आजको विषम परिस्थितिमा विभिन्न क्षेत्र प्रभावित हुनुको साथसाथै बालबालिकाको शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित बन्न पुगेको अवस्था छ । हुन त बालबालिकालाई राष्ट्रको भविष्यको कर्णधार मानिदै आइएको पनि छ तर गत वर्षदेखि कोरोनाले पु–याएको जोखिमका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित र संकटपूर्ण देखिएको छ । गरुडा–२ रौतहटका एक जना शिक्षक यस्तो भन्छन् –“निषेधाज्ञा लागेपछि बालबालिकालाई सबैभन्दा बढी ब्यस्त भनेको मोबाइलमा देख्न सकिन्छ । दिनभरि जसो टिकटक बनाउने र पब्जी, फ्रि–फायर जस्तो खेल खेलेको पाइन्छ । अभिभावकले पढ भने पनि नपढ्ने वा पढे जस्तो गर्ने गरेको पाइन्छ ।” हुन त यसपालिको शैक्षिक सत्र नै अलमलमा परेको बेला बालबालिकाहरु पनि अल्मलिनु स्वभाविक नै हो । विद्यालयले वार्षिक परीक्षा लिन नसकेको अवस्था र आन्तरिक मूल्यांकनद्वारा नै कक्षा चढाउने कारणले गर्दा पनि बालबालिकामा लेखपढ गरुँ भन्ने डर हराएर गएको हो र दिनभरि जसो एक्लै बस्नु पर्दा उनीहरुको साथी मोबाइल बन्न पुगेको हो ।
पहिलो चरणको कोरोनाको कहरमा स्थानीय निकायहरुबाट अनलाइन कक्षाहरु सञ्चालनमा ल्याइएका थिए तर त्यसबाट खासै कुनै उपलब्धि प्राप्त गरेको देखिएन । अनलाइन कक्षाको संचालन, त्यसमा विद्यार्थीको सहभागिता तथा प्रभावकारिता आदिको विषयमा धेरैतिरबाट अनेक किसिमले शंका व्यक्त गरिएका थिए । अनलाइन कक्षा प्रभावकारी हुन नसक्नुका पनि आफ्नै विभिन्न कारणहरु होलान् । शहर बजारतिरका अभिभावकहरु हुने सचेत भएकाले केही अभिभावकले खर्च गरेरै भए पनि आफ्ना छोराछोरीका लागि लेखपढमा सजिलो होओस् भनेर मोबाइल, वाइफाइ किने तर गाउँघरतिर चेतनाको कमी भनाँै वा आर्थिक कारणले पनि होला गाउँघरतिर अनलाइन कक्षा सफल देखिएन । गरुडा २ रौतहट निवासी एक सचेत महिला बताउँछिन् – “केटाकेटी दिनभरि घरमा बसेपछि हामीलाई धेरै दुःख दिने गर्छन् । स्कूल हुँदा एकछिन भए पनि घर शान्त लाग्ने र हामीलाई आफ्नो घरधन्दा गर्न पनि सजिलो हुने गर्दछ । खै यो कोरोना कहिलेसम्म रहला र केटाकेटीले यसरी दुःख देलान् । यहाँ दुःख देलान् भन्नुको अर्थ यो हो कि सोचेजस्तो पहिले जसरी पढ्थे, त्यसरी लेखपढ गर्लान् ।”
वास्तवमा केटाकेटी रमाउने भनेको आफ्नो उमेरमा दौँतरीहरुसँग हो तर यस परिस्थितिमा सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यता र घरबाट बाहिर ननिस्किनु पर्ने हुँदा दिनभरि घरभित्र बस्दा उनीहरु आफूलाई जेलमा थुनिएको अनुभूति गरिरहेका छन् । विहान बेलुका एकछिन पढेलेखे पनि दिनभरिको समय बिताउन उनीहरुका लागि निकै नै गाहो भएको छ । बच्चाको जात चकचक गर्न रमाउँछन् । उनीहरुलाई चकचक गरेको देख्ने बित्तिकै अभिभावक कराउन थाल्छन् जसले गर्दा पनि उनीहरुलाई यो लकडाउनमा समय बिताउन ज्यादै कठिन भएको छ । लकडाउन लाग्दासम्म त अलिअलि भए पनि वार्षिक परीक्षाको डर मानेर पनि बालबालिका पढेका थिए तर विद्यालयले नै आन्तरिक मूल्याकंन गर्ने भनेर कुरा आएपछि उनीहरु पढाइप्रति उदासिन भएका छन् । पहिले जुन कक्षामा थिए, त्यो कक्षाको किताब अब पुरानो भइसक्यो र नयाँ कक्षाको लागि किताब पाइसकेका छैनन् । यसले गर्दा कतिपय बालबालिकालाई के पढ्ने भन्ने पनि छैन ।
तैपनि अभिभावकले एक छिन पढ भनेर भनेको सुन्ने बित्तिकै झर्केको पनि पाइन्छ बालबालिकाहरु । हुन त बालबालिकालाई विभिन्न सृजनात्मक कामहरुमा लगाउन सकिन्छ तर सबै अभिभावकहरु हाम्रो शिक्षित, सचेत नभएर सोझासाझा पनि हुनुहुन्छ । यसकारण धेरै बालबालिकाहरुको हकमा यो पनि सम्भव छैन । यसपालिको यो दोस्रो कोरोनाको कहरमा कुनै पनि स्थानीय निकायले अनलाइन कक्षा सञ्चालन नगरेको र एका दुईले गरे पनि त्यो नाम मात्रको देखियो । बालबालिकाहरुले नयाँ पाठ्यपुस्तक पाएदेखि केही नयाँ उत्साहका साथ लेखपढ पनि गर्थे होलान् तर त्यो पनि भएन । हुन त मन भए उपाय अनेक भनेझैं मोबाइलमा अनेक किसिमका खेलहरु खेलेर समय बिताउन हुने र ज्ञान गुनका कुरा सिक्न नहुने भने होइन नि मन हुनु प–र्यो ।
पाठ्यपुस्तक मात्र पनि सिकाइको एक अन्तिम साधन होइन भनेर बालबालिका र अभिभावक दुबैले बुझ्न आवश्यक हुन्छ । यदि घरमा कोही पढेलेखेको ब्यक्ति छ भने उसले पनि केही सिकाउन सक्ने, घरधन्दाका कामहरुमा पनि लगाउन सकिने, करेसाबारीको काममा लगाउन मिल्ने जस्ता क्रियाकलापमा पनि लगाएर समय बिताउन सकिने र नयाँ कुरा सिक्न उत्साहित गर्न सकिने हुन्छ । हुन त पोहोरको साल चैत्रदेखि बन्द भएको विद्यालयहरु झन्डै मंसिरदेखि खेलिदा नै शैक्षिक सत्र दुई महिना बढाइएको थियो त्यसकारण पनि यसपालिको जेष्ठसम्मलाई अघिल्लो वर्षको शैक्षिक सत्रअन्तर्गत लिएको र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने भनेर पनि कुरा आइसकेको छ र विद्यालयहरु त्यही अनुसारको तयारीमा पनि लागेका छन् । हुन त विद्यालय खोले पनि संक्रमणको डर भने रहि नै रहने छ किनकि अहिलेसम्म पनि शिक्षक र विद्यार्थीले कोरोना बिरुद्घको भ्याक्सिन लिसकेको अवस्था छैन र विद्यालय खोल्ने तयारी भैरकेको छ । जहाँ धेरै विद्यार्थी संख्या भएका विद्यालयहरु छन् त्यहाँ सामाजिक दुरी कायम गर्ने कुरा निक्कै नै कठिन हुन आउँछ । एउटा माविमा कम्तिमा १० वटा गाउँटोलका विद्यार्थीहरु अध्ययनरत छन् र कक्षामा उनीहरुको उपस्थिति भने दिनको १०० को हाराहारीमा हुन्छ यस्तो अवस्थामा विद्यालय चलाउन कतिको उपयुक्त होला ? अभिभावकहरुले आफ्ना नानीबाबुलाई विद्यालय पठाउन जोखिमयुक्त छ भने ती विद्यालय जाने उमेरका बालबालिकाहरुलाई घरमा त्यतिकै समय बिताउन पनि निकै गाहो भएको छ । त्यसकारण छिटोभन्दा छिटो कोराना विरुद्घको भ्याक्सिन शिक्षक तथा विधार्थीैहरुका लागि उपलब्ध गराएर देशका कर्णधार मानिएको विधार्थी भाइबहिनीहरुलाई हामी सुरक्षित साथ विद्यालय पु–याउने व्यवस्था मिलाउनेतर्फ पनि सोच्नु आवश्यक छ तथा यो सबैको ठूलो जिम्मेवारीको कुरो पनि हो ।
अन्त्यमा यो विषम परिस्थितिबाट हामी सबैले छिट्टै छुट्कारा पाउन सकौं । सबै आ–आफ्ना काममा छिट्टै सुरक्षित फर्किने मौका पाऔँ । बालबालिकाहरु पनि छिट्टै बिद्यालय पुग्ने वातावरणको सृजना होओस् मोबाइल र टिभीमा चौबिसौ घण्टा झुन्डिनाले बालबालिकाको स्वास्थ्यलाई पनि यसले असर पु–याउन सक्छ । धेरै बालबालिकाहरुमा झर्किने, चिच्याउने, मोबाइल, टिभीमा मात्र एकोहोरिएको, बोलाउदा पनि नसुन्ने र घरधन्दामा उनीहरुको मन नलागेको पाइएको छ । यसै गरी धेरै समयसम्म यदि बालबालिकाहरु विद्यालय पुग्नबाट बंचित रहेमा उनीहरुमा अन्य समस्याहरु पनि देखिने सम्भावना हुन सक्छ । यसरी बालबालिकालाई पर्ने शारीरिक वा मानसिक समस्याबाट बचाउन हामी अभिभावकको पनि ठूलो भूमिका हुन आउँछ । मोबाइल, टिभीको प्रयोगबाट टाढा राखेर अन्य घरायसी कामधन्दा, सृजनात्मक कामहरु, मनोरञ्जनका कामहरुमा लगाउन उत्तम हुन्छ । घरमा बुढापाकाहरु हुनुहुन्छ भने आफ्ना कुनै अनुभवहरु, ज्ञान दिन सक्ने कथा कहानी, लोककथाहरु, लोकगीतहरु, इतिहासका कुराहरु गरिदिए सुनाइदिए अझ राम्रो हुनेथ्यो । ठूलाहरु ती स–साना बालबालिकासित एकछिन भए पनि समय मिलाएर सगँसगै खेलिदिंदा राम्रो हुनसक्छ । उनीहरुसित समय बिताउने कोही पनि नभएपछि एक्लोपन दुर गर्नका लागि पनि अहिले बालबालिकाहरु बढीभन्दा बढी मोबाइल र टिभिीमा झुम्मिन पुगेका हुन् । यसबाट टाढा राखौं, समय बिताउनका लागि केही वैकल्पिक काम कुरोको खोजी गरौं । यदि मोबाइलमै बढी रमाउन खोजिरहेका छन् भने त्यस्ता बालबालिकालाई त्यसैमा कुनै कथा वा प्रेरक प्रंसंगहरु सुनेर वा हेरेर लेख्न लगाउन सकिन्छ । मोबाइल गेमहरु सकेसम्म खेल्नबाट कसरी हुन्छ, रोकेको राम्रो ।