विश्व मानव समुदायले भोलि जून ५ का दिन विश्व वातावरण दिवस भब्य तयारीका साथ मनाउँदै छ । हामीले मनाउँने विभिन्न चाडपर्वहरुमा जे जति खर्चको जोहो गर्छौँ त्यसरी नै यो अवसरलाई पनि एउटा पर्व मानियो भने त्यति खर्च नै गर्नु पर्दैन । उदाहरणका लागि एउटा रुख रोप्नु । चाडपर्व मनाउँदा आर्थिक भार थपिने, एक अर्कोबीच तुलना हुने, त्यसले खिचातानी सिर्जना गर्ने, प्रदूषण हुने आदि केही नभई यसको अलावा आफ्नो वातावरण स्वच्छ, स्वस्थ र हराभरा हुन जाने हुनाले दीर्घ जीवनकोसमेत मार्गनिर्देश गर्छ । तर यसलाई कागजी रुपमा मात्र सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्नु पर्छ । जसरी होली खेल्दा रङ्ग र अबिर शरीरमा खन्याएर मात्र खेलिन्छ ।
अब चर्चा गरौँ वातावरण र विश्व वातावरण दिवसका बारेमा । सामान्य अर्थमा वातावरण भन्नाले हाम्रो वरिपरि भएका सम्पूर्ण सजीव र निर्जीव वस्तुहरुको संयोजन हो । शाब्दिक रुपमा भन्दा ’वात’ को अर्थ हावा र ’आवरण’ को अर्थ ढाकिएको वा छोपिएको भन्ने हुन्छ । समग्रमा भन्दा हावाले ढाकिएको वा छोपिएको ठाउँ नै वातावरण हो । यसको मतलव हामी बस्ने पृथ्वी हावाले ढाकिएको छ भन्न खोजिएको हो । मान्छेका असीमित आवश्यकताहरू यही वातावरणमा भएका सीमित साधन श्रोतमार्फत पूरा हुने भएकोले वातावरणको महत्व अति नै उच्च छ । आज मान्छेले जे जति उन्नति र प्रगति गरे पनि यी सबैको आधारस्तम्भ त वातावरण नै हो । वातावरणको अनुपस्थितिमा मान्छेले आफ्नो जीवन जीउनु त के कल्पनासमेत गर्न सक्दैन । अब यति महत्वपूर्ण पक्षलाई मान्छेले किन सकारात्मक तबरले बुझ्न र प्रयोग गर्न सकेनन् वा जानेनन् त भन्ने प्रश्न एउटा चुनौती छ विश्व मानव समुदायलाई । पटक पटक खेप्नु परेका प्राकृतिक प्रकोपहरुको कारक तत्व मान्छे नै हो । मानब सर्बोच्च प्राणी पनि हो । मान्छेले नै प्रकृतिलाई चुनौती दिदै कृत्रिमताले विश्व सजाएको पनि छ । एकछिन समाचार सुन्नुस् वा पत्रपत्रिका पढ्नुस् अझ सम्भव भयसम्म गुगल सर्च गर्नुस् त विश्व ब्रह्माण्डमा हामी जस्ताले कल्पनै नगरेका आश्चर्यहरू पनि सम्भव भइसकेका छन् । मान्छेले मस्तिष्कको उच्चतम प्रयोग गरिसक्यो । र यो प्रयोग असीमित पनि भइसक्यो । अब मान्छेले गर्न बाँकी भनेको पृथ्वी भन्दा अन्य ग्रहहरुमा हो । विडम्वना ! वातावरण बिनास गरेर सजाएको विश्व टिकाउ भने हुन सकिरहेको छैन ।
अर्को कुरा मान्छेलाई स्पष्ट रुपमा अवगत पनि छ वातावरणको महत्वको बारेमा । जल, जमिन, वायु, बोटबिरुवा, चराचुरुङ्गी, कीटपतङ्ग कुनै पनि चिजको आफ्नै बहन गर्ने क्षमता हुन्छ । तर हामी जानेर वा नजानेर ती साधन श्रोतमाथि नकारात्मक भार थुपारिरहेका छौँ वा अत्यधिक दोहन गरिरहेका छौँ । फलस्वरुप ती र त्यस्ता साधन श्रोतले आफूमाथि लादिएको भार खेप्न नसक्दा नकारात्मक असर देखाइरहेका छन् । बाटो–घाटो, पुल, भवन, घाँस, काठदाउरा, जडिबुटी, खेतीयोग्य जमिनको बिस्तारीकरण, आगलागी आदिले वन बिनास हुँदा मरुभूमिकरण, अक्सिजन ग्याँसको अभाव, खडेरी, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि खण्डवृष्टिको समस्या एकापट्टि छ भने अर्कोपट्टि अत्याधुनिक मेसिन ,इन्जिन र बम बारुद आदिले उत्सर्जन गर्ने ग्याँसले तापक्रम बृद्धि भई हिमाल पग्लेर समुन्द्री सतह बढ्नुलगायत अनगिन्ती समस्याहरू बढिरहेका छन् । अझ स्पष्ट रुपमा भन्दा सिङ्गो वातावरण नै बिरामी भएको अवस्था छ । त्यसकारण वातावरणको उपचारका लागि एउटा घर, परिवार, समाज र राष्ट्र मात्र नभई सिङ्गो विश्व मानव समुदायले साझा रुपबाट जनचेतना अभिबृद्धि गर्दै मनाउन पुगेको पर्व हो वातावरण दिवस ।
वास्तवमा वातावरण दिवस मनाउन सुरु गरिएको इतिहास त्यति लामो छैन । सर्वप्रथम संयुक्त राष्ट्र संघको महासभाले सन १९७२ मा स्टोकहोल्म सम्मेलन गरी वातावरण दिवस मनाउने निर्णय गरेको हो । यसको दुई वर्षपछि सन १९७४ जून ५ मा पहिलो पटक अमेरिकाको स्पोकान सहरमा एकमात्र पृथ्वी भन्ने नाराका साथ वातावरण दिवस मनाइयो र यो विश्वव्यापी बन्यो । यसलाई सिङ्गो विश्वको एउटा साझा दिवस वा पर्व बनाउनु पर्ने जरुरी पनि हुँदै आयो किनभने यो वातावरण संरक्षण भन्ने कुरा कुनै एक मुलुकले मात्र गरेर हुने कुरा पनि होइन । एउटा मुलुकमा भए गरेका कुनै पनि क्रियाकलापले अर्को मुलुकलाई पनि प्रत्यक्ष प्रभाव पार्ने भएकोले गर्दा यसलाई समन्वय नगरी सुखै छैन । यी विविध पक्षको अध्ययन अनुसन्धान गरेर नै वा वातावरणको महत्वलाई बुझेर आज विश्व समुदाय वातावरण संरक्षण गर्नका लागि उद्यत छ ।
यस वर्षको विश्व वातावरण दिवस मनाउनको लागि दक्षिण एसियाली मुलुक पाकिस्तानलाई आयोजक बनाइएको छ । यस वर्षको वातावरण दिवसको नारा वा निचोड हो– “पर्यावरणको पुनस्र्थापना ।” पाकिस्तानलाई किन आयोजक भन्ने सन्दर्भका पछाडि बिभिन्न आधारहरु भएको देखाइएको छ । पाकिस्तान सरकारले सन १९१४ देखि नै वातावरण संरक्षणका लागि विभिन्न किसिमका योजना र तिनीहरुको कार्यान्वयन गरिसकेको छ । त्यस मध्ये एउटा महत्वपूर्ण कार्यक्रम हो –“ विलिएन ट्रि सुनामी” । मतलव अरबौँ रुख रोपेर सुनामी ल्याऊँ भन्न खोजिएको । हालसालै पाकिस्तानले एउटा नयाँ कार्यक्रमको रुपमा पर्यावरण पुनस्र्थापना कोष खडा गरेको छ जसले पृथ्वीको हरियोपनालाई यथावत राख्दै अगाडि बढ्ने छ । जलवायु परिबर्तनले पार्ने असरहरुलाई न्यूनीकरण गर्न तथा जैविक विविधतालाई संरक्षण गर्नका लागि प्राकृतिक तबरबाटै समाधान गर्ने योजनाहरू समेटेको छ ।
यी अन्तर्राष्ट्रिय योजना तथा कार्यान्वयनका बावजूद नेपालमा के कसरी वातावरण दिवस मनाइन्छ भन्ने कुरा पनि महत्वपूर्ण छ । वर्षको एकदिन वातावरण मन्त्रालयबाट छापा तथा श्रव्यदृष्य मिडियामा वातावरण दिवसको शुभकामना दिएर मात्र वातावरण संरक्षण हुन्छ भन्ने होइन । कार्यान्वयन पक्ष महत्वपूर्ण हो । वातावरण संरक्षण ऐन २०५३ ले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणका खातिर विभिन्न उपायहरू अबलम्बन गरेको छ । हामीले ती नियमहरू कति कार्यान्वयन गर्यौँ र कति कार्यान्वयन गर्न बाँकी छ त्यसको निक्र्यौल गर्नै पर्छ । जबसम्म वातावरणको महत्व र यसको संरक्षणको बारेमा घर परिवार, समाज, विद्यालय, विश्वविद्यालय र संघसंस्थाद्वारा सामूहिक अभियान सञ्चालन गरिदैन तबसम्म कागजी नाराले समस्या खेपिरहनुको बिकल्प छैन ।
हो विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गर्ने गरिएका छन् । जस्तै उदाहरणका लागि विद्यालयहरूले उक्त दिन विद्यार्थीहरूलाई विभिन्न बोटबिरुवा वा फूलहरू ल्याउन लगाएर वृक्षरोपण गर्ने गरेका पनि छन् भने कतै हरेक विद्यार्थीले आफ्नो घरमा एउटा बिरुवा रोप्नै पर्ने जस्ता व्यावहारिक कामहरू पनि भएका छन् । यसका साथै विभिन्न किसिमका –याली, वातावरण संरक्षण सम्वन्धी जनचेतनामूलक कार्यक्रम पनि हुने गरेका छन् । अर्को कुरा के पनि हो भने रुख रोप्नु मात्र वातावरण संरक्षण होइन र वातावरण दिवसको औचित्य पनि होइन । यसका पछाडि विविध कुराहरू पनि छन् । विद्यालय मात्र नभएर अन्य कार्यालयहरू र संघ–संस्थाहरूले पनि यस अबसरमा केही न केही गरिरहेको देखिन्छ । जसले जे जसरी सहभागिता जनाए पनि अन्तिम निष्कर्ष भनेको हामीलाई स्वस्थ जीवन बाँच्न सघाउने वातावरणको संरक्षण गर्नु हो । र यो हाम्रो प्रमुख दायित्व पनि हो ।
आज मान्छे जति शिक्षित र वौद्धिक भएता पनि आफ्नो स्वार्थीपना र अर्थमुखी भएका कारण वातावरणलाई त्यति महत्व दिएको पाइदैन यद्यपि वातावरणमा आएको ह«ासले उसलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । वातावरणमा आएको ह«ासले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै आगामी दिनमा बिग्रदो वातावरणलाई पहिलेकै अवस्थामा फर्काउनु हामी सबैको कर्तब्य र जिम्मेवारी पनि हो । यही भएर होला यस वर्षको वातावरण दिवसको नारा पर्यावरण पुनस्र्थापना राखिएको । स्वस्थ शरीर स्वस्थ वातावरणको उपज हो । यसका लागि हातमा हात मिलाई अगाडि बढौँ । वातावरणको महत्वबारे जनचेतना अभिबृद्धि गरौँ । वृक्षरोपण गरौँ । जल जोगाऔँ । प्रदूषण घटाऔँ । स्वस्थ भई बाचौँ । यही छ वातावरण दिवसको शुभकामना ।