निषेधाज्ञाको उल्लंघन व्यापक मात्रा भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालयहरुको आदेशलाई नमानेर मुख्य गरी मोटरसाइकलमा यात्रा गर्ने तथा बजार खोल्ने प्रतिस्पर्धाजस्तै देखिएको छ । कतै कतै त प्रहरीलाई देखेपछि पसल बन्द गर्ने र प्रहरी गएपछि फेरि पसल खोल्ने किसिमको जुहारी नै चलेको देखिन्छ ।
सर्वसाधारणको स्वास्थ्यको लागि निषेधाज्ञा हो भन्ने कुरो सर्वसाधारणले नै बिर्सेका छन् । वास्तवमा कुनै ठोस औषधि र उपचार नै हामीकहाँ उपलब्ध नभएको अवस्थामा सबैले बुझ्नुपर्ने संयम नै हो । समाजमा संयम निकै कम देखिएको छ र त भोजभतेरमा अझै पनि समाज रमाएको छ । बिहेको रमझममा उत्साह देखिएको छ । कतै नियन्त्रण देखिएको छैन । यस्तो लागिरहेको छ कि गाउँमा कुनै भोज हुँदा त्यो उत्सव हो । गाउँमा बिहे हुँदा पनि त्यो उत्सव हो । सम्वेदनशीलता नहुनु अहिलेको ठूलो समस्याको रुपमा देखिएको छ ।
कोरोना संक्रमणको दर केही कम भएको छ । देशमा कोरोना संक्रमणले मृत्यु दर पनि कम भएको देखाएको छ । तर अधिकांश जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अझै केही दिन धैर्य धारण गर्ने किसिमले निषेधाज्ञा जारी गर्दा त्यसलाई उल्लंघनमा आफ्नो पुरुषार्थ ठान्नु हुँदैन । कोरोना संक्रमित भएपछि हुनेले नै त्यसको अप्ठ्यारो बेहोर्नुपर्ने हुन्छ । यसकारण सम्भव भएसम्म निषेधाज्ञाको उल्लंघन नगरौँ । घरमा बसौँ र संयमित बनेर रहौँ ।
बिना काममा घरबाहिर निस्केर मलाई अत्यन्त जरुरी छ भन्दै यताउति डुल्नाले खराब परिणाम पनि ल्याउन सक्छ । यसर्थ निषेधाज्ञाको उल्लंघन नगरौँ ।