देशको राजनीति फेरि जटिल बनेको छ । प्रधानमन्त्री केपिशर्मा ओलीले विहीवार साँझ राष्ट्रपति विद्यादेवी भन्डारीलाई पत्र पठाउँदै वर्तमान अवस्थामा विश्वासको मत लिन नसकिने भन्दै वैकल्पिक सरकारका लागि आह्वान गर्न आग्रह गरेपछि देशको राजनीतिमा तरंग उत्पन्न भएको छ । राष्ट्रपति कार्यालयबाट शुक्रवार साँझ पाँच बजेसम्म वैकल्पिक सरकारको लागि नियमानुसार आह्वान हुँदा देश पुरै तरंगित भएको थियो कि राष्ट्रपति र प्रधानमन्त्री दुवैले संविधानको उल्लंघन गरे भनेर तर शुक्रबार निर्धारित समयभन्दा पहिले शेरबहादुर देउवा तथा केपिशर्मा ओली दुवैले आफूसित बहुमत रहेको दाबीसहित आवेदन पेश गरेका छन् ।
यसमा एमालेको माधव नेपाल समूह र राजपाको महन्थ ठाकुर समूह दुवैतिर गणना गरिएका छन् ।
आफ्नो नेतृत्वमा सरकार नभए कसैलाई समर्थन नगर्ने भनी राजपा अध्यक्षद्वय उपेन्द्र यादव तथा महन्थ ठाकुरले संयुक्त वक्तब्य जारी गरेको मसी नसुक्दै यादव समूह देउवातिर र ठाकुर समूह ओलीतिर लागेका छन् । दुवै समूहले मिलेर निकालेको वक्तव्य आफै अहिले जिल्ल परेको अवस्था छ ।
नेपाल समूहतिरबाट देउवालाई समर्थन रहेको भनेर हस्ताक्षर रहेका एक साँसदले आफ्नो हस्ताक्षरको दुरुपयोग गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएको पनि सार्वजनिक भएको छ । अझ केही साँसदहरुले पनि वक्तव्य निकालेर देउवालाई समर्थन नगरेको बताएको सार्वजनिक भएको छ । फेरि एमाले अध्यक्षको नाताले ओलीले पनि देउवालाई समर्थन गर्ने सबै साँसदलाई कारबाही गरिएको पत्र पनि पठाएका छन् ।
अहिले देशको राजनीति कता जान्छ र के हुन्छ भन्ने जिज्ञासा सबैतिर रहेको छ ।