पवन प्रसाद साह जेठ १८ बीरगन्ज
हन्ड्रेडस् ग्रुप बीरगन्ज र युवा वचनको हेल्प डेस्कको आयोजनामा भएको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राधेमाईस्थित साउथ जोन माविको प्रांगणमा सम्पन्न रक्तदानमा ६३ पोका रगत संकलन भएको हो । कोही पनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस् भन्ने नाराका साथ आयोजित रक्तदानमा ३ जना महिलासहित ६३ जनाले रक्तदान गरे । रक्तदान गर्नेहरुमा ज्योती गिरी, किशु सर्राफ, विक्रम प्रसाद कानु, राहुल गुप्तालगायतका रहेका छन् । १०० ग्रुपका सचिव विक्की सर्राफ र हेल्प डेस्कका किशु सर्राफको नेतृत्वमा भएको कार्यक्रममा रक्तदान गर्नेहरुलाई संस्थाले प्रमाण पत्र प्रदान गरेको थियो । कोरोनाभाइरस महामारीको दोस्रो लहरलाई नियन्त्रण गर्न आह्वान गरिएको निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरु आयोजना हुने क्रम सुस्त हुँदा रगतको अभाव सृजना हुन नदिन कार्यक्रम आयोजना गरिएको १०० ग्रुपका कोषाध्यक्ष आशिष गुप्ताले जानकारी गराए । महामारीको प्रकोपलाई मध्यनजर गर्दै सम्पुर्ण स्वास्थ्य सावधानीहरुको पालना गर्दै कार्यक्रम आयोजना गरिएको गुप्ताले बताएका छन् । सामाजिक रुपमा सक्रिय युवाहरुको संलग्नतामा रक्तदान सम्पन्न भएको हो ।