किशुदयाल श्रीकृष्ण
आज नरसिंह जयन्ती हो । म कक्षा ४ मा हँुदा एउटा विषय पढाई हुन्थ्यो ः नैतिक शिक्षा । त्यो पाठ्य–पुस्तक पचास पूर्णाङ्कको हुन्थ्यो । त्यसको एउटा पाठ थियो भक्त प्रह्लाद । हिरण्यकश्यप नामको राक्षसको तिनवटै लोकमा अत्याचार वढन थाल्यो । ऊ आफुलाई अत्यन्त शक्तिशाली ठान्दथ्यो । उसको अत्याचारको अगाडि सबै डराउँथे । उसको डर सबैतिर बढ्दै जान थालेपछि उसले आफैलाई भगवान घोषणा ग¥यो र सबैलाई यस्तो आदेश दियो कि सबैले उसैलाई भगवान मानोस्, सबैले उसैलाई पूजा गरोस् । उसको राज्यमा उसलाई भगवान नमान्ने र उसलाई पूजा नगर्ने अपराधी मानिन थालियो । जो सन्त वास्वतमा विष्णु भगवानको पूजा गर्दथे तिनीहरुलाई हिरण्यकश्यमका दूतहरुले सताउन थाल्यो, दुःख दिन थाल्यो । हिरण्यकश्यपको अत्याचार यति धेरै बढ्यो कि पृथ्वीको मानिसदेखि स्वर्गका देउतासमेत उसको अत्याचार डराउन थाल्ये । उसले साधु सन्तलाई सताउने र मार्ने त गर्न थाल्यो नै, देउताहरुलाई पनि चुनौती दिन थाल्यो । यसले गर्दा सबैतिर हाहाकार मचिन थाल्यो । सबैतिर उसको भयले आक्रान्त हुन थाल्यो ।
कथाअनुसार ऋषि कश्यप र दितिका दुई पुत्र भए हिरण्याक्ष र हिरण्यकश्यप । दुवै दाइ भाइ नै असुर प्रवृतिका भए । भगवान विष्णुको पूजा गर्ने साधु सन्तलाई ठूलो दुःख दिन थाल्यो । हिरण्याक्षको हजार हात भएको मानिन्छ । उसले आफूलाई अत्यन्त शक्तिशाली बनायो र आफ्नो हजार हाथले देउता र साधु–सन्तलाई सताउन थाल्यो । उसको अत्याचारदेखि आजित भएर भगवान विष्णुले वराह रुप धारण गरी उसको बध गर्नु भयो । यसबाट दुखित भएर हिरण्यकश्यप मेरु पर्वतमा गएर सृष्टिको रचयिता भगवान ब्रह्माको घनघोर तपस्या गर्यो । ब्रह्माको घनघोर तपस्या गर्दागर्दै कैयौँ युग बित्यो । एक दिन ब्रह्मा उनको तपस्याबाट खुसी भए र उसलाई वरदान माग्न भने । ब्रह्मासित उसले यस्तो बरदान माग्यो ः हे सुष्टिकर्ता ब्रह्मा, यदि तपाईँ साच्चै मेरो तपस्याबाट प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो वरदान दिनुस् कि यस सृष्टिको कुनै मानव अथवा पशुबाट म नमरुँ, मेरो मृत्यु दिनमा न रातमा हुन सकोस्, घरभित्र तथा घरबाहिर पनि म नमरुँ, खुल्ला आकाशमा पनि मेरो मृत्यु नहोओस्, न कुनै वस्तुमा ठोकेर म नमरुँ, कुनै अस्त्र शस्त्रबाट पनि मेरो शरीर नकाटियोस्, आगोबाट पनि म नजलूँ र पानीमा डुबेर पनि मेरो मृत्यु नहोओस् ।
सृष्टिकर्ता ब्रह्माले भनिदिए ः तथास्तु । अब हिरण्यकश्यप ब्रह्माबाट आफूले सोचेको र खोजेको जस्तो वरदान प्राप्त गरेपछि उसलाई लाग्यो कि अब म अमर भएँ । कतै र कसैबाट पनि कसै गरी मेरो मृत्यु हुँदैन । मलाई कसैले मार्न सक्दैन । यस कारण अब म भगवानजस्तै भएँ, म भगवान नै भएँ । यसै कारणले ऊ घमन्डी बन्दै गयो र उसको घमण्ड यति धेरै बढ्यो कि ऊ अरुलाई पनि आफू भगवान भएको बताउन थाल्यो र आफूलाई भगवान भन्न बाध्य तुल्याउन थाल्यो । आफूलाई भगवान स्वीकार नगर्नेलाई सताउन थाल्यो र जसले अलिकति पनि प्रतिवाद गर्न खौज्थ्यो उसलाई मृत्युदन्ड दिन थाल्यो । कतिपयलाई बिना कुनै कारण नै बध गर्न थाल्यो । यसै किसिमको उसको अत्याचारबाट देउताहरु पनि आजित हुन थाले ।
उसको अत्याचारबाट सबै आक्रान्त भइरहेको समयमा नै उसको एउटा छोराको जन्म भयो । सबैतिर खुसीको लहर दौडियो । ऊ पनि खूब खुसी थियो । विस्तारै बालक हुर्कन बढ्न थाल्यो । बालक सानैदेखि भगवान विष्णुको भक्ति गर्न थाल्यो । यो कुरा हिरण्यकश्यपलाई सही नसक्नु भयो । संसारले आफूलाई भगवान मान्दछ तर आफ्नै छोराले आफूलाई भगवान नमानेर विष्णुलाई मान्दछ । सुरुमा त उसले पुत्रमोहले गर्दा सम्झाइबुझाई ग¥यो, डर, त्रास देखायो, धम्की पनि दियो तर पनि आफ्नो पितालाई भगवान नस्विकारी भगवान विष्णुकै जप गर्दथ्यो बालक । हिरण्यकश्यपले श्री हरि विष्णुभक्त प्रहलादलाई मार्न अनेक उपाय गर्न थाल्यो । जति उपाय गर्दा पनि ऊ मरेन । अन्तमा उसले आफ्नो बहिनी होलीका जो आगोमा नजल्ने वरदान पाएकी थिइन्, हिरण्यकश्यपले तिनै बहिनीलाई बोलाएर तिनको काखमा प्रहलादलाई लिएर दनदनी बलिरहेको आगो बस्न आदेश दियो । यसपालि होलीका आगोमा भष्म भइन तर बच्चा प्रहलादलाई केही पनि भएन । अत्याचारी हिरण्यकश्यपको अत्याचारको कुनै सीमा थिएन । सबैतिरबाट प्रह्लादलाई मार्न नसकेपछि झनै अत्याचार गर्न थाल्यो ।
अत्याचारले सीमा नाघिसकेपछि सबै देउताहरू भगवान विष्णुकहाँ गएर अत्याचारबाट मुक्तिको लागि प्रार्थना गरे । भगवान विष्णुले म छिट्टै कंशको अत्याचारबाट संसारलाई मुक्त गराउँछु भन्ने वचन दिनुभयो । एक दिन प्रह्लादले भगवान विष्णुको जप गरिरहेको ठाउँमा पुगेर हिरण्यकश्यपले तिम्रो भगवान कहाँ छ मलाई देखाऊ भनेर सोध्दा भगवान जहाँ पनि हुनुहुन्छ भनेर उत्तर दिए । यो खम्बामा भगवान छ ? भनेर प्रश्न गर्दा हो भन्ने जवाफ पाएपछि रिसाएर उसले खम्बालाई ढाल्न खोज्यो, त्यसैबाट भगवान नृसिंह निस्कनु भयो । भगवान विष्णुको अवतारको रुपमा नृसिंह अवतार हुँदा शरीरले मानव, मुखाकृतिले सिंहको रुप धारण गरी त्यहाँ भएको सबै राक्षसको नाश गरी हिरण्यकश्यपलाई बध गरी राक्षस जुनीबाट मुक्ति गराउनु भयो । यस पाठबाट हामी कण कणमा भगवानको बास भएको पाउनुका साथै सत्कर्म गर्नेलाई भगवानले पनि साथ दिन्छ भन्ने प्रेरणा पाउँछौँ ।
नैतिक शिक्षा पढाइ हँुदा शिष्य पनि नैतिकवान हुन्थे । नैतिकवान शिष्य आफ्नो जीवनमा पनि घर व्यवहार, परिवार र समाजमा सत्कर्म गर्न अभिप्रेरित भएर आफ्नो व्यवहार गर्थे । त्यस बेला विद्यालय शिक्षामा पचास पूर्णाङ्कको संस्कृत पनि पढाइन्थ्यो । समय अनुकुल देशको शासन प्रणाली पनि बदलिदै गयो । हाम्रो देशमा पनि विस २०४८ सालमा राजा सहितको बहुदलिय शासन प्रणाली लागु भयो । यस राजनैतिक परिवर्तको प्रभाव शिक्षा प्रणालीमा पनि प¥यो । पहिला हाम्रो पाठ्यक्रमबाट संस्कृत विषय हटाइयो । विस्तारै केही समयमा नैतिक र संस्कृतले सिकाउने जीवन उपयोगी संस्कार र मिहनेत–इमानदारी सिकाउने नैतिक शिक्षा पनि हाम्रो पाठ्यक्रमबाट विदा भयो । हाम्रो शिक्षा प्रणाली आधुनिक बन्दै गयो जसको प्रभाव हाम्रो दैनिक व्यवहारमा पर्न थाल्यो । यो आधुनिकताको नाउँमा हामी आफ्नो संस्कार र रीतिरिवाज पनि बिर्सदै गयौ जसबाट हामीमा हुने भावनात्मक र सहयोगात्मक व्यवहार पनि टाढा हँुदै गयो । त्यस बेला एउटा अर्को विषय हुन्थ्यो पूर्व व्यवसायिक शिक्षा । यस विषयमा हामी हाम्रो प्रयोगमा रहेका व्यावसायिक प्रविधिका बारेमा विद्यालय शिक्षाबाट सिकेका परम्परागत पेशा व्यवसायका साथै कृषि आधुनिकिकरणलाई व्यवहारमा समेत प्रयोग हुन्थ्यो ।
आजको युगमा हामी यति व्यस्त हँुदै गयौँ कि हामीसँग प्रविधि धेरै आयो तर त्यसले आफुसँग विकृति पनि साथै लिएर आएको छ । हामी अहिले मिहिनेत गर्न चाहँदैनौ र त्यसको बदला त्यसको आर्थिक लाभ नगदको रुपमा बढी भन्दा बढी लिन खोज्छौं ।
अहिले फेरि नैतिक शिक्षाको माग बढ्न थालेको छ । आज नृसिंह जयन्ती हो । हिन्दु समाजमा भगवान विष्णुलाई नमान्ने कोही छैनन् । सबैले भगवान विष्णुलाई मान्ने र तिनका सबै अवतारलाई सम्मान गर्ने गर्दछन् । नृसिंह जयन्तीको दिन उनलाई सम्झेर हामी एकातिर अन्यायको विरोध गर्छौँ भने अर्कोतिर आफू सत्कर्ममा लाग्ने प्रेरणा पाउँछौँ । भगवान नृसिंहको स्मरण गर्दै अहिलेको परिस्थितिमा सम्भव भएसम्मको सत्कर्म गर्ने प्रयास गरौँ ।