सामान्य अवस्था रहेको भए राष्ट्रिय जनगणना २०७८ सुरु भइसकेको हुन्थ्यो । देशमा कोरोना संक्रमणको दोस्रो लहरले विषम परिस्थिति सिर्जना गरिदिएपछि जनगणना रोकिएको हो । राष्ट्रिय जनगणनाको इतिहासमा घोषणा गरिएको मितिमा राष्ट्रिय जनगणनाका तयारी हुँदाहुँदै स्थगित भएको सम्भवतः पहिलोपटक हुनुपर्छ ।
राष्ट्रिय जनगणनाको महत्व धेरै छ । देशको जनगणना भनिए पनि जनगणनासँग सम्बन्धित विभिन्न पक्षको आधिकारिक गणना हुने र तथ्यांकको विवरण सार्वजनिक भएपछि आगामी दश वर्ष अर्थात् अर्को जनगणनाको नतिजा नआउञ्जेल त्यही नै आधिकारिक मानिने हुन्छ । त्यही संख्याको आधारमा देशले नीति निर्माण गर्ने तथा अन्य विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने हुन्छ । राष्ट्रिय जनगणनाले देशमा जनसंख्या कति छ, देशको कुन क्षेत्र वा प्रदेश तथा जिल्ला र स्थानीय तहदेखि वडासम्म कति जनसंख्या छ भन्ने आधिकारिक किटान गर्दछ ।
नागरिकको धर्म, जाति, भाषा आदिको बारेमा पनि जानकारी दिने राष्ट्रिय जनगणनाको परिणामले देशको मानव विकास सूचकांकको अवस्था पनि जानकारी गराउँछ । देशमा आर्थिक विकास कुन गतिमा भएको छ, कुन गतिमा शैक्षिक विकास भएको छ भन्नेजस्ता विभिन्न पक्षबारे पनि जनगणनाले नै जानकारी गराउने हुन्छ ।
स्थगित गरिएको जनगणना आउँदो साउनदेखि असोजसम्म हुने प्रस्ताव गरिएको छ । कोरोनाको कहर हराएमा तथा प्राकृतिक प्रकोपबाट जोगिँदै जनगणना यस अवधिका पनि सम्पन्न हुन सके धेरै राम्रो हुने थियो । जनगणनामा सबै पक्षको सकारात्मक सहयोग अपरिहार्य हुन्छ ।