काठमाडौं, जेठ २१
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा उक्त समूह सरकारमा सहभागी भएको हो । वरिष्ठ नेता महतोलाई उपप्रधान तथा सहरी विकास मन्त्री बनाइएको छ । यस्तै, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्री बनाइएको । उपेन्द्र यादव समूह छाडेर आएका विमल श्रीवास्तवलाई श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्री बनाइएको छ भने उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री दिइएको छ । यस्तै, एकवाल मियालाई युवा तथा खेलकुद र चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ । यसैगरी, दुईजनालाई राज्यमन्त्रीको जिम्मेजारी दिइएको छ । तीमध्ये रेणुका गुरुङलाई महिला बालबालिका र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री बनाइएको छ । महतोले सम्हाल्न लागेको सहरी विकास मन्त्रालयको जिम्मा यसअघि प्रभु साहले सम्हालेका थिए भने भण्डारीलाई जिम्मा लगाइएको ऊर्जा मन्त्रालय टोपबहादुर रायमाझीको जिम्मामा थियो । यस्तै, खानेपानी मन्त्री मणिचन्द्र थापा थिए भने कर्णलाई जिम्मा लगाइएको मन्त्रालयमा शिवमाया तुम्बाहाम्फे मन्त्री थिइन् । श्रीवास्तवलाई मन्त्री बनाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामेश्वर राय यादवले सम्हालेका थिए भने अरगरियालाई जिम्मा लगाइएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले थिए । चन्दा चौधरीलाई जिम्मा दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो थिइन् । दोस्रोपटक नियुक्त भएका सातजना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालय खाली थिए । र, प्रधानमन्त्री केपी ओली आफैँले ती मन्त्रालय सम्हाल्दै आएका थिए ।