उपेन्द्र गोले रौतहट २६ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका विद्यालयहरु असार १ गतेबाट सञ्चालनमा आउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७८ असार १ गतेबाट सञ्चालन गर्न निर्देशन दिइएकाले सोही बमोजिम रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालनको तयारीमा जुटन चन्द्रपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरुलाई निर्देशन दिइएको शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलले बताउनु भयो । रौतहटको चन्द्रपुर नगर क्षेत्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ७ र कक्षा ९ को परिक्षाफल आन्तरिक मुल्याङ्कनबाट जेष्ठ मसान्तभित्र प्रकाशन गर्नु पर्ने जनाएको छ । त्यसैगरि चन्द्रपुर नगर स्तरीय परिक्षा कक्षा ८ को परिक्षाफल परिक्षा सञ्चालन भएको बिषयको सोही बमोजिम तथा सञ्चालन नभएका बिषयको दोस्रो अर्धवार्षिक परिक्षा तथा निरन्तर मुल्याङकन पद्धतिबाट जेष्ठ ३१ गतेसम्ममा प्रकाशन गर्नुका साथै असार ५ गते मार्कलेजर कार्याmयमा पेश गर्नु पर्ने चन्द्रपुर नगर शिक्षा शाखा प्रमुख मण्डलले बताउनु भयो । शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन गरिसकेपछि असार १ गतेबाट नया विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने र अन्य विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थानान्तरण प्रमाण पत्र प्रदान गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य मापदण्ड पालना गरि नगरपालिका तथा प्रधानाध्यापकको निर्देशन बमोजिम शिक्षकहरु घरमा रहि वा विद्यालयमा सामाजिक दुरि कायम गरि उपस्थित हुने र बैकल्पिक सिकाइका माध्यामबाट अनलाइन र भर्चुअल कक्षाहरु सञ्चालन गर्न गराउन शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताउनु भयो ।