रौतहट जिल्लाको मध्य भाग गरुडामा अवस्थित एउटा परिवार तीन÷चार पुस्तादेखि नै सबैको प्यारो, समाजसेवी र न्यायप्रेमी परिवार छ त्यो हो चौधरी परिवार । गरुडाको मध्य सडकमै एउटा सालिक छ स्व. मेथुर चौधरीको । उहाँले आफ्नो जीवनकालमा गरेका सामाजिक क्रियाकलापको प्रत्यक्ष प्रभाव उहाँका नातिहरुसम्म पर्न पुग्यो । यसै क्रममा बुवा रामउचित चौधरी र आमा लालवतीदेबी चौधरीका कोखबाट कान्छा छोराका रुपमा मिति २०३६ सालमा जन्मेका मनोजकुमार चौधरी पनि सोही बाटोमा हिड्दै गर्दा विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा अथक प्रयास गर्दागर्दै पनि गत वैशाख २९ गते अनपेक्षित रुपमा हामी सबैले उहाँलाई गुमाउनु प¥यो । आजसम्म उहाँको अभावमा सिङ्गो जिल्ला नै स्तब्ध छ । आज उहाँको १७ औँ पून्य तिथि हो । मनोजकुमार चौधरी आफ्नो घरपरिवार, समाज, जिल्लालगायत शिक्षा र सञ्चारजगतजस्ता विविध पक्षमा एक उज्ज्वल नक्षत्रका रुपमा उदाउँदै गरेका व्यक्ति हुनुहुन्थ्यो । एक कुशल, सक्षम, न्यायप्रेमी, समाजसेवी, मिलनसार, मृदुभाषी, शिक्षाप्रेमी, सञ्चारकर्ता उहाँका बारेमा केही शब्द कोरुँ भन्दा भन्दै आजसम्म हातै चलेन र अहिले आएर यो मनलाई थम्थम्याउँदै केही कुरा लेख्दै छु । यदि नलेखेँ भने यो मनमा जहिले पनि उहाँसँग रहँदा र बस्दाका पलहरुले झसङ्ग पारिरहने हुनाले उहाँको आत्माले स्वर्गमा बास गरोस् र परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गर्दै यो लेख्दैछु ।
वास्तवमा उहाँ सबैको मन मुटुमा बसेको मान्छे हुनुहुन्थ्यो भन्ने कुरा सम्पूर्ण जिल्लाबासीे, पत्रकार महासंघ, विभिन्न मिडिया र प्रत्यक्ष रुपमा धेरैभन्दा धेरै व्यक्तिले प्रकट गरेको समवेदनाबाट प्रष्ट हुन्छ । यस घडीमा उहाँलगायत हामीलाई छाडेर जानु हुने अन्य चिरपरिचितमा पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । वास्तवमै यो समयले अति नै भावविह्वल बनायो । अकल्पनीय घटना भयो यो । आगामी दिनमा उहाँको अभावमा गर्ने गराउने काम कर्तव्य के कसरी सञ्चालन होलान् भन्ने कुरामा शंका पनि छ । धेरैभन्दा धेरै संघसंस्थाद्वारा रुचाइएको, निमन्त्रणा पठाइएको तथा सम्मान गरिएको व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । गरुडामा नियुक्ति लिएर आउने कुनै पनि विद्यालय, क्याम्पसका शिक्षकहरु, बैङ्ग कर्मचारी, इ.प्र. का. का कर्मचारी सबैले आफूहरु जीवनभर देशका जुन कुना कन्दरामा गए पनि मनोजकुमार चौधरीजस्तो इमान्दार र सहयोगी व्यक्ति नभेटेको कुरा गर्ने गर्छन् । यस्ता गुणहरु दुर्लभ व्यक्तिमा मात्र हुन्छन् ।
मनोज सर र म २०६५ सालभन्दा १÷२ वर्ष पहिले उहाँसँग औपचारिक भेटघाट भएको थिएन । २०६७÷६८ सालदेखि श्री नमूना मावि गरुडा र श्री मध्यरौतहट वहुमुखी क्याम्पस गरुडा रौतहटमा काम गर्ने क्रममा हामीबीच चिनजान र सामीप्य बढ्दै गयो । विशेष गरी अनौपचारिक रुपमा क्याम्पसभन्दा बाहिर पनि शैक्षिक कुराकानी नै हुन्थ्यो । पारिवारिक कुरा पनि हुन्थ्यो । म एउटा फरक भूगोल र सँस्कारबाट आएको मान्छे उहाँले गर्दा यहाँ मलाई घरबाट टाढा भएको महशुष कहिल्यै पनि भएन । प्रायः गरी यहाँ मनाइने पर्वहरुमा म यहाँ रहेको अवस्थामा उहाँकै घरबाट सुरु गरिन्थ्यो । एकदमै पारिवारिक मायामै हुर्केको जस्तो लाग्थ्यो । प्रत्यक्ष भेटघाटका साथसाथै यदि ढिलो भएमा फोनबाट पनि सम्झाउने गर्नुहुन्थ्यो । उहाँसँग हिडेका बाटाहरु, सहकार्य गरिएका कार्यक्रमहरु, मनाइएका पिकनिकहरु, बोलिएका बोलीहरु, खाइएका खाजाहरु, खिचिएका फोटाहरुले अहिलेसम्म विश्वासै गर्न नसकिने झझल्को दिइरहन्छन् । यो मन मानिरहेकै छैन । यद्यपि मैले आफन्त र पराई धेरै गुमाइ सकँे ती प्राकृतिक भए तर यो घटना प्राकृतिक हुन सकिरहेको छैन । मलाई कसैले भ्रम फैलाए जस्तो लागिरहेको छ । धेरै छन् यहाँसम्मको दौरानमा उहाँसँग भए गरेका काम कुराहरु । मिस यु मनोज सर !
मनोजकुमार चौधरी र स्कूल, क्याम्पस
श्री नमूना माविगरुडा र मध्यरौतहट बहुमुखी क्याम्पस गरुडामा उहाँको आगमनपश्चात विशेष गरी एघार, बाह्र र स्नातक तहमा धेरैभन्दा धैरै सुधारात्मक कार्यहरु हँुदै आए । विद्यार्थी, शिक्षक, कर्मचारी, क्याम्पस प्रमुख, प्रअ, विव्यसका पदाधिकारीसँगको समन्वय, सल्लाह र सुझावलाई आत्मसात गरी अगाडि बढ्नाले यो सम्भव भएको हो । उहाँ खास गरी लेखा प्रमुख भए तापनि शिक्षा क्षेत्रमा एउटा छुट्टै भिजन र मिसन बोकेर हिड्ने मान्छे हुनुहुन्थ्यो । जुन कुरा स्कूल, क्याम्पस परिवारको साथसाथै सिङ्गो समाजलाई छर्लङ्गै छ । शिक्षा क्षेत्रमा एक पारङ्गत व्यक्ति पनि हुनुहुन्थ्यो । व्यवस्थापनमा स्नातकोत्तर उहाँले स्कूल तथा क्याम्पसका आगामी योजनालाई के कसरी लैजाने भनेर लागिरहनु हुन्थ्यो । उहाँ लेखा प्रमुख भए तापनि शिक्षण सिकाइ क्रियाकलापमा उहाँबाट सिक्नु पर्ने कुराहरु धेरै छन् । एउटा वौद्धिक व्यक्तिले आफ्नो ज्ञान र सीप प्रदान गर्न गराउन कक्षाकोठामै गएर अध्यापन गराउनु पर्छ भन्ने छैन । हरेक कुराको समयअनुसार तारतम्य मिलाउन सक्ने व्यक्ति हनुहुन्थ्यो उहाँ । स्कूल, क्याम्पसले उहाँको मूल्याङ्कन गर्ने नै छ ।
मनोजकुमार चौधरी र समाज
समाजमा एउटा स्वच्छ छवि बनाउन सफल उहाँमा घमण्ड भन्ने कुरा कहिल्यै पनि पलाएन । आफ्नो क्षमताले भ्याएसम्म विभेदरहित ढङ्गबाट सेवा गर्दै आउनु भयो । जुन कुरा यहाँको समाजले मूल्याङ्कन गरिसकेको छ । उहाँका आगामी सपना पक्कै पनि थिए होलान् त्यसै गरी समाजको पनि उहाँमाथि ठूलो विश्वास थियो होला । भविष्य कस्तो हुने भन्ने कुरा त वर्तमानले देखाइसकेको थियो । विडम्वना ! यी सबै कुरा अधुरै रहे । समाजले उहाँलाई एक सच्चा सहयोगी र पहरेदार मानेको थियो ।
मनोजकुमार चौधरी र रेडियो मधेश मसला
व्यक्ति, समाज र राष्ट्रलाई एउटा सही मार्गमा सही सन्देश दिएर अगाडि बढाउने उद्देश्यका साथ उहाँले गरुडामै रेडियो मधेश मसला एफ.एम.१०६.४ मेगाहर्ज स्थापना गर्नुभयो । मधेशलाई सही सूचना जाहेर गरी जनतामा सकारात्मक तथा विकासात्मक भावनाको विकास नगरेसम्म जीवन खुसी र सुखी नहुने भएकोले गर्दा उहाँले यसलाई प्राथमिकतामा राख्नुभयो । लगभग तीन वर्ष जति मलाई पनि सेवा गर्ने मौका मिल्यो । मैले जीवनमा एफएममा काम गर्छु भनेर कहिल्यै पनि सोचेकै थिइनँ । मेरा लागि यो एउटा महत्वपूर्ण अवसर थियो । कार्यक्रम सञ्चालन गर्दा गर्वको महसुस हुन्थ्यो । रेडियो सम्बन्धी धेरै कुराको ज्ञान लिने मौका पाइयो । जुन अविस्मरणीय हुनेछ ।
मनोजकुमार चौधरी र पत्रकारिता
मनोजकुमार चौधरी एक सच्चा र निष्पक्ष पत्रकार हुनुहुन्थ्यो । पत्रकारिता जगतमा एउटा होनहार व्यक्ति गुमाउनु परेको पीडा हामी सबैको माझमा छ । रेडियो मधेश मसलाका साथै जनकपुरटुडेका रौतहट समाचारदाता पनि हुनुहुन्थ्यो । उहाँ आफू संलग्नभन्दा पनि कैयौँलाई पत्रकारितामा स्थानीय तहदेखि राष्ट्रिय तहसम्म छापा र श्रव्यदृष्यमा स्थापित गराइ सक्नुभएको छ जुन महान कार्य हो । राष्ट्रको चौथो अङ्गका रुपमा स्थापित एक दियो निभ्दा आज सिङ्गो समाज र जिल्ला अध्याँरोमा छ । शान्ति पाओस् उहाँको आत्माले ।
मनोजकुमार चौधरी र राजनीति
राजनीतिक रुपबाट हेर्दा उहाँका दाजु रामकृष्ण चौधरी नेपाली कांग्रेसको तर्फबाट सुपरिचित व्यक्तित्व हुनुहुन्छ भने मनोजकुमार चौधरी पनि दाजुकै बाटोमा लागेको देखिन्छ । लाग्छ भविष्यमा गरुडाबासीले उहाँबाट धेरै आशा गरेका थिए जुन कुरा अकल्पनीय भइदियो । कुनै दलविशेषभन्दा पनि मान्छेको बोली व्यवहार, सहयोग, र आफ्नोपन नै ठूलो कुरा रहेछ अन्यका लागि । यी र यस्तै थुप्रै कुराहरु सपनामै सीमित रहे ।
आज मनोजकुमार चौधरीको अनुपस्थितिमा हामी सबै मर्माहित छौँ । ईश्वरले पनि उहाँलाई नै आफ्नो प्यारो मान्छे ठानेर होला हामीबाट खोसेर लगेको । अन्तमा उहाँको आत्माले स्वर्गमा बास गरोस् । हार्दिक श्रद्धाञ्जली मनोज सर….!