अहिले निषेधाज्ञाको समय छ । अहिले कोरोनाको डर पनि उतिकै छ । कोरोनाको भयावहताको बीचमा अहिले किसानलाई धानको बीउ चाहिएको छ । अब धानको बीउ ब्याडमा खसाल्ने समय आइसकेको छ र अहिले ब्याडमा धानको बीउ खसाल्ने काम सुरु भइसकेको पनि छ ।
देशका अधिकांश नागरिक प्रत्यक्ष वा परोक्ष कृषिमाथि निर्भर छन् । हामी कहाँको मुख्य खाद्यान्न पनि भात नै हो । भात धानबाट नै आउँछ । अहिले धानको बीउ खसाल्ने समय हो । देशको खाद्यान्न आपूर्ति गर्ने मुख्य क्रम सुरु हुन थालेकोले अहिले कसरी हुन्छ किसानको आवश्यकताअनुसारको उन्नत जातको धानको बीउ पाउनु आवश्यक छ ।
धान किसानले कसरी हुन्छ, सजिलो तरिकाले धानको बीउ र आवश्यक मल पनि पाउनुपर्छ । उन्नत जातको धानको बीउ सहज र सरल तरिकाले पाउन सक्यो भने उब्जनीमा वृद्धि हुने विश्वास गर्न सकिन्छ । यसै गरी सम्भव भएसम्म किसानले सस्तो मूल्यमा पनि धानको बीउ पाउने वातावरण बनाउनु आवश्यक छ । गत वर्ष कोरोनाको समयमा रौतहटको मौलापुर नगरपालिकाले किसानलाई धानको बीउ राहतमा दिएको थियो । यस किसिमले किसानलाई सिधा फाइदा हुने गरी र राहत पुग्ने गरी कुनै प्याकेज ल्याउन सकिन्छ ।
हरेक स्थानीय तहलाई धानमा आत्मनिर्भर बनाउनु जरुरी छ । अहिले अन्यत्रबाट आएको चामल अधिकांश पालिकाले उपभोग गरिरहेको देखिन्छ । यस किसिमको अवस्थालाई विस्तारै कम गर्दै लैजाने उपाय भनेकै आफ्नो उत्पादनमा वृद्धि गर्नु हो । अहिले समय आएको छ कि किसानलाई सहज तथा सरल तरिकाले खोजेको उन्नत जातको धानको बीउ आवश्यक मात्रामा पु¥याउने उपाय सम्बन्धित स्थानीय तह र निकायले गरुन् । किसानको मुख्य आवश्यकताको आपूर्तिमा कतैबाट कुनै किसिमको अवरोध नहोओस् र सम्भव भएसम्मको सुविधा प्रदान गर्नमा प्रतिस्पर्धा होओस् ।