त कडा छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त । सम्हाल्नै नसकिने ।
एक नम्बर बसपार्कको छेउमै ठूलो पण्डाल बनाइएको छ । यात्रुहरुलाई आराम गर्न निर्माण गरिएको यस पण्डालको विशालता अवर्णनीय छ । हेर्दा दश बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको देखिन्छ । झन्डै दशदेखि बीस हजार खटियाहरु राखिएका छन् । जमिनको सतहभरि बाक्लो प्लाईवुड बिछ्याइको छ । प्लाईवुडमाथि हरियो महंगो कार्पेट बिछ्याएको छ । त्यसमाथि फलामे खटियाहरु राखिएका छन् । दशदेखि बीस हजार बोलबम आरामले सुत्न सक्छन् । पर्याप्त पंखा झुण्ड्याएका छन् । मोबाइल चार्ज गर्ने व्यवस्था गरिएको छ । खटियामाथि जति मानिस सुत्न सक्छन्, त्यसभन्दा दोब्बरभन्दा बढी मानिस भूइँमै सुत्न सक्छन् । एकचोटिमा सयौँजना शौचालय जाने, सयाँैजना स्नान गर्न सक्ने व्यवस्था मिलाइएको छ । खानेपानीको व्यवस्था गरिएको छ । सिसिटिभीले निरन्तर कडा निगरानी भइरहेको छ । कतै कुनै कुनामा भीड बढ्यो वा दुईचारजना केहीबेर उभिए वा निरीक्षणकर्तालाई कुनै शंका लागेमा माइकद्वारा तत्काल सतर्क गराइन्छ । सुरक्षाकर्मी तत्काल पुग्छ । देखेर अचम्भित र विस्मित मात्र हुने होइन, सुविधा उपभोग पनि गर्नु बाध्यता छ किनभने हामी गाडीनेर फर्केर आउँदा रात छिप्पिइसकेको हुन्छ । गाडी तत्काल निकाल्न सकिँदैन । निकालेर पनि कहाँ गएर लज खोज्ने । सहरमा पस्न सकिँदैन । लगभग निरुपाय हुन्छाँै ।
हो, यसलाई मानवसागर भन्न सकिन्छ अल्पकालको लागि । पण्डालबाट कोही बाहिर निस्किेको देखिँदैन अहिले । मानिसहरु पसिरहेका छन् र कतै कुनै कुनातिर गएर सुतिरहेका छन् – खाटमा, भूइँमा । कति हजार मानिस सुतेका छन् वा बसेका छन्–गन्ने सामथ्र्य आफूमा छैन । विस्फारित आँखा र अकल्पनीय अनुमानले द्रवित हुन्छौँ मात्र । हामीमध्ये तीनजना एसि चलाएर गाडीमै सुत्छन् तर चारजना भने यहीँ सुविधा उपयोग गर्दछौँ । धन्य त्यहाँको सरकारले गरेको व्यवस्था र व्यवस्थापन कुनै आश्चर्यभन्दा कम छैन ।
निदाउनुपूर्व हामी छलफल गर्छौँ – देवघरमा आजको रात घटीमा पाँच लाख आगन्तुक हुनुपर्छ हामीजस्ता । हामीजस्ता नेपालीको संख्या पनि हजारौँमा हुनुपर्छ ।